हाइजिमाको हिउँ

हिमालका टुप्पाकै जस्तो चिसो मौसम छ हाइजिमाको वरिपरि । बिहान चार बजेदेखि फुस्फुसाएको हिउँले घरका छाना, सडक र भुईँहरू सेताम्मे छन् । थुतुना र छतमा सेतो हिउँ जमेका रङ्गीचङ्गी कारहरू वाइपर चलाउँदै दगुरिरहेछन् सडकमा । हाइजिमा रेल स्टेसन छेउको खोला किनारका पङ्क्तिबद्ध रूखहरूका हाँगाहाँगामा अड्किएको हिउँले फुस्रा रूखहरू सेता भइरहेछन् ।
बिहानै कामबाट फर्कँदा म चढेको कारको जापानी ड्राइभर आराइलाई भनेथेँ – बाटो ज्यादै खतरनाक छ विस्तारै जाऊँ है ।
साठी सालदेखि निरन्तर जापानी हिउँ पचाएको उसले सहमती जनायो । तर उसको हँकाइ सधैँभन्दा कम गतिको छँदै थिएन ।
३० जनवरी, २०१५ का दिन टोकियोको अधिकांश भागमा हिउँ पर्ने भविष्यवाणी एक हप्ता अघिदेखि नै जापानको मौसम विभागले गरिसकेथ्यो । न्याना र भुवादार लुगामा सजिएका जापानी र विदेशीहरू रेनकोट र छाता ओढेर स्टेसनको सिंडी चढिरहेका र ओर्लिरहेका दृश्यहरू पटकपटक आँखाका नानीमा ठोक्किए ।
यस्तो चिसोमा पनि नाङ्गा सेता तिघ्रा देखाएर हिउँमाथि मरकमरक गर्दै हिँड्ने जापानी युवतीहरू देखेर छक्क परेको छु म । कस्तो ज्यान यिनीहरूको गाँठे जगतलाई जाडो हुँदा पनि डग्मगाएका छैनन् । आफूलाई भने छातीबाट छिरेको चिसो डडाल्नाबाट निस्किएलाझैँ भइरहेछ ।
मैले हाइजिमामा पहिलोपल्ट २४ जुलाई, २०१४ का दिन पाइला हालेको थिएँ । त्यो दिन सम्झन्छु । एकैदिनमा गैँडाको छाला सुक्ने घाम चर्किएका थिए । धुलो र धुँवाको नामोनिसाना थिएन । एउटै ठाउँमा यति सारो गर्मी र जाडो सुनेको थिएँ भोगेको थिइनँ ।
ओमेतिर झन् धेरै हिउँ परेको छ – ओकुतामाबाट आएका एक जना पाल्पाका गैरे थरका मानिसका मुखबाट सुनेथेँ । रेल स्टेसनको उत्तर गेटबाट चुच्चे पसलतिर गइरहेको एउटा नेपालीले फोनमा बोलेको सुनेथेँ – फुजीको टुप्पोलाई जित्ने चिसो छ आज ।
साइबेरियाको जाडो टोकियोको भ्रमणमा आएको छ बाबु – टुरिस्ट भिसामा तीन वर्षअघि जापान आएर शरणार्थी भिसा लिएका धादिङका एक जना अधवैँसेका मुखबाट सुनेको थिएँ ।
चौबिसै घण्टा खुल्ने फेमिली मार्टकै आडमा एउटी जापानी युवती चुरोट तानिरहिछे । खुलेआम चुरोट पिउने युवतीहरू उति धेरै पाइँदैन नेपालमा । लुकिछिपी पिउनेहरूको गणना गरिनँ मैले । जापानमा चुरोट खुब पिउँछन् युवायुवतीले ।
नेपाली किचेनकै आडमा स्याङ्जाका प्रवीन थापासँग भेट भयो । बाक्लो कालो ज्याकेट लगाएका उनी योकोटा एअर बेस क्याम्पतिरबाट आउँदै थिएँ ।
करिब पाँच छ महिनाअगाडि चिनजान भएथ्यो थापा र मेरो ।
दाइ म त हिजोआज महिनाको पन्ध्र हजार जतिको चुरोट खान थालेछु – कुरा गर्दै गर्दा थापाले उनको बानीको बखान गरे ।
यो जाडोमा मात्र खान्छौ कि सधैँभरि ? – तुरून्तै प्रश्न गरेँ ।
लगभग सधैँ खान्छु दाइ – थापाको उत्तर ठोक्कियो मेरा कानमा ।
युवा अवस्थामै अम्मली हुनु राम्रो कुरा होइन । केही क्षण आनन्द लागे पनि त्यसले शरीरका भित्री अङ्गहरू कमजोर बनाउँदै लान्छ । महिनामा पन्ध्र हजार बचत गर । बुढेसकालको पेन्सन हुन्छ तिमीलाई – थापाले शत्प्रतिशत कान तिखा पारेर सुने मेरो कुरा ।
तेह्रथुमको वसन्तपुर, लसुने र तिनजुरेतिर पुस माघमा जमिन पूरै सेतो हुने गरी परेको हिउँको मलाई खुब याद आउँछ । रातभरि हिउँ परेको भोलिपल्ट बिहानैदेखि लागेका पारिला घाममा गाईबाख्रा धपाउँदै निस्किएका गोठालाहरूको स्वच्छन्द गतिविधि अमिट बनेर बसेको छ मनको कुनामा । सङ्खुवासभाको मुलखर्कतिर जाँदा हरिसेको जङ्गलमा सयौँ वर्ष पुराना कटुसका रूखका हाँगाहाँगामा अड्किएर बसेका हिउँका ढिका घामले पग्लिएर सर्ल्याङसुर्लुङ गर्दै झर्दा सातो पुत्लो उडेको सम्झिन्छु अझै पनि । पिप्ले गढीगाउँका शिव निरौला र रामकृष्ण निरौलासँग हिउँमाथि मरकमरक गर्दै खुब हिडेथेँ म त्याबेला । बाल्यकालमा बनाएका बिम्बहरू सधैँ ताजा हुने । तिनीहरूले नै मनमा प्रभाव पारिरहन्छन् हरदम ।
ज्यासमिन फ्लेबरको लेडिज पर्फ्युम लगाएकी एउटी जापानी युवती मेरो छेउबाट साइकल चढेर आकिसिमातिर गई । साइकल हिउँमाथि कुदाउन हम्मेहम्मे पर्छ जो कोहीलाई । चक्का भनेको ठाउँमा गुड्दै नगुड्ने । भर्खर गएकी युवतीले आत्मविश्वासका साथ हिउँमाथि साइकल कुदाएको देखेर छक्क परेको छु म । साइकल डोहोर्याएर हिँड्नेहरूकै बाहुल्यता छ आज ।
म हिमाली देशको नागरिक । विश्वकै सर्वोच्च हिउँ चुचुराहरूले मेची महाकाली रङ्गिएको छ मेरो धर्ती । तर ती सजिलै पुगिने र भेटिने ठाउँमा छँदै छैनन् । जलवायु परिवर्तनले उच्च पहाडी भेगमा पनि उति धेरै हिउँ खस्दैन अचेल । परेको हिउँ पनि अडिँदैन लामो समयसम्म । विशाल सहरमा सेतो हिउँ चम्किएको छ यता । सहर र हिउँ एकै ठाउँ देखेर भेटेर पुलकित छ मेरो मन ।
दुई अपरिचित नेपाली युवकहरू माइ नम्बरका बारेमा कुरा गर्दै चुरोट तानिरहेछन् रेल स्टेसनकै आडमा ।
साकुराका रूखहरू सेतै छन् जताततै ।
अङ्कित उप्रेती र मेरो अचानक हिउँ खेल्ने योजना बन्यो । मोरङको गोठगाउँमा जन्मिएका उप्रेतीको अधिकांश जीवन तराईतिरै बितेकाले हिउँमा खेल्नु, हिउँ परेको हेर्नु उनका निम्ति जीवनकै नौलो अनुभव थियो । कुतूहलता मानिसको विशेषता हो । यसको अभावमा दुनियाँले प्रगति गर्नै सक्दैन ।
यसपालि धीत मरून्जेल हिउँ खेलिन्छ- शरद ऋतुदेखि नै अङ्कितले बारम्बार भनिरहेथे । आफूले नछोएका, नचलाएका र प्राप्त नगरेका कुराहरू छुने, चलाउने र प्राप्त गर्ने चाहना गर्नु मानिसको प्राकृतिक स्वभाव हो । मनोवैज्ञानिक कुरा हो ।
अङ्कित र मैले हिउँमा अनेकौँ लीला देखायौँ । हिउँमाथि सुतेर, उठेर, उफ्रिएर, ढल्किएर अनेकौँ तरिकाले फोटो खिच्यौँ । हिउँको संसारमा स्वर्गानुभूति गरिरहेछु म । हिउँको साम्राज्यमा हिउँकै डल्लाले हानाहान गरियो। हिउँमा मैले लेखिदिएँ मेरै जीवन सङ्गिनीको नाम । होरीमुकोनको खोला छेउमा खुब उफ्रिएँ म हिउँमाथि । अङ्कित मुसुमुसु हाँसे मेरो केटाकेटी पारा देखेर । एउटा फरक लौकिक आनन्दमा चुर्लुम्म डुब्यौँ दुई भाइ ।
अङ्कितसँग खेल्दा च्छोरोल्पा हिमतालको डिलमा युवराज नयाँघरे र कमल कार्कीसँग हिउँ खेल्दाको खुब सम्झना आयो मलाई । तीन दिन पैदल हिँडेर च्छोरोल्पा पुगेथ्यौँ हामी त्यसबेला ।
यामादा देन्कीको वरिपरि हिउँ नै हिउँ देखियो । पोहोर साल पनि टोकियोभरि हिउँ परेर जनजीवन नराम्ररी प्रभावित भएको खबर देखे सुनेथेँ सिएनएनबाट । विमानस्थल र रेलसेवा बन्द भएथ्यो । सिन्जुकु, कोकुपुन्जी, योकोहामा, कामाकुरा, चिबा जताततै हिउँ परिरहेछ आज । करिब डेड करोड मानिस बस्ने टोकियोमा ज्यादा हिउँ परे जनजीवन नराम्ररी प्रभावित हुने निश्चित छ । विशेष गरेर आवतजावतमा ठुलो कष्ट हुन्छ मान्छेलाई । रेल रोकियो भने प्रत्येक रेल स्टेसनभित्र मानिसहरूको भिड थेगी नसक्नु हुने निश्चित छ । प्रकृतिको रहस्य के बुझ्न सक्छ र मान्छेले !
खैरो रङको भुवादार ज्याकेट लगाएकी एउटी अधबैँसे जापानी देब्रे हातले मुसोजत्रै कुकुर डोहोर्याउँदै उसिहामातिर गई । पर क्षितिजतिर हेर्छु सधैँ टलक्क टल्किने फुजी हिमाल आज लुकेको छ हिउँकै पर्दापछाडि ।
डेक्सटपमा आएका सबै कुरा हेर्न हुन्छ तर माउस, किबोर्ड र सिपियुचाहिँ चलाउन हुँदैन-दुई नेपाली युवक प्रतीकात्मक रूपमा केटी र कानुनका कुरा गर्दै स्टेसनको केएफसीभित्र पसे ।
ह्याकुएन सपको अगाडि एउटा बच्चा आफ्ना बुबाआमासँग रूँदैरूँदै आयो । आमाले फकाउन निकै कोसिस गरी तर उसको जिद्दी बन्द भएन । हिउँ माथि लम्पसार परेर सुतिदियो । भनेको माग पूरा नहुँदा अनेक लीला देखाउँछन् बच्चाहरूले । छोराछोरी हुर्काउनभन्दा फलामका च्युरा चपाउन सजिलो हुन्छ बाबुआमालाई । विरामी होलान कि, चोट लाग्ला कि, कुसङ्गत होला कि आदि दायित्वका अनेकौँ काँडाहरूले बारम्बार घोचिरहन्छ बाबुआमाको मन ।
बाहिर निकै जाडो भयो । रेल स्टेसनभित्र पसेँ । दुई युवतीहरूको अङ्कमालको दृश्यले उनीहरूको आत्मियता शक्तिशाली देखियो । सेबु ताचिकावा लाइनबाट रेल चढेर आएका मानिसहरूको लर्को देखियो । उनीहरू हाचिको लाइन र ओमे लाइनका रेल चढ्न हतारिएको कुरा बुझ्न गाह्रो भएन मलाई ।
प्रशान्त महासागरको विस्तृर्णताको पूर्ण फाइदा उठाउँदै निष्कण्टक बेगिएर आएको चिसो हावाले भित्रैदेखि सेलाएको महसुस गरिरहेछु म ।
हिउँका रास छन् जताततै । कारका चक्काले बनाएका डोबहरू छन् सडकैभरि । युरोपेली, अफ्रिकाली र अरबी अनुहारहरू भेटिन्छन् देखिन्छन् घरी घरी । मङ्गोलियन अनुहारका भिडभाडमा आर्यन अनुहार हराएको महसुस हुन्छ मलाई ।
जापानमा भारी हिमपातले जनजीवन कष्टकर बनेका उदाहरणहरू पर्याप्तै पाइन्छन् ।
होक्काइडोमा हिमपातले सधैँ जनजीवनलाई अस्तव्यस्त बनाइदिन्छ । त्यही ब्यथा सरेको छ आज हाइजिमातिर, टोकियोतिर । फेसबुकको वालपेपरमा हिउँमा खिचेका फोटोहरू निकै देखिन थालेँ । शीला श्रेष्ठ, राममाया गुरूङ, डीबी लामा, अङ्कित उप्रेती, अनीता बस्नेत, शिवराज साहनी, अनील सेडाईँ र डिल्ली घिमिरेका हिउँसँग लुकामारी खेलेका फोटोहरू फेसबुकमा सजिँदै गए । टोकियोको हिमपात बनेको छ आज विश्वका प्रमुख सञ्चारमाध्यमहरूको ताजा समाचार ।
अपरान्हसम्म पनि हिउँ फुस्फुसाइरहेछ । कतिपय जापानीहरू आआफ्ना घर वरिपरिको हिउँलाई साबेलले सोहोरेर थुपारिरहेछन् । हरियो छाता ओढेको एउटा सानो फुच्चे आफ्नी आमाको हात दरोगरी समाएर हिउँमाथि हिडिरहेछ । उसको ज्याकेट र जुत्ताभरि हिउँ टाँसिएको छ लफक्कै । आज स्काइट्रीले पनि रङ बदलेको होला अनुमान लगाउँछु म । भुईंभरि मानिसका पाइलाका छाप छन् अनगिन्ती ।
हिउँ परेको बेला सवारी दुर्घटना हुने सम्भावना प्रबल हुन्छ । ब्रेक नलागेर उत्तानो परेका गाडीका दर्दनाक दृश्य देखिन्छ भेटिन्छ कतिपय ठाउँमा । टोकियोमा पनि भारी हिमपातले रेल रोकिएका उदाहरणहरू छन् प्रशस्तै ।
डोजर लगाएर मुख्य मुख्य सडकहरू सञ्चालन गर्न दत्तचित्त भएर खटेका जापानीहरूको एक हुल देखियो । विकसित ठाउँ र अविकसित ठाउँमा परेको हिउँ र त्यसको असर फरक फरक हुँदोरहेछ ।
जापान पनि ऐतिहासिक उतारचढाबका दर्जनौ छालमा हल्लिएर, थिचिएर,किचिएर अनि पिल्सिएर विकसित बनेको देश हो । बिसौँ शताब्दीको पूर्वार्द्धमा भएको साम्राज्यवादी राष्ट्रका बिचको घमासान टक्करबाट आफ्नै मुलुकको भौगोलिक सीमाभित्र खुम्चिए पनि कर्म र मिहिनेतलाई कहिल्यै त्यागेन जापानले । लगनशीलता र मिहिनेत जापानीको नसा, शीरा र धमनीमा रगतसँगै बग्ने गर्छ । कठोर परिश्रम जापानीहरूको स्वाभिमानको मौलो ठड्याउने कसी हो ।
भारी हिमपात हुँदा पनि सडकमा मानिसहरूको चहलपहल उस्तै छ । काम, काम र कामकै चक्रव्यूहमा फसेको छ टोकियोबासीको दिनचर्या । काम जापानीहरूका निम्ति ईश्वर हो जसको उनीहरू हमेसा आराधना गरिरहन्छन् । काम गरे राम्रैसँग चल्छ जीवन । काम नगरे भन्न सकिन्न । रेल स्टेसनभित्र दौडिरहेका जापानीहरूको हुल देख्नु नौलो कुरा हुँदैहोइन । समय जापानको जीवनयापनका क्रममा पालना गर्नुपर्ने सर्वाधिक महत्त्वपूर्ण कुरा हो । एक मिनेट पनि भरसक खेर जान दिँदैनन् उनीहरू ।
नागरिकलाई दुःख दिनु अपराध ठानिन्छ नि यहाँ – छ वर्ष नेपाल बसेर आएको जापानी नागरिक ज्योउसीले भनेको कुरा अहिले पनि गुन्जिरहेछ मेरा कानमा ।
उसिहामानिर एउटा जापानीले आफ्नो तरकारीबारी ढाकेको छ प्लास्टिकको छानो बनाएर । उसले तरकारीबारीमा गरेको मिहिनेत देखेर म धेरै पटक छक्क परेको छु । उसको पहिलादेखिको सोचले गर्दा हिउँले तरकारी बिगार्न पाएन ।
दिनभरि हिउँकै बास भयो । चिसो लागेर ओछ्यान परिन्छ कि – मनको कुनामा अमूर्त डर बसेको छ । हिउँ खेल्ने रहर एक दिनलाई पूरा भए पनि जीवनभरिलाई भने पुगेकै छैन ।

लेखकको सम्वन्धमा