न्यायको प्रतीक्षा
केही वर्षअघिको कुरा हो । भीमप्रसाद ‘भीमे’ लाई सर्पले टोकेर अकालमै देहान्त हुँदा सम्पूर्ण गाउँघर नै शोकाकुल भएको थियो । गाउँका एक सच्चा किसान, कहिल्यै पनि कसैको कुभला नसोच्ने भीमेको यसरी मृत्यु हुँदा त्यस दिन गाउँमा आँखा नरसाएको कोही गाउँले थिएनन् । यस कुराको पीडाले अनिता देवी त बेहोस नै थिइन् । यस दुःखका घडीमा सम्पूर्ण गाउँलेहरु मिलेर भीमेको अन्तिम संस्कार गरिदिए । ‘अब त घरको मूल खम्बा नै बिते । यस गरिबीको सङ्कटमा चारा छोरीहरुको पालनपोषण कसरी होला ?… हे प्रभु !’ कान्छा खत्रीले भने ।
समयसँगै अनितादेवीको दुःखको भार पनि बढ्दै गयो । उनमा कार्यभार र जिम्मेवारी पनि थपिँदै गयो । भीमे हुँदा खेतीकिसानी गरेर जेजसरी पनि आफ्ना परिवारको दुई छाक खानेलाउने प्रबन्ध मिलाउँथे । अहिले त घरमा सामान्य खर्च जोड्न पनि अनितादेवीका निम्ति भारी हुँदै थियो । पुख्र्यौली सम्पतिको अभाव, गरिबीको चपेटा, पुरुषप्रधान समाजमा महिलाको स्तर आदि थुप्रै कुराहरु थिए । चार छोरीको भविष्यको चिन्ता गर्दै अनितादेवी दुब्लाउँदै थिइन् । जेठी छोरी कुसुम त तन्नेरी भइसकेकी थिई । तेह्र वर्षीय माहिली छोरी सर्मिला आमा र दुई बहिनीहरुका साथमा घरमै काम गरी आमालाई सघाउन थालिन् ।
धेरैजसो गाउँलेहरु किसान नै थिए । पढेलेखेका वा अन्य पेसामा सम्लग्न नगन्य नै थिए । सादा जीवन निर्वाह गर्ने ती किसानहरु उदार मनका थिए । एकअर्कालाई सहयोग गर्न पछि हट्दैनथे । जे जति भए पनि उनीहरु स्वतन्त्र भने थिएनन् । शोषित नै थिए । देशमा प्रजातन्त्र आइसक्दा पनि ती किसानहरु राणाकालीन समयझैँ बाँचिरहेका थिए । कारण थियो– जमिनदार राजेश्वर यादव । उनी यस गाउँलगायत आसपासका केही गाउँहरुका शोषक नै थिए । गरिब किसानहरु नमरुन्जेल उनीहरुको रगत चुस्न कुनै कमी छाड्दैन थे । गाउँलेहरुमाथि उनको यो शासनसत्ता उनीपछि उनका गोज्याङ्ग्रे छोरा राजु चलाउनेवाल थिए ।
जवान छोरीलाई धेरै दिन घरमा राख्नुहुन्न । घरजम गरिदिनुपर्छ भन्ने उद्देश्यले अनितादेवीले गाउँलेहरुसमक्ष कुसुमको बिहे गरिदिने प्रस्ताव राखिन् । दुलाहा खोजिन थाल्यो । पल्लो गाउँकै सगुन साहुको रक्स्याहा छोरो नरेशलाई कुसुम धेरै मनपरेको कुरा थाहा भयो ।
सगुन साहु जमिनदार राजेश्वरप्रसादका खास बफादार थिए । नरेश र राजु दुवै कुलतमा फसेर बिग्रिसकेका मिल्ने साथी थिए । दुवै एक नम्बरका फटाहा, रक्स्याहा र स्त्रीलम्पट व्यक्ति थिए । जतिसुकै खराब भए पनि दुलाह सम्पतिवाल साहुको छोरा भएका कारणले कसैले नाइँ भन्न सकेनन् । कुसुम अलिक घमन्डी प्रकृतिकी थिइन् । धनको आडमा उनी श्रीमान्को चरित्र नै नहेरी बिहे गर्न तयार भइन् ।
छोराको बिहेमा साहुले दाइजो मागे । घनी घरमा छोरीको बिहे हुनगइरहेको कुराले गर्दा अनितादेवीलाई दाइजो दिन मन्जुर बनायो । पुख्र्यौली सम्पतिका नाममा रहेको खेतमध्ये केही बेचेर दाइजो दिने काम भयो । बिहे धुमधामसँग भयो । दुलहीलाई आशीर्वाद प्रदान गर्न स्वयम् जमिनदार राजेश्वर यादव आपैm आए । उनको उपस्थितिले बिहेको गरिमा नै बढेको गाउँलेहरुले महसुस गरे ।
बिहेभन्दा पहिलादेखि नै नरेशको कुदृष्टि कुसुम र सर्मिला दुवैमाथि थियो । कुसुमसँग बिहे गरी सर्मिलासँग नाजायज सम्बन्ध राख्ने घटीया विचार उसको थियो । उसको यस विचारलाई राजुले पनि समर्थन गरेका थिए । तर उनीहरुका लागि यसो गर्नु त्यति सजिलै थिएन किनभे सर्मिला त्यस्ति केटी थिइनन् । सधैँ मिहिनेत गरी घरगृहस्थीमा आमालाई मद्दत गर्ने सोझी र सफा चरित्रकी थिइन् ।
एक दिन नरेश राजुसँग आफ्ना ससुराली आएका थिए । उनीहरुले आफ्ना धनको घमन्ड देखाई जिस्क्याएर यस्तै कुरा सर्मिलालाई साङ्केतिक रुपमा बताउन खोजेका थिए । तर आफ्नो भविष्यप्रति सजक सर्मिला दिदीको घर बर्बाद हुन्छ भन्ने असल सोचका साथ त्यति नै खेर त्यहाँबाट उठी आमालाई सबै कुरा बताइन् र कहिल्यै नरेश र उसका साथीसँग नबोल्ने निधो गरिन् । सालीको यस्तो कडा चाला देखेर नरेश जङ्गिएर त्यति नै खेर ससुरालीबाट निस्की गाउँको भट्टीमा पुगे ।
समय बित्दै गयो । कुसुमले एउटा छोरो पाइछन् । छोराको न्वारानमा माइतीबाट सबथोक सामान लिई सर्मिला दिदीका घर पुगिन् । नरेशको सर्मिलामाथिको कुदृष्टि भने दिनप्रतिदिन ताजा नै हुँदै गइरहेको थियो । लागेको लत र बिफरको खत हतपत जाँदैन भनेझैँ न्वारानकै तीन दिनपछि नै घरमा सर्मिलालाई एक्लै पाएर नरेश र राजु मिलेर बलत्कार गरे । आफूमाथि भएको यस दुष्कर्मको पीडा सहन नसकी सर्मिला रुँदै राति नै आफ्ना घरमा आइपुगेर सम्पूर्ण कुरा आमालाई बताइन् । उनीमाथि भएको यो घोर अन्यायको पीडा सहन नसकेर उनी छटपटाइरहेकी थिइन् ।
भोलिपल्ट आफ्नी छोरीउपर भएको यस अन्यायका निसाफका निम्ति अनितादेवी गाउँलेहरुलाई गुहार्न पुगिन् । उता सगुन साहुलाई आफ्नो छोरा र राजुको कर्तुतका बारेमा थाहा हुनासाथ छोरालाई झपार्नुको सट्टा उनी राजेश्वरप्रसादकहाँ हतरिँदै पुगे । ‘बिजोग भयो मालिक’ भन्दै सगुन साहुले जमिनदारलाई अब यसको समाधान निकाल्न आग्रह गरे । जमिनदारका लागि यो एक समान्य कुरा थियो जस्तो लाग्यो । उनले आफ्नो छोरालाई केही पनि हुँदैन भन्ने आस्वासन साहुलाई दियो । उदार स्वभावका भए पनि शोषित ती गरिब किसानहरु जमिनदार र साहुका खिलाप केही बोल्न सकेनन् ।
गाउँलेहरुबाट प्रत्यक्ष रुपमा सहयोग नपाएर अनितादेवीले आत्महत्यासमेत गर्ने सोचिन् तर सर्मिला र दुई छोरीहरुको ममताले उनलाई यसो गर्न दिएन । गाउँका केही जानेमानेका व्यक्तिहरुले अनितादेवीलाई कानुनको मद्दत लिन सल्लाह दिए । तत्कालीन समयको कानुनी व्यवस्था र अदालत पनि क्या गजबको ! असीमित धन सम्पतिको भण्डार जमिनदार र साहुजस्ता व्यक्तिका अगाडि गरिब र अशक्त सर्मिलाको परिवारको के नै जोड चल्थ्यो र । अदालतमा दिनप्रतिदिन उनको पक्ष कमजोर बन्दै गयो । यो हिंसात्मक प्रवृत्तिको दृश्य गाउँलेहरुले देख्न नसक्दा सर्मिलाका पक्षमा अदालतमा उत्रिए । आफ्नो स्तर कमजोर हुँदै गएको देखेर जमिनदारले वकिललाई भनी तारिख बढाउन लगाए । तसर्थ त्यस दिनफैसला सुनाइएन । आफ्नो अथाह सम्पतिको एक मात्र वारिसलाई बचाउने जमिनदारले अर्को एक घिन लाग्दो उपाय बारे सोचे । गरिब किसानहरुमाथि शोषण गर्न पालिएका आफ्ना बफादारहरुलाई रातिकै समयमा पठाई जमिनदारले सर्मिलाको हत्या नै गराइदिए ।
यस घटनाले पूरा गउँ नै स्तब्ध बनाइदियो । गाउँलेहरुलाई दोषी को हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि समयमा आवाज नउठाउनाले न्यायको प्रतीक्षा गर्दागर्दै सर्मिलाको प्राणपखेरु उड्यो । आफूमाथि भएको हिंसात्मक दुष्कर्मका निम्ति न्याय माग्दामाग्दै कानुनका पानाबाट सर्मिलाको नाम मेटिएर गयो । अनितादेवी र उनका परिवार अझै पनि न्याका प्रतीक्षामा यताउता भौतारिँदै छन् ।
लेखकको सम्वन्धमा