April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

आमा ! तिमी

आमा ! तिमी मायाकी खानी,
तिमी नै मेरी जननी हौ ।
स्वर्गभन्दा तिम्रो काख न्यानो,
ईश्वरको तिमी अर्को रूप हौ।।
 
स्नेह तिम्रो निश्छल निष्कपट,
अविरल छ तिम्रो माया।
वरिपरि तिमीसँगै रहूँ म,
बनी सधै तिम्रै छाया ।।
 
चोट मलाई कतै लाग्यो भने,
छाती तिम्रो चर्किन्छ आमा ।
सन्तान तिम्रा हर्षित हुँदा,
मुहार तिम्रो बल्दछ आमा।।
 
मेरो जीवनको पहिलो सूत्र,
भविष्यको आधार हौ तिमी ।
मेरो ज्ञानको पहिलो मुहान,
बोलीको पनि साक्षी हौ तिमी।।
 
नौ महिना गर्भमा राखी
सह्यौ पीडा तिमीले कति ?
त्याग तिम्रो अमूल्य छ आमा,
वर्णन मैले गरे नि जति ।।
 
तिम्रो औंला समाती आमा,
पहिलो पाइला चाल्न सिकेँ।
थोपा थोपा दुध तिम्रो आमा,
पिएर मैले बाँच्न सिकेँ।।
 
मेरो खुसी नै सबथोक ठानी,
आफ्ना चाहना लुकाउँछ्यौ तिमी ।
अर्ती उपदेश दिन्छ्यौ सदा,
मेरो सफलतामा रमाउँछ्यौ तिमी ।।
 
भोकै मलाई पर्खी बस्दछ्यौ,
नखुवाई मलाई खान्नौ तिमी।
मेरो कपाल सुम्सुमाई रहन्छ्यौ
ननिदाई म निदाउँदिनौ तिमी।।
 
हिउँद वर्षा भनिनौ कहिले
घाँस पात गर्न जान्छ्यौ वनमा ।
ठुलो मान्छे बनाउने मलाई,
पालेकी छ्यौ सपना मनमा ।।
 
श्रम गछ्यौ अहोरात्र खटी,
दुई चार पैसा जोगाउन भनि।
मुहार तिम्रो सधैं उज्जालो,
पीडा त होला त्यो मनमा कति।।
 
नरुनू है आमा सम्झेर मलाई ,
तिमीदेखि टाढा म भए तापनि।
कहाँ भुल्न सक्छु तिम्रो यो माया,
सय कोश टाढा म गए तापनि ।
 
सुमार्गमा सधैं हिँड्ने छु आमा,
सजाई मनमा ती उपदेश तिम्रा।
कर्म पथमा अघि बढ्ने छु सदा,
पूरा गर्ने छु हरसपना तिम्रा ।।