हे प्रकृति ! तिमी आज किन रुष्ट भयौ
एक दुई दिन भन्दाभन्दै बिगार गर्दै गयौ
मानिसको के नै थियो ठुलो गल्ती आज
त्राहिमाम बढ्दै गाछ मानिसका माझ ।।
कुनै क्षण त्यस्तो छैन चैनको सास फेरूँ
हे प्रकृति ! तिम्रो ध्वंस कतिन्जेल हेरूँ !
मानिसको के पाप थियो, भन हिजोआज
संहार मात्र गर्ने हो कि बचाई राख्ने लाज !!
प्रकृतिकै लीला हो यो संसार सारा सृष्टि
मानिसको दु:ख पिरमा किन गएन दृष्टि !
लाखौं मरे कोरोनाले संसारमा आज
बाढीपैरो पनि आए कोरोनाकै साथ ।।
संसार सारा ठप्प भाथ्यो कोरोनाले गर्दा
मर्ने बाँच्ने ठेगान भएन लामो झरी पर्दा
गरिखाने किसानको कुनै आशा रैन
रोग आयो खेतीमा नि ओखती नै भएन ।।
त्राही त्राही भाछन् सबै बाढी पहिरोले
बाहिर कतै जान त्रास उही कोरोनाले
बाढी, पैरो, कोरोना त बिदा हुने हैन
भूकम्पले घच्घच्याउन छाडेको नि छैन ।
एउटा भन्छ 'बाहिर नजाऊ' अर्को 'भित्र हैन'
सुरक्षित जीवन बाँच्ने कहीँ ठाउँ छैन
जताततै डर-त्रास छ मानिसको चोला
सुख शान्तिसँग बाँच्न कैले पाइने होला ?
लेखकको सम्वन्धमा