December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

कविताको बजार

कम्युनिस्ट मेनिफेस्टो
टाउकोमा गुथेर
लमतन्न पसारिएको छ एउटा कविता
प्रजातन्त्रको नारा
सिरानी हालेर
चिर निन्द्रामा सुतेको छ अर्को कविता
एउटा बाहुन कविता
छुट्टै पकाएर खाइरहेको छ भान्सामा,
एउटा दलित कविता
छुट्टै घन ठोकिरहेछ आरनमा
नबुझी नबुझी सँस्कृत पाठ गरिरहेका छन्-
केही हिन्दू कविताहरु,
अङ्ग्रेजी गीतको रटान मारिरहेका छन्-
केही ख्रिस्टियन कविताहरु,
आ-आफ्नै ढोङको पूजा गरिरहेका छन्-
केही शिख, बौद्ध, हिन्दू मुसलमान कविताहरु
यस्तो समयमा
तपाईं
यो कविताको बजारमा
कविता सुन्न आउनुभो
कुन कविता सुन्नुहुन्छ महोदय ?
कुन जातको ?
कुन धर्मको ?
कुन वर्ण ? कुन स्तर ? कुन वर्गको कविता ?
प्रथम बनाएर ताली पिटाइएको विखन्डनकारी कविता ?
कि कुनामा मिल्काइएर सुँकसुँकाइरहेको सद्भावको कविता ?
मलाई लाग्दैन तपाईं
मेरो कविता सुन्न आउनुभएको हो
किनकि
यो बजारको कवितामा
मेरो कविताको बजार छैन ।
कि सुन्नु छ तपाईँलाई-
वर्षौँअघि मुगलान पसेर नफर्किएको कविता ?
कि खोतल्नु छ तपाईँलाई-
कविताहरुकै लासले थिचिएर मरेको कविता ?
बुझ्नु छ र तपाईँलाई
उखुबारीमा बलात्कार भएका कलिला कविताहरु ?
खोज्नु छ र तपाईँलाई
सिँहदरबार पुगेर गाउँ भुलेका निर्दयी कविताहरु ?
भन्नुस् !
छ ?
भनेँ त
तपाईं मेरो कविता सुन्न आउनुभएको होइन ।
यो बजारको कवितामा
मेरो कविताको बजार छैन
म मुटु बिच्छ्याएर देश लेखिरहेको बबुरो कवि
तपाईंलाई कसरी सुनाउन सक्छु र मेरो देशको कविता ?