December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

मेरो वर्तमान

मलजलको अभावमा
किसानको कक्रकिएको बालीजस्तै
जिङ्रिङ्ग उभिएको छ
मेरो वर्तमान
मेरै सामुन्ने ।
 
आफ्नै लालाबालाको
कुपोषणले पिल्टिक्क परेको पेट देखेर
खित्का छोडी छोडी
हाँस्छ वर्तमान ।
 
बाढी र पहिरामा बग्नेहरु
र भग्नावशेषमा पुरिँदै गर्नेहरुले
सहयोगका लागि हल्लाएका हातहरुलाई
सुन्दर नृत्य 
अनि पीडाका क्रन्दनहरुलाई
सुमधुर सङ्गीत ठान्दै
मन्त्रमुग्ध भएको छ वर्तमान् ।
 
भिटामिन र पौष्टिक आहारका अभावमा
सुकेनासले सताएको
मेरो सिकुटे वर्तमान
हावाको सानो झोक्कामा पनि
पीपलपातझै पिर्लिक्क पिर्लिक्क पल्टिरहन्छ ।
 
मेरो वर्तमान
चाकडीका मलजलले
ठडिएको छिमेकीको आलिसान महललाई
एकातिर
घृणाले दुत्कार्छ
अर्कातिर
चाकडीका अनन्त असफल प्रयासहरु गरिरहन्छ ।
 
आशाका मधुरा किरणहरुले
नाता र सम्बन्धका अँध्यारा खाडलहरुलाई
उजिल्याउन नसकेको
घामका न्याना किरणहरु
बस्तीका झुपडीमा पुग्दा
चिसिएर कठ्याङ्ग्रिएका
निरिह दृश्यहरु
हेरिरहेछ
मेरो निरिह वर्तमान ।
 
भविष्यका सुन्दर चित्रहरु
पानी रङको क्यानभासमा
पानी रङले नै
आँखा चिम्ली चिम्ली
सायद
मनको अनन्त गहिराइबाट
कोरिरहेछ
मेरो वर्तमान ।