‌वैदिक सनातनधर्मानुरागी महानुभावहरूमा विशेष अनुरोध ।

यो भर्चुअल कर्मकाण्ड अभियान संस्कृत गुरुकुल एवं वैदिक सनातन कर्मकाण्ड पद्धतिलाई समाप्त पार्न दोस्रो प्रयासका रूपमा संस्कृत विरोधीहरूले प्रयोग गर्नसक्छन् । यस विषयमा सनातन धर्मावलम्बी तपाईं हामीहरू सबै चनाखो हुनुपर्छ । संस्कृत विरोधीहरूको पहिलो प्रयास थियो- साधारणस्कुलबाट संस्कृत हटाउनु । जसको उद्देश्य के थियो भने- साधारण स्कुलबाट संस्कृत हटाएपछि यी  संस्कृत गुरुकुलहरू स्वत: समाप्त हुन्छन् । किनकि स्कुल एवं कलेजमा संस्कृत पढाउन नपाएपछि संस्कृतमात्र पढेका व्यक्तिहरू बेरोजगार हुने भयले कसैले पनि संस्कृत पढ्दैनन् र पढाउँदैनन् पनि। ‌त्यसकारण संस्कृत स्वत:लोप भएर जान्छ भनेर साधारण स्कुलबाट संस्कृत हटाइएको थियो । ‌

तर, संस्कृतविद्यानुरागी महापुरुषहरूद्वारा सञ्चालन गरिएका गुरुकुलमा संस्कृत पढेका विद्वान्‌हरूले त वेदोक्त कर्मकाण्ड एवं पौराणिक कर्म गरेर पनि विश्वमा आदर्शमय सम्मानित जीवन जिउन सजिलै सक्ने रहेछन् यतिले मात्र त यो संस्कृति समाप्त नहुने रहेछ भनेर दोस्रो अभियानअन्तर्गत यो सम्मानित विद्वत् परम्परालाई अहिले यो सङ्कट कालको बाहना बनाएर भर्चुअल विधि अपनाउने र श्राद्धादि कर्म गराउने । पछि यो सबै  कर्मकाण्ड पद्धति टेप रेकड गरेर सबैका घर घरमा पु-याएपछि यो पठित विद्वान् गुरुहरूको उपस्थितिमा विधिपूर्वक कर्म गर्ने गराउने पाण्डित्य परम्परा आफैं समाप्त भएर जाने छ भन्ने कलुषित भावनाका साथ चलाइएको  यो सञ्जालविधि भित्रको नकारात्मक पक्षलाई समयमै बुझेर सम्बन्धित व्यक्तिहरूले विचार नगर्ने हो भने यसले सनातनदेखि चलिआएको मर्यादित कर्मकाण्ड एवं पौराणिक पद्धतिलाई मात्र नभएर गुरुकुलीय संस्कृत शिक्षालाई समेत समाप्त पार्नसक्छ । 

‌त्यस कारण केवल जानकारीमूलक सत्सङ्गात्मक कार्यक्रमबाहेक अनुष्ठानात्मक  वैदिक एवं तान्त्रिक रहस्यात्मक कार्यहरू सञ्जाल (भर्चुअल) विधिद्वारा गर्नु-गराउनु भनेको आफ्नो वैदिक सनातन धर्मको मर्मलाई समाप्त पार्नु हो । ‌किनकि यस्ता कार्यक्रममा पुण्योत्पादकता नै रहँदैन । अर्थात् सञ्जाल विधिद्वारा गरिएका कार्यक्रमबाट केवल जानकारी मात्र हुन्छ, पुण्य हुँदैन। पुण्य आर्जन गर्न त विधिपूर्वक कर्म गर्नु पर्दछ। ‌यही कुरा गीतामा भगवान्‌ले भन्नुभएको छ-

‌य: शास्त्र विधिमुत्सृज्य वर्तते कामकारत:

‌न स सिद्धिमवाप्नोति न सुखं न परां गरिन् । 

‌अर्थात् जो मनुष्य शास्त्रविधिलाई छोडेर मनमानी चल्दछ त्यसले सिद्धि, सुख, तथा परम  गति  केही पनि पाउँदैन । यही कुरा देवी भागवतमा पनि साक्षात् भगवान् नारायणले भन्नुभएको छ–

आचारहीनं न पुनन्ति वेदा:

यद्यप्यधीता:सह षड्भिरङ्गै:।

छन्दांस्येनं मृत्युकाले त्यजन्ति

नीडं कुन्ता इव जातपक्षा: ।।

अर्थात् –शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष यी छ अङ्गसहित वेदहरूले पनि आचारहीन व्यक्तिलाई पवित्र पार्न सक्दैनन् । उल्टै मर्ने बेलामा आचारहीन व्यक्तिलाई वेदहरूले त्यसरी नै छोडिदिन्छन् जसरी पखेटा पलाएका पक्षीले आफ्नो गुँड छोडिदिन्छ ।त्यसकारण कुनै पनि कर्म गर्दा विधिपूर्वक कर्म गर्ने अभ्यास गर्नुपर्दछ ।  

अब कसरी गर्ने त यो सोह्र श्राद्ध ? 

१    पहिलो मुख्य कल्पमै  विशेष भिड नगरी पिण्ड पकाउने, पिण्ड दिने र पिण्ड दिलाउने (गुरु) तीन जनामात्र भएर सामाजिक दूरी कायम गर्दै मुख्य तिथि मै श्राद्ध  गर्ने ।

२   मुख्य तिथिमा गर्न नसके नवरात्रको प्रतिपदादेखि पञ्चमी तिथिसम्ममा गर्ने  

 त्यो दिन पनि सम्भव नभए कार्तिक महिनामा ८, १२, ३०  तिथिमा र भरणी नक्षत्र एवं व्यतिपात योग परेको दिन गर्ने । 

 त्यो पनि सम्भव नभए १० महिनासम्म तोकिएको एउटा वेदको मन्त्र जप्ने जपाउने  । त्यो मन्त्र धर्मशास्त्री गुरुहरूसँग लेखिमाग्ने   ॐशान्ति: शान्ति: शान्ति: ।