सहारा
बिहान मिर्मिरे उज्यालो नहुँदै पँधेरामा पधेर्नीहरू जमघट भइसकेका हुन्छन् । पुसमाघका जाडामा बिहान अबेलासम्म खेतबारी घम्लङ्ङ तुसाराको सेतो खास्टो ओढेर सुतेका हुन्छन् । कुकुरहरू परालमा गुढुल्किएका हुन्छन् । चराचुरुङ्गीहरू गुँडमै किक्रिक्क परेका हुन्छन् । ‘आज बाहिर निस्कनु नपरे हुन्थ्यो, साह्रे जाडो छ’ भन्ने सोचेर होला अबेला मात्र घामका लोसे किरणहरू दक्षिणतिर देखिन्छन् तर गाउँका नारीहरूलाई यी कुनै कुराको पर्वाह छैन । झिसमिसेमै उनीहरू पानी भर्न पँधेरामा पुग्छन् ।
‘आज त मै छिटी हुन्छु’ भन्दै पँधेरातिर दौडिएकी सान्कान्छीले अलि परबाट आफूतिर आउँदै गरेको एउटा छाया देखिन् । “को हो त्यो, यता आउने ?” छाया नियाल्दै सान्कान्छीले भनिन् – “माहिली भाउजू हो ? मैले त ठम्याउनै सकिनँ ।”
“हो हो, किन र ? यति चाँडै आँखा कमजोर भए कि क्या हो ?” माइली भाउजू सान्कान्छीका छेउमै आइपुगिन् ।
उनी गाउँभरिकै माहिली भाउजू हुन् । सान्कान्छी पनि उनलाई ‘माहिली भाउजू’ भनेरै बोलाउँछिन् । उनी अलिक सोझी छिन् । उनी अरूका कुरामा त्यति चासो राख्दिनन् त्यसैले गाउँमा चर्चा चलेका कुराहरू अलिक ढिलो मात्र थाहा पाउँछिन् ।
“आँखै कमजोर भएको त होइन हाओ भाउजू तर अँध्याराले पत्तै पाइनँ के ।” सिलसिला जोड्दै भनिन् सान्कान्छीले ।
“के छ हाओ सान्कान्छी खबरखाबर ?” भाउजूले कुरा कोट्याइन् ।
“अँ भाउजू थाहा पाउनुभो ? गाउँभरि गाइँगुइँ हल्ला चलेको छ नि, कि सुन्नुभ’को छैन ?”
“खै, केको हल्ला हो, खासै थाहा पाएकी त छैन तर हिजो माथि भन्ज्याङमा मान्छेहरू भन्दै थिए, ‘कस्ता असत्ती रैछन्’ भनेर । कसलाई हो कुन्नि, बुझ्न चैँ सकिनँ । कुरो के रहेछ ? थाहा भए भन न ।” भाउजूले सान्कान्छीसँग कुराको प्रसङ्ग कोट्याइन् ।
“उप्m के सुन्नु परेको हो ! अबचैँ यो गाउँमा हामी आइमाईले मुखै देखाउन लाज हुने भो बा ! कस्ती पात्तेकी होलिन्, छिः भन्न पनि लाजै लाग्ने ।” सान्कान्छीले दिक्दारी प्रकट गरिन् ।
“हैन के भयो र भन न चाँडो, को पात्तेको ? खै मैले त केही बुझिनँ ।” भाउजूले अनभिज्ञता प्रकट गरिन् ।
“को भन्नु नि, त्यै माथि डाँडाकी काहिँली काकी क्या ! कस्तो नबुझेझैँ गर्या, बिरे दाइकी आमा । बुझ्नुभो अब त !” सान्कान्छीले छोटकरीमा कुरा भन्न खोजिन् ।
“हँ के भनेको, अझैँ बुझिनँ मैल त । बरु बुझ्ने गरी भन न । के गरिन् त काकीले ? किन उनलाई ‘पात्तेकी’ भन्या ? उनी त सोझी र इमानी नै छिन् ।” भाउजूले अझैँ कुरा बुझिनन् ।
“त्यै त भन्या भाउजू ! मलाई पनि त्यस्तै लाग्थ्यो । बाहिर हेर्दा सोझा देखिने मान्छे भित्रभित्रै घुसघुसे हुँदारहेछन् । मनभित्र के के पकाएर बस्दारहेछन्, पत्तै नपाइँने ! त्यस्तै रैछिन् नि ती काकी भनाउँदी पनि ! हेर्दाकी सोझी ! ‘बुहारी खुब मुखाले छे, बाइफाले छे, काकीलाई हेप्नुसम्म हेप्छे’ भन्थे, त्यसै त हैन रैछ नि । काकी नै उस्ती रैछिन् र न भाउजूले पनि त्यसो गरेकी हुन् ब्यारे ।” सान्कान्छीले भन्न त खोजिन् तर कुरो खुलस्त हुनै सकेन ।
कुरा गर्दागर्दै उनीहरू पँधेरामै पुगे । त्यहाँ अरू महिलाहरू अघि नै जम्मा भइसकेका रहेछन् । पँधेर्नीहरूलाई सङ्केत गर्दै माइली भाउजू बोलिन्– “लौ न हामी चाँडो आयौँ भनेको त सबै पो आइसकेछन् ! रातै यतै बितायौ कि कसो हो ?”
शङ्का मिसिएको आवाजमा डिलघरे रिता बोलिन्– “काँ हुनु नि, रातै बिताए त घरमा मार्दैनन् कि क्या हो ? यी भाउजू पनि के के बोल्छिन् बोल्छिन् ।”
“अँ त नि, त्यसै त याँ गाउँमा बस्नै लाजमर्नु भइसको, अब रात बिताए त झन् के के पो गर्थे !” रिताकै कुरामा सहमती जनाइन् ठुलीले ।
“किन हो आज तिमेरु अल्प अल्प कुरा मात्रै गर्छौ नि, सान्कान्छीले पनि के भनेकी हुन् बुझ्नै सकिनँ । तेमेर्को बोली अरू बेला त बुझ्न सक्तिनँ, आज त झन् पूरै भनेकै होइन ।” माइली भाउजूले गुनासो मिश्रित जिज्ञासा राखिन् ।
“भन्नै लाजमर्दो कुरा कसरी पो प्रस्ट भन्नु त ? तेसैले अल्प कुरा गरेको नि ।” भित्ताघरे काकीले प्वाक्क भनिन् ।
“साँच्चै सोझी छिन् यी भाउजू !” पँधेर्नेहरूतिर हेर्दै हातले मुख छोपेर खित्त हाँसिन् सीता अनि भाउजूतिर फर्किएर थपिन्– “हैन भाउजु साँच्चै सुन्नुभएको छैन र भन्या । …माथि काकीको कुरा के । काकी त …।” सीताले सबै कुरा भन्नै सकिनन् ।
“अँ साँच्ची नै सुन्या छैन के, धरोधर्म ! के गरिन् काकीले ? अघि सान्कान्छी पनि भन्नखोज्दै थिइन् । के भएछ छिटो भन न ।” भाउजूमा कुरा जान्ने उत्सुकता बढ्यो ।
“यो कुरा कसैलाई भन्दिनँ भनी किरिया खाऊ अनि मात्र भनुँला ।” भाउ खोजिन् ठुलीले ।
“कस्ता पो रछन् बाइ यिनेरु त ! कैले पो म फतफत बोल्दै हिँड्या छु र !…लु किरियै भयो । कसैलाई भन्दिनँ, भो अब त ?” भाउजूले कुरा कसैलाई नभन्ने कसम खाइन् ।
“हँ हँ…”अप्ठ्यारो हाँसो हाँस्दै बोलिन् ठुली– “अब त भनिहाल्छु नि । त्यै क्या ती बुढी काकी पोइल गइछिन् । त्यस्ती बुढी भएर पनि कसैलाई नभएको बैंस उनैलाई आएछ ।” बोलिसकेर ठुलीले मुख बिगारिन् ।
माहिली भाउजू अक्क न बक्क परेर हेरिरहिन् । एकछिनपछि उनको बोली फुट्यो, “हैन त्यस्ती त थिइनन् है काकी त । तिमेरु बित्थामा अरूको कुरा काट्छौ । जे पायो त्यै बोल्न पाइन्छ र ? चाँहिदा नचाँहिदा कुरा !”
महिली भाउजू एक पटक रिसाएझैँ पनि गरिन् । तर पनि उनलाई कुराको चुरो बुझ्ने रहर नभएको होइन । त्यसैले पँधेर्नीका कुरामा चासो दिइरहिन् ।
“अँ त्यसै भनिराख्नु, कोही नपार त्यै खल्ट्याङ् खुट्टीसँग गइछन् । उवाँ गाउँभरि कत्रो हल्ला छ ।” विश्वस्त पार्दै रिताले भनिन् ।
पँधेर्नीहरू गाग्री भर्दै जाँदै गर्नथाले । घाम झुल्किनसके पनि उज्यालो भने निकै बढिसकेको थियो ।
यो पँधेरो खै भाग्यमानी हो कि अभागी ! यसले दिनहुँ गाउँभरिका तितामिठा कुरा सुन्नेगर्छ । पँधेर्नीहरूले कुरा काटेका हुन् या पँधेरालाई सुनाएका, भेला भयो कि केही न केही कुरा त गरिहाल्छन् । हप्ता दिनजति एउटा कुराले चर्चा पाउँछ अनि बिस्तारै सेलाउँछ । अझ एक–दुई दिन डाँडाकी काकी र अन्तरेबाको कुरा यस पँधेराले सुन्नै पर्ला ।
लोग्ने मान्छे र ठिटाठिटीका जमातमा पनि यस विषयले रामै्र चर्चा पायो । कतिले त यस विषयलाई मजाकमा उडाए ।
“यसै हो भने गाउँमा विकृति बढ्छ । हाम्रा छोराछोरीले यस्तै सिको गर्छन् । यसरी त भएन नि ।” थरी माल्दाइले गाविस अध्यक्षसँग गुनासो पोखे ।
सबै गाउँलेहरू भेला भए र ती पात्तिएका बुढाबुढीलाई एक पटक बोलाएर चौतारामा ठिङ्ग्याउने र केरकार गर्ने निधो गरे ।
अध्यक्ष चौतारामा उपस्थित भइसकेका थिए । अरू गाउँलेहरू पनि आउँदै थिए । नवदुलहीलाई अघि लाएर अन्तरेबा खल्ट्याङ् खल्ट्याङ् खुट्टो खोच्याउँदै आए । उनीहरूलाई देखेर गाउँलेहरूले मुखामुख गरे । कतिले त ‘छि के देख्नु परेको’ भन्दै भुईंमा थुक्क थुके पनि । अध्यक्षले दुवै बुढाबुढीलाई बसाउँदै केरकार गरे, “हैन ए काहिँली तिमी त महिला मान्छे, नीतिनियमको पालना गर्न साह्रै सिपालु थियौ । उसमाथि काहिँला र तिम्रो जोडीको प्रशंसा कति हुन्थ्यो कति । काहिँलो बितेको पनि पाँच वर्ष भइसक्यो । छोराबुहारी, नातिनातिना र यत्रो गाउँकै अगाडि तिम्रै कारणले हामी सबैको बेइज्जत भएको छ । यस्ती सोझी र इमान्दार महिलाले यो के गरेको ?”
बुढीले भक्कनिँदै भनिन्– “हैन हजुर ! मलाई जस्तो सजाय दिनुपर्छ दिनुहोस् । म सहन तयार छु तर.. ” बुढीका आँखाबाट बर्बरी आँसु झर्नथाले । आफूलाई सम्हाल्दै उनले आफ्ना कुरा अघि बढाइन्, “सदा एक्लो भएर निस्सार जीवन बाँच्न सकिन्न रहेछ । मलाई पनि माया चाहिन्छ । मर्नुभन्दा बौलाउनु निको भन्छन् । त्यै मायाको खोजीमा बौलाएँ । सायद म नहुँदा…” बुढीको बोली रोकियो । उनी हुक्क हुँक्क गर्दै रुनथालिन् । आँसु पुसेर सम्हालिँदै बोलिन्, “सायद छोराबुहारी र नातिनातिना पनि खुसी हुँदाहुन् ।”
बुढीको अवस्था र बोलीले उपस्थित सबैका आँखा रसाए । वातावरणमा एक किसिमको मौनता छायो । कसैले केही बोल्नै सकेका थिएनन् ।
मौनता भङ्ग गर्दै गैरीघरे दिदी बोलिन्, “विचरा ! यिनको के दोष ! आफूले जन्माएका सन्तानको तिरस्कार र अवहेलनाको पात्र भएर को बाँच्नसक्छ । त्यत्रो माया गर्ने श्रीमान् छोडेर गइगए । एकातिर श्रीमान्सँगका वियोगले छाती पोलेको होला अर्कातिर रातोदिन घरमा हेलातिरस्कार सहेर कसरी बाँच्न सकुन् बरा !”
बुढी पछ्यौराले मुख छोपेर हुँक्क हुँक्क रोइरहिन् ।
अध्यक्ष अक्क न बक्क हुँदै अन्तरेबुढातिर फर्किए । बुढाको पनि गुनासो उही, “उनी मलाई छोडेर गइगइन् । मनका वह पोख्ने ठाउँ पाइनँ । बुढो भएपछि झन् सहारा चाहिँदो रहेछ । छोराबुहारीको त अहिले रमाइलो गर्ने बेला हो । म उनीहरूका जीवनमा…” बुढा बोल्न सकेनन् । पछाडि फर्किर आँसु पुसे । लामो सास ताने र फेरि कुरा थपे, “उनीहरूका जीवनमा भारी बन्न चाहन्नँ । अभैm त हातखुट्टा दहै्र छन् । केही गरेर खानसक्छु ।” ।
अन्तरेबाका छिमेकी ठुलेले सहानुभूतिको स्वरमा भने, “के गर्नु, छोरो भनेको त मोरो जन्मेछ । बुढाको सम्पती हत्याइहाल्यो । त्यसपछि त के चाहियो ! बुढाले छोराबुहारीको रातदिनको टोकसो सहन सकेनन् । ठिकै हो यो निर्णय तर नबुझ्नेहरूले हाँसोमा उडाए । यो जोडी बैंसले कुत्कुत्याएर यस्तो निर्णयमा पुगेका होइन । यो त जिजीविषाको परिणाम स्वरूप देखिएको सहाराको खोजी मात्र हो । माया, ममता र सद्भाव हामी सबैलाई चाहिन्छ । यस जोडीले खोजेको त्यति नै हो । परिवारका सदस्यबाट माया स्नेह पाएका भए यस उमेरमा किन त्यो बिजोग देखाउनुपर्थ्यो र !”
ठुलेका कुराले गाउँलेहरू स्तब्ध भए । बुढा र बुढीका छोरा र बुहारी रिसले मुर्मुरिँदै थिए । खाउँलाझै गरी ठुल्ठुला आँखा पारेर हेर्दै थिए ।
कसैले केही निर्णय गर्नै सकेनन् र सबै मौन थिए । ‘के देख्नु परेको यो । हे भगवान्’ भन्दै खोल्सापारिका जेठाबा उठे । ‘यस्ता छोराबुहारी त कसैका नजन्मुन् ।’ भन्दै दर्जी माहिला हिँडे । एक एक गर्दै चौतारो सुन्ने भयो । बुढाबुढीका छोराबुहारीले कतिबेला बाटो तताइसकेका थिए, पतै भएन । ‘लौ त तिमीहरूको जो विचार’ भन्दै अध्यक्ष पनि आफ्नो बाटो लागे ।
आखिरमा बुढाबुढी मात्र चौतारामा बाँकी रहे । बुढाले रोइ नै रहेकी बुढीका छेउमा गएर भने–“नरोऊ काहिँली नरोऊ । हिँड जाऔँ । तिम्रो सहारा म छु; तिमी मेरो सहारा बन । बेँसीको घरखेत त मेरै नाममा छ, त्यसैमा बसुँला … ।”
लेखकको सम्वन्धमा