February 18, 2026, Wednesday
२०८२ फाल्गुन ६, बुधबार

श्रीमान् !

श्रीमान् !
बलात्कृत भएकी छु म
श्रीमान्‌हरूबाट
यो बिच बजारमा
यी चोक,सडक र गल्लीहरूमा
यी गाउँ, सहर  र महलहरूमा
मेरा आस्था, विश्वास र भरोसाहरूबाट
नाङ्गिरहेकी छु म
यी गाउँ, सहर  र महलहरूमा
त्यसैले त
यी बलात्कार मैत्री बनेका छन् ।

दुःशासनहरूले
मेरा आँखामा
बाँधिदिएका छन् कालोपट्टी र
बनाएका छन् द्रौपदी
अनि तान्दै छन्
सारीका पारीहरू
यस बेला
मेरा आस्थाका कृष्णहरू
बनेका छन् दुर्योधन र ती
मेरा चिरहरणका चित्कारहरू
क्षितिजपारिसम्म पुग्दा पनि
नसुन्ने भएका छन् ।

अँध्यारामा आस्था र विश्वासको दियो बालेर
मानवताको गीत गुन्जाउँदै  टुक्रिएर
खण्डहर बनेका जन जनका मनमा
भरोसाको प्रतिमूर्ति बन्नुपर्नेमा
विश्वासका शिखरहरू भत्काउँदै
गीतालाई साक्षी राखेर
सत्यमेव जयतेको गीत गाउँदै छौ र
थुप्रै सीता, सावित्री र गान्धारीहरूका
सिउँदोमा खरानी पोतेर
थुप्रै लासहरूलाई जिउँदो र
जिउँदाहरूलाई  लास बनाइरहेका छौ ।


जुगौंदेखि
मेरो मातृवात्सल्यभरित
कोमल मन र तनमाथि
रोटेपिङ खेल्दै
कालोलाई सेतो
र सेतोलाई कालो बनाएर
सिङका ठाउँमा पुच्छर र
पुच्छरका ठाउँमा सिङ जोड्न सिपालु तिमी
सम्बन्ध विच्छेद र मृत्युदण्डका
फैसलाको लिखितममा
सुनौलो इतिहास बनाउँदै गरेका
तिमी  साँच्चै  बलवान् छौ।


तिम्रा यी टाढा टाढासम्म फैलिएका र
धर्तीको अनन्त गहिराइसम्म
गाडिएका जराहरूलाई
धर्तीको चारैतिर फैलिँदै
पल्लवित हुँदै जाने
हाँगाबिँगालाई
म आफू निख्रिएर,
हिउँका ढिकाजस्तै बिलाएर
सक्दिनँ श्रीमान् मलजल गर्न !
 
बिनति छ
मेरा श्रीमान्‌हरू
मलाई मै भएर बाँच्नदेऊ
आँखामा पट्टी बाँधेरै  पनि
म मनका आँखाले देख्न सक्छु
र, पीडितका पीडाहरू सुन्न सक्छु
भो, ती पीडामा मलम दल्ने मेरा हातहरू
क्षणिक स्वार्थले रोक्न नखोज
मेरा हातले बलियो गरी
समाउन सकुन् तराजु
र, सकुन् छुट्याउन
न्याय र अन्याय ।