September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

गजल

चाहना र भाग्यको कहिल्यै मेल भेटिनँ
भाग्य लतारी खुसी रोज्ने खेल भेटिनँ ।
 
भड्काउका लर्का यहाँ कति आए कति गए,
आफ्नै दोष खोजी हाल्ने जेल भेटिनँ ।
 
कति भए मनका टुक्रा कति दुखे तन,
दुखाइ कम गर्न लाउने तेल भेटिनँ ।
 
यो संसारले आफ्नो असली रूप देखाइदिँदा,
अर्कै संसारमा लगी छाडिदिने रेल भेटिनँ ।
 
अरूका दुःख बुझ्दाबुझ्दै कति आफ्ना खुसी मरे,
आफ्नै भाग्य बगाइदिने खहरेको भेल भेटिनँ ।