काख आमा बुबा कष्टमा तत्पर
भोकमा भोज थ्यो ताप चिन्ता पर
हाँस्यको चालथ्यो गर्नु नै के थियो
जो थियो मस्तको बाल बेला थियो १
घाम झुल्को सँगै उठ्तथ्यो जीवन
चाहना प्राप्तिमा अस्त्रथ्यो रोदन
छेक के बार के नीद आनन्द थ्यो
जो थियो मस्तको बाल बेला थियो २
पाहुना आउँदा ती मिठाई लिन
मख्ख भै छेउमा पुग्दथें हत्पत
थ्यो नमस्कारमा आस खाने थियो
जो थियो मस्तको बाल बेला थियो ३
टिप्न जाने सिला खेतका फाँटमा
को छिटो को ढिलो सक्छरे टिप्नमा
मात्र त्यो सीप सिक्ने कला खोजथ्यो
जो थियो मस्तको बाल बेला थियो ४
भाइटीका सँगै देउसी खेल्दथें
त्यो दसैं चाडमा दच्छिना जोड्दथें
माघ मेला झरी रम्नु घुम्नै थियो
जो थियो मस्तको बाल बेला थियो ५
गाउँका वागमा झुण्ड सङ्गी पसी
चोर्दथ्यौं बोटका नासपाती डुली
खान भन्दा मजा कौतुकी खेल थ्यो
जो थियो मस्तको बाल बेला थियो ६
त्यो गुलेली सँगै कुद्दथ्यौं जङ्गल
भै सिकारी सरी खेद्दथ्यौं कालिज
मासुको चाहना हैन क्रीडा थियो
जो थियो मस्तको बाल बेला थियो ७
बाझ्दथ्यौं जुध्दथ्यौं मिल्दथ्यौं खेल्दथ्यौं
पोल चुक्ली गरी पिट्न पो लाउँथ्यौं
मात्र आवेग थ्यो फेरि ऊ साथ थ्यो
जो थियो मस्तको बाल बेला थियो ८
आज सङ्गी सबै झेलको खेलमा
जिन्दगी सम्झँदा पुग्छु त्यै गाउँमा
त्यो सुनौलो थियो या रुपौलो थियो
जो हिजो मस्तको बाल बेला थियो
छन्द: स्रग्विणी
लेखकको सम्वन्धमा