December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

रमाई खाउँला (दोहोरी-कविता)

पति  : ऐया ! मरेँ गोडा दुख्यो थिचिदेऊ न साहिँली 
पत्नी : मेरो नि त उस्तै भाछ मिचिदेऊ न पैलि
पति  : पर्म नलाई कर्म हुन्न भैगो आस मारेँ डल्ली 
पत्नी : हैन भने दश पैसाको खोल बुढो थैली 
 
पति  : तिमी जाने जागिरमा हाउस हस्बेन्ड बस्छु घरमा 
पत्नी : तिमी किन बुझ्दैनौ बुढा मेरा मनको मर्म 
पति  : भोक लाग्यो कसले देला पकाएर भोजन ? 
पत्नी : के गर्छौ र हन्तकाली बढाएर ओजन ?
 
पति  :  तिर्खा लग्यो अम्खोरामा देऊ न पानी सारेर
पत्नी : सारी खानु आफै नत्र बस्नु तिर्खा मारेर 
पति  : पानी पनि नदिने खान, हौली तिमी काकाकुल 
पत्नी : कसले दिन्छ मलाईचाहिँ हुँदा आकुल ब्याकुल 
 
पति  : धोइदेऊ न एकजोर कमिज भएछ साह्रै मैला 
पत्नी : अफिस जाने ड्रेसचाहिँ मेरो धोइदेऊ पैला 
पति:   घरै बस्ने बेरोजगारी भनी नहेप न साहिँली 
पत्नी : किन फेर्छौ कुरा साहिँला जवाफ देऊ न पैली 
 
पति  : घरको धन्दा, भात, भान्सा लिपीपोती सारा 
पत्नी : म सक्छु छिनमै तिमी लाउँछौ भरदिन सारा 
पति  : लिटो ख्वाउँछु बाबुलाई जाउलो बुबालाई 
पत्नी : छिटो खाना पकाऊ प्यारा भोक लग्यो मलाई 
 
पति  : उठ्छु बिहान सखारैमा हुँदा पूर्व रातो 
पत्नी : ओच्छ्यानमै ल्याइदेऊ है चिया तातो तातो 
पति  : प्रात उठी स्नान गरी घरकसिंगर गर 
पत्नी : नारी भनी हेप्ने मलाई बस्दिनँ तिम्रो घर 
 
पति  : जागिरे बानी भएर तिमी अल्छी पो भाकी छ्यौ 
पत्नी : दिनभर कामले थाकी आउँदा पाकेको खान पाऊँ 
पति  : म पनि अब खोज्दछु काम पढ्या छु आखिर 
पत्नी : मालिकको खटन हाकिमको गनगन नखाऊ जागिर 
 
पति  : कुवाको ‘मण्डूक’ भएछु सधैँ बसेर घरमा 
पत्नी : नजानी पौडी खेल्नलाई तिमी नपस नहरमा 
पति  : सकाई सारा घरको काम जागिरमा जाउँला 
पत्नी : कमाई ल्याउँला दुबैले मिली रमाई खाउँला