सम्झनाको आत्मा

निर्मला दिदी ढोका खोल्नुस् न
आजदेखि म पनि हजुरसँगै बस्ने है
चिन्नुभएन ? म सम्झना क्या !
हजुरजस्तै कोपिलामै निमोठिएको फूल
किशोरावस्थामा पाइला टेक्नासाथ
आफ्ना सपना र अस्मिताको दागबत्ती चढाएकी
अनि मानवयुगमा महिषासुरको
सिकार भएकी हजुरजस्तै अभौतिक आत्मा !
 
दिदी ! तपाईंको त्यो
दर्दनाक घटना मैले नसुनेकी त होइनँ
मेरा बाबाले मलाई 'ठुली हुँदैछेस्
गाउँमा धेरै नडुल्नु, उत्ताउली नहुनु है' भन्दै
याद गराइराख्नु हुन्थ्यो
त्यो कहालीलाग्दो घटना
सायद मेरा बालाई
समाजका छाडा साँडेहरूको नियत अवगत भएर होला
मलाई सतर्क गराइरहनुभएको रहेछ ।
 
तर मेरो सानो खोपडीले
त्यो कुरा बुझ्नै सकेन
हजुरको पीडा महसुस गर्नै चाहेन
त्यसैले अबोध म
उफ्री उफ्री निर्धक्क भएर हिँड्थेँ
मलाई के थाहा दिदी !
गिद्दे नजर भएका यौनका प्यासीहरू
टोल टोलमा घुमिरहेका छन् !
 
थाहा छ दिदी
अस्ति भरखर म
पहिलो चोटि रजश्वला भएकी
त्यो पीडा त असह्य भएको थियो मलाई
योनीबाट बगेको रगत देखेर
हतासिएकी थिएँ म
तर त्यो नरपिशाचले त मलाई
पीडाको पराकाष्ठा भोग्न बाध्य बनायो
रगतमा लतपत बनाएर
गिद्दले मासु लुछेझैँ लुछ्यो मलाई ।
 
म चिच्याएँ बेस्सरी
रोएँ, कराएँ, गुहार मागेँ
तर मेरो चिच्याहट कसैले सुनेन
सायद ती हावसँग मिसिएर कतै विलिन भएहोला
अनि मैले ईश्वर पुकारेँ
तर मेरो पुकार ईश्वरले पनि सुनेन
मेरो रोदन न कुनै मानवले देखे
न मैले पुज्ने माधवले नै !
अथाह पीडाले बेहोस हुनलागेकी म
आफ्नो ज्यानको भिख मागिरहेकी थिएँ
तर त्यो रक्तपिपासु दानवले
रत्तिभर दया देखाएन
अनि भगवान्‌कै घरमा
उनकै हतियारले
मेरो त्रूरतापूर्ण हत्या गर्‌यो ।
 
दिदी म चाहन्छु
हाम्रो जस्तो बीभत्सपूर्ण हत्या
अब कुनै चेलीको नहोओस्
हजुरको र मेरो अपराधीले
सजाया पाउनैपर्छ
तब मात्र सुरक्षित होलान् हाम्रा दिदीबहिनीहरू
अनि बल्ल शान्ति पाउला हाम्रा आत्माले पनि ।