December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

समय

म पच्छ्याउँदै थिए 
उनैलाई 
फगत उनैलाई 
जति पछि लाग्छु 
उति अघि जान्छिन् उनी 
हिँड्छु छिटो छिटो 
कुद्छु घरी घरी 
अलि पाइलो लामो गर्छु 
फड्को दोब्बर पार्छु 
जति अघि जाउँ भन्छु 
त्यति नै दूरी 
अगाडि नाप्छिन् उनी !
 
भेट्ने धोको अघोर छ 
पाउने चाहना घनघोर छ 
त्याग तपस्या कठोर छ 
र पनि 
उत्कट अभिलाषा बोकेर 
उनलाई भेटेरै छाड्ने 
जितेरै छाड्ने अठोटले 
निरन्तर दौडिरहेछु 
क्रमश हिँडिरहेछु 
न भेट्दछु दौडेर 
न पुग्छु छुन पौडेर 
न सक्दछु जान उडेर 
जति हिँडे पनि 
जति दौडे पनि 
स्वाँ स्वाँ, फ्वाँ फ्वाँ गरे पनि 
सकिनँ भेट्न उनलाई 
पुगिनँ नगिच पनि 
 
म रोकिन्छु 
गलेर एकछिन 
तर उनी रोकिन्नन् 
पर्ख भन्छु 
पर्खिन्नन् 
एकै गतिमा 
हिँडिरहन्छिन् 
दौडिरहन्छिन् 
चलिरहन्छिन् 
थाह छैन 
को छ ?
उनीभन्दा अगाडि 
र 
कुदिरहेछिन् 
मरिहत्ते गरी गरी 
कहाँ पुग्नु छ उनलाई ?
भेट्नु छ कसलाई उनले ? 
कति पनि 
नगली 
नथाकी 
कुदेकी होलिन् किन ?
के छ त्यस्तो,
अनवरत कुदाइमा 
शक्ति दिने उनलाई ?
र 
निरन्तर 
भागिरहिछिन् उनी 
नपर्खी मलाई पनि 
न इरादा होला 
पर्खिने कसैलाई 
किन 
यति बिघ्न गाह्रो 
भेट्न उनलाई ? 
किन कठिन छ 
पाउन उनलाई ?
कस्ती होलिन् उनी 
कस्तो होला रूपरङ्ग उनको 
को होलान् उनका बा-आमा 
के उनी साँच्चिकै 
माया गर्छिन् त मलाई ?
या 
म मात्र हुँ 
एकोहोरो माया गर्ने उनलाई ?
मलाई माया गर्दिहुन् त 
किन भाग्थिन् अघि अघि 
नपर्खी मलाई ?
 
यस्तै सोचाइ र कल्पनामा 
डुब्दै गएछु म
थाक्दै गएछु म 
गल्दै गल्दै गएछु म
न देखेँ उनलाई 
न भेटे उनलाई 
न चिने उनलाई 
उनले नपर्खे नि मलाई 
फर्की नहेरे नि मलाई 
हेरेँ आफैँले आफैंलाई 
पर्खेँ एकछिन आफैँलाई 
अनि टक्क रोकिएर 
एकछिन 
फर्की हेर्दछु पछाडि फेरि 
आफू दौडेको बाटो 
उनलाई पच्छ्याएको बाटो 
मजस्ता करोडौं
फकिरहरू 
यायाबरहरू
आइरहेछन् पछि पछि 
म भएतिर 
अनि पो बल्ल बुझेँ मैले पनि 
बिचरा ! तिनीहरू त 
उनकै पछि लागेका रहेछन् 
मेरै हालतमा सबै सबै !