December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

सङ्क्रमण नियन्त्रणका लागि व्यवस्थित लकडाउन

हिजोआज आम जनमानसमा व्यापक चर्चामा रहेको शब्द हो- ‘लकडाउन’ । ससाना केटाकेटीहरूदेखि लिएर बुढापाकाहरु सम्मको मुखमा झुन्डिएको शब्द हो- ‘लकडाउन’ ।  मानौं यो  वर्तमान सङ्कट कोरोना  सङ्क्रमण रोकथामको सर्वमान्य र अचुक ओखती हो । जब सञ्चार माध्यमहरूमा सङ्क्रमणको अत्यधिक चर्चा हुनथाल्छ अनि सर्वसाधारणले सजिलै अनुमान गर्न वा सुझाव दिनथाल्छन् अब   लकडाउन गर्नुपर्छ  ताकि सङ्क्रमण नियन्त्रण  गर्न सकियोस् ।

       यस परिप्रेक्षमा सबैको मुखमा   सहज रुपमा  लकडाउन  मात्रै सुनिनु  कदापि सही नहुनसक्छ । किनभने यहाँ सङ्क्रमणका अन्य पक्षहरु विश्लेषण गरिएका देखिँदैनन् । हामी सबैलाई ज्ञात भएकै हो, कोरोना महामारी नियन्त्रणमा  निर्विकल्प लकडाउन मात्रै  गर्दा के-कस्तो गम्भीर आर्थिक समस्या बेहोर्नुपर्छ। तसर्थ वर्तमान अवस्थामा व्यवस्थित  लकडाउन गर्नु आवश्यक देखिन्छ।

      विगत तीन महिना लामो समय पूर्ण  लकडाउन गरियो।  त्यसको उपलब्धि प्राय शून्य भयो। त्यसको दुष्परिणाम चरम आर्थिक सङ्कट सुरु भयो । समग्र मुलुककै अर्थतन्त्रमा गम्भीर आर्थिक सङ्कट देखिन थाल्यो। तत्‌पश्चात् सरकारले  लकडाउनलाई खुकुलो पार्दै लग्यो । जसको परिणामस्वरूप कोरोना सङ्क्रमण  अझ तीव्र रुपमा फैलिंदै  गएको देखिन्छ ।

      सरकारले गत साउन महिनाको मध्यदेखि सटडाउन सुर गरेको छ। जुन अवधिमा विभिन्न किसिमका आर्थिक  गतिविधिहरु निश्चित स्वास्थ्य मापदण्डअन्तर्गत रही सञ्चालन गर्न पाइने व्यहोरा उल्लेख थियो। जसअन्तर्गत सरकारी तथा सार्वजनिक, निजी सवारी साधनहरु सुचारु गर्न पाउने विभिन्न अफिसहरु, व्यवसायिक सङ्घसंस्थाहरु सुचारु गर्न पाउने व्यवस्था थियो। यसअवधिमा सङ्क्रमणको डर झन् उच्च रुपमा देखियो। फेरि  सार्वजनिक एवं निजी सवारी साधनहरुलाई जोर-विजोर प्रणालीअन्तर्गत चलाउने व्यवस्था गरियो। यसबाट पनि कोरोना नियन्त्रणमा खासै मद्दत पुगेको देखिँदैन । तत्‌पश्चात्  दिनप्रतिदिन सङ्क्रमण व्यापक हुँदै गएको देखिन्छ।

      वर्तमान अवस्थामा राजधानीका केही ठाउँहरूमा कोरोना सङ्क्रमण समुदाय स्तरमै फैलिएको आमसञ्चार माध्यममा  सुन्न पाइन्छ। हालसालै मात्र सरकारले स्थानीय निकायअन्तर्गत निषेधाज्ञा अथवा पूर्ण  लकडाउन सुरु गरेको छ।

      सम्पूर्ण घटना क्रमहरु हेर्दा सरकार तथा नियमक निकायको कोरोना नियन्त्रणका लागि एउटै विकल्प लकडाउन  मात्र लिएको देखिन्छ । तर यो पूर्णतया गलत साबित भइसकेको छ । जुन कुरा वर्तमान सङ्क्रमणको सङ्ख्या वृद्धि र सर्वसाधारण दैनिक जीवनयापनमा देखिएको चरम आर्थिक सङ्कटले स्पष्ट गर्दछ। हामीले यो कुरा बुझ्नु अत्यन्त जरुरी छ कि सङ्क्रमणको रोकथाम कदापि  पूर्ण  लकडाउन वा  निषेधाज्ञा जारी गर्नु वा आम सर्वसाधारणलाई घरभित्रै मात्र बन्दी गर्नु होइन । यस्तो  अवस्था लामो समयसम्म निरन्तर भयो भने भविष्यमा हामी कसैले नसोचेको परिणाम आउनसक्छ । त्यसकारण यस किसिमको निषेधाज्ञा वा लकडाउनले केही दिनसम्म समाधान दिए तापनि कालान्तरमा यसले सङ्कट निम्त्याउनेमा  दुईमत नहोला।

      अर्कातर्फ लकडाउनमा  आम सर्वसाधारणका लागि बिहान र बेलुका केही समय खाद्यान्न तथा तरकारी बिक्री वितरण गर्न  दिने जुन व्यवस्था गरिएको छ त्यो व्यवस्था पनि निकै जोखिमपूर्ण छ। आम मानिसहरु लापरवाहीपूर्ण तरिकाले आफूलाई आवश्यक पर्ने खाद्यसामग्री एवं अन्य सामानहरु निस्फिक्री खरिद एवं बिक्री  गरिरहेका छन् । यस्ता गतिविधिबाट के सङ्क्रमण नसर्ने हो ? तसर्थ यस किसिमको व्यवस्थालाई व्यवस्थित गर्न अत्यन्त जरुरी देखिन्छ। साथै प्रशासन र स्थानीय निकायका जनप्रतिनिधिहरु इमान्दारीपूर्वक कोरोना नियन्त्रणमा परिणाममुखी  निषेधाज्ञा वा लकडाउन गर्न चाहेको हो भने कम्तिमा आम मानिसहरूको  दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न खाद्यसामग्री एवं अन्य अत्यावश्यक वस्तु तथा सेवाहरूको सहज  एवं स्वास्थ्य मापदण्डसहित व्यवस्थित खरिद बिक्री गर्न दिनु नितान्त जरुरी देखिन्छ।

व्यवस्थित लकडाउन किन आवश्यक  ?

       हामी सबैलाई थाहा भएकै कुरा हो।  आम मानिसहरु एकआपसमा यदि सङ्क्रमित व्यक्तिसँग भेटघाट भएको छ भने यो रोग सहजै सर्छ।  त्यसकारण कुनै पनि  हालतमा सर्वसाधारणलाई भिडबाट मुक्त गर्नु आजको आवश्यकता हो। मानौं कोही तरकारी व्यापारी सङ्क्रमित पाइएमा सङ्क्रमण कति रफ्तारमा फैलिन्छ। हामीले अनुमान लाउनसक्दैनौँ। त्यसैगरी कुनै सङ्क्रमित किराना पसलेबाट सर्वसाधारणमा कति द्रूत गतिमा सङ्क्रमण फैलिन्छ भन्ने कुरा मनन् गर्न आवश्यक छ । तसर्थ यस्तो अवस्थामा contact tracing गर्न बिलकुलै असम्भवप्राय हुन्छ। यस अवस्थामा स्थानीय निकाय, प्रशासन र अन्य क्षेत्रबाट गरिने समग्र कोरोना नियन्त्रण तथा रोकथामका उपायहरु बेमतलब हुनजान्छन्। त्यसैले समय छँदै नियमक निकाय, स्थानीय जनप्रतिनिधिहरु एवं जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्थित निषेधाज्ञा वा पुनः  लकडाउन गर्नु आजको आवश्यकता देखिन्छ। जसमा विशेषगरी बिहानीको समय र साँझको समयमा  खाद्यान्न एवं तरकारी बिक्री वितरण स्थान वा केन्द्रमा आधारभूत स्वास्थ्य मापदण्ड लागु गरेर मात्र खरिद बिक्री गर्नदिनु जरुरी देखिन्छ । व्यवस्थित खाद्यान्न बिक्री वितरण गर्न निम्न लिखित उपाय अवलम्बन गर्न सकिन्छः

१. खाद्यान्न पसलहरुलाई पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने र हरेक १५ दिनमा PCR  टेस्ट  गर्ने व्यवस्था  गर्ने।

२.  तरकारी तथा फलफूल खरिद बिक्री गर्न निश्चित स्थल व्यवस्था गरी निश्चित व्यक्तिहरुलाई मात्र बिक्री गर्न दिने र ती सबै बिक्रेताहरुलाई  अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने एवं फलफूल तथा तरकारी प्याकेजिङ गरेर मात्र बिक्री वितरण गर्न लाउने ।

३.  स्थानीय व्यक्तिहरुलाई निश्चित पसल तथा बिक्री वितरण केन्द्रहरुबाट मात्र किनमेल गर्न अनुरोध गर्ने र प्रत्येक वार्डबाट वितरित अनुमतिपत्रवाहकको अवलोकन गर्ने र सकेसम्म एकै व्यक्ति मात्र बजार आउजाउ गर्न अनुरोध गर्ने।

४.  दुग्ध तथा दुग्धजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्णरुपमा स्वास्थ्य मापदण्ड लागू गर्ने त्यससँग सम्बन्धित व्यक्तिहरुले पनि नियमित स्वास्थ्य मापदण्डमा रहेर हरेक १५ दिनमा PCR टेस्ट गर्ने  व्यवस्था स्थानीय निकायले गर्ने।

५.  खाद्यान्न सामग्री ढुवानी एवं अन्य अत्यावश्यक सामान ढुवानी गर्ने चालक, सहचालकले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरेको छ छैन नियमित निरीक्षण गर्ने र उनीहरुलाई मापदण्ड पालना गर्न लगाउने।

 ६. कृषि उपज उत्पादन, बिक्री वितरण सहज गर्न  नियमित जनचेतनामूलक सूचना जारी गर्ने । जस्तै अनिवार्य माक्सको प्रयोग, हरेक पटक बाहिरबाट घरमा प्रवेश गर्दा साबुन पानीले राम्ररी हात हुनुपर्छ भन्ने जनचेतना जगाउने ।

७.  उच्च सङ्क्रमण देखिएका ठाउँमा नियमित गस्ती गरी त्यस क्षेत्रमा रहेको घरहरूको अथवा परिवारहरूको एक घर एक व्यक्ति PCR   टेस्ट गर्ने व्यवस्था मिलाउने। साथै सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा रहेका व्यक्तिहरूको सक्दो छिटो contact tracing गर्ने।

८. होम क्वारेनटाइनलाई नियमित निरीक्षण एवं व्यवस्थित भए नभएको जानकारी लिने र आवश्यक सल्लाह, सुझाव, सहयोग उपलब्ध  गराउने।

९.  समुदायमा कोरोना सङ्क्रमितप्रति हुने भेदभाव एवं अवाञ्छित क्रियाकलापहरु नगर्न, नगराउन सबैलाई अनुरोध गर्ने र सक्दो सङ्क्रमितलाई हौसला प्रदान गर्न अनुरोध गर्ने।

 उल्लिखित कोरोना सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका केही उपायहरु पक्कै पनि सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। यद्यपि व्यक्ति एवं पारिवारिक सचेतना एवं सतर्कता प्रमुख  आवश्यकता हो। अन्तमा, अनावश्यक घरबाहिर घुमफिर नगरौं, घरमै बसौँ, सकारात्मक सोच बनाऊँ र  सबै सुरक्षित रहौँ।