सिलाम साक्मा
लिम्बू जातिहरुको ब्याचका रुपमा रहेको सिलाम साक्मा अरु ब्याचसँग तुलना गर्न मिल्दैन । यसलाई लिम्बू लोगो भनेर पनि चिनिन्छ । लिम्बू साम्दिक मुन्दुमहरुमा उल्लेख गरेअनुसार आजसम्म लिम्बू जातिहरुले धेरैओटा धार्मिक स्थलमा प्रयोग गरी आएको छ । जस्तै तिङतिगेन नाहेन, तुङ्तुगेन माङ, तङ्सिङजस्ता अरु स्थानहरुमा बढी प्रयोग हुने यो सिलाम साक्मा लिम्बू भाषाको शब्द हो । सिलाम साक्माको अर्थ यसप्रकार छ– ‘सि’ भनेको मृत्यु, ‘लाम’ भनेको बाटो र ‘साक्मा’ भनेको थुन्नु हो । यसरी हेर्दा सिलाम साक्माको अर्थ मृत्युको बाटो थुन्नुहुन्छ । अर्थात् यो लगाएपछि मृत्युको बाटो थुनिने वा विभिन्न महामारीबाट जोगिने विश्वास रहिआएको छ । त्यसैअनुसार लिम्बू जातिको घरका दैलामाथि, अगेनामाथि वा अन्य स्थानमा कालो ध्वाँसो लागेको देख्न पाइन्छ । मुक्तो अर्थात् घोङ्रिङ खोपी दुई छेउमा फुर्का निकाली जोड (+) चिन्हो बनाई कालो रङबाहेक विजोडी बनाई कम्तीमा सात रङको धेरैमा नौ रङको धागोले बनाउनुपर्दछ । योभन्दा थोरै वा धेरै भए त्यसको कुनै मान्यता हुँदैन ।
सिलाम साक्माको स्थापना कसरी भयो भन्ने बारेमा यस्तो किम्मदन्ती रहेको छ– परापूर्व कालमा एक पटक सावाएनहाङ्का गाउँमा महामारी फैलियो । अनेकौँ उपायले पनि केही गर्न सकेन । त्यसबेलामा धेरै मानिसहरुको मृत्यु भयो । तीमध्ये केतेन हाङ्बा, केतेन हाङ्माका धेरै छोराछोरी मरे । त्यो दम्पती आफ्नो वंश नै नरहने पो हो कि भनेर निसन्तान भई मारिने पो हो कि भनेर पिरले भयभीत हुन पुगे । महामारीबाट बच्ने आशाका साथ उनीहरु सेदुङ्गेन लम्फुहाङ्सँग पुगे र महामारी बाट बच्ने तरिका बताइदिन बिन्ती गरे । सेदुङ्मेन लम्फुहाङ्ले ध्यानपूर्वक कुरा सुनेपछि भने, ‘ठिकै छ, एक शुभ दिन पारी म तिमीहरुको घरमा फेन्जिरी फेदासाम्बा र उनका चेला फेन्जिरी हाङ्बा फेदाङ्वालाई पठाइदिन्छु । त्यसपछि सबै समस्या हल हुनेछ । तिमीहरु ढुक्क भएर घर जाऊ ।’
केही दिनपछि फेन्जिरी फेदासाम्बा र उनका चेला फेन्जिरी हाङ्बा फेदाङ्वा ती दम्पतीका घरमा पुगे र घरको चुलामाथिको सराङमा अडिएर बसे । यी गुरुचेलाले महामारीबाट हुने मृत्युलाई रोक्ने सबैखाले सेवाकार्यहरु गरे । फेदाङबा फेन्जिरी फेदासम्बाले दुईओटा मुक्तो वा घोङरिङ्को डन्डी खुर्केर दुवै छेउमा फुर्को निकाली दुवै डन्डीलाई जोडी पारी मेरि हेम्बाङ खिरो रङगीचङगी धागाले नौ फन्को बाँधी त्यसपछि मुक्तोको केही लामो डन्डीलाई साथैमा बाँधे । यसरी सर्वप्रथम उनीहरुले सिलाम साक्मा बनाई प्रयोग गरे । उनीहरुले यो सिलाम साक्मा मिक्सुङ् थेगाप्पा लाम चुलामाथि सराङमा मुन्धुमलिङ्की मन्तर जप गरेर गाडिदिए । यो कार्य गरी तल चुलो भएका ठाउँमा झरी चुलामा पनि मन्तर जप गरी धागो र मन्तरको चाबी गाडिदिए । त्यसबेलादेखि मानिसहरुको मृत्युहुन कम भयो । त्यसैबेलादेखि सिलासाक्माको उत्पति भएको हो भन्ने मान्यता छ ।
लेखकको सम्वन्धमा