January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

किसान

फर्किएर स्कुलबाट
गृहकार्य गर्दैगर्दा
मेरो छोरा मैलो मलाई हेर्छ
अनि सफा कागजमा लेख्छ –
‘बाबुको पेसा – अफिसर’
 
सायद लजायो ऊ
मेरो फुस्रो हात सम्झी
ममा लुप्त हुन‌ खोज्ने
हिलो माटोको खात सम्झी
तर मेरै छोरोले
सास धान्ने भात सम्झेन
 
मेरो सानो झुप्राको ठुलो राजा !
म छु र त राज गर्छौ तिमी
मेरा हातका ठुल्ठुला ठेला
तिम्रो सिंहासन भएको छ
तिम्रो एक गाँस जोर्न
मैले सयौँ दाना पसिना रोप्नु छ
तिम्रो एक अक्षर किन्न
मैले लाखौं माइल धसिनु छ
 
छोरा ! तिमीले जान्नुपर्ने
तिमी शिर लुकाउन ओत खोज्दा
झरीसँगै म खेत झर्छु
घामपानी केही नभनी
मानव-लोकको हित गर्छु
 
छोरा तिमी खुसी हुनुपर्ने
तिम्रो बाबु नबोलेरै बुझ्न सक्छ
गोठमा दुख्ने भोक, शोक र रोगहरू
बुझ्न सक्छ पृथ्वीको स्पन्दन, पानीको स्पर्श
आकाशको गर्जन, माटोको गन्ध
 
तिमी जन्मँदा म जसरी उफ्रेको थेँ
खुसीले चार हातमाथि
त्यसरी नै हरेक पटक बाली भित्र्याउँदा
म मनमनै खुब नाच्छु
र यो पनि सत्य हो
त्यस बखतको आनन्द
तिम्रो हुननसकेको अफिसर बा’ले तलब बुझ्दा भन्दा
धेरै बढी हुन्छ।
बाबु! कृषि आशाको, प्रेमको र आनन्दीको पेसा हो।
 
छोरा ! जीवन बुझ्न फुर्सद नहुने
यो अस्तव्यस्त मानव सागरमा
म हरेक क्षण जीवनसँगै हुन्छु
म प्रकृतिसँगै हुन्छु
म देख्नेगर्छु
बिउ, बेर्ना, मुना, फूल, फल, मृत्यु र पुन बिउ, बेर्ना…
 
सक्छौ भने तिमी पनि
बोकेर ज्ञानको भण्डार, आऊ मेरो दुनियाँमा
तिमीले पढेको अनि मलाई परेको ज्ञानको साझेदारीमा
भरौँ भोका भकारीहरु!!
रोकौँ भोकमरीले मारिने क्रमहरु
 
कहिलेकाहीँ आइदिने
सारा खुसी लगिदिने
बाढी र खडेरी नभइदेऊ
छोरा ! किसान हुनु‌ सान हो !
तिमी गर्वसाथ लेख्न सक्छौ
‘बाबुको पेसा- किसान।’