December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

हाकोनेले तानेका आँखाहरू

ताचिकावाबाट बिहान पाँच बत्तिसको रेल चढ्नुपर्छ- दुई दिन अघि जापानी युवा नोजोमु आबेले फोनमा दोस्रो पटक सम्झाएथे मलाई ।

पाँच बजे अगाडि नै कोठाबाट निस्किनुपर्छ है- जवाफमा मैले यति कुरा पनि थपेर भनेँ ।

आबे नेपाली ज्वाइँ हुन् । धादिङकी सरिता अमात्यसँग बिहे गरेर टोकियोमा बसेका उनको अन्तर्राष्ट्रिय बिहेका बारेमा चिनेजानेका नेपालीहरूका बिचमा खुब चर्चा हुन्थ्यो कुनै बेला ।

माया शब्दमा परिभाषित गर्न सकिने विषय हुँदै होइन । यो त मानिसले बनाएका पर्खाल वा राजनैतिक सीमाना सजिलै नाग्ने तागतिलो शक्ति हो- मेरा सहपाठी मित्र नवीन थापा क्षेत्रीले कन्यामको चिया बगानमा घुम्दा भनेको वर्षों पुरानो वाक्य सम्झिएँ ।

नोजोमु आबे र सरिताको दाम्पत्य जीवन केराबारी मोरङका मेरा हितैषी क्षेत्री मित्रको परिभाषा कै वरिपरि फन्को मारेको छ ।

पूर्वयोजनाअनुसार नै हामीले ताचिकावाको नाम्बु लाइनको पहेँलो रङको रेल चढ्यौं ।

हाकोने थियो हाम्रो यात्राको गन्तव्य । हाकोनेका बारेमा सुने पढेको कुरालाई आफ्नै आँखाले हेर्नुथियो । हाकोनेको डाँडामा उक्लिएर नियाल्नुथियो एउटा बेग्लै संसार । मन टन्न भर्नुथियो जापानी पहाडका मनोरम दृश्यहरूका अनेकौं परिकारहरूले ।

२०२० जुलाई २८ तारिख बिहान यामानासी केनको पर्यटकीय स्थान हाकोने ताकेर रेलमा बेगिएका छौं तीन नेपाली र एक जापानी । यात्राको चाँजोपाजो दुई हप्ता पहिलेदेखि नै मिलाएथ्यौं । जापानको व्यस्त जीवनबाट एक टुक्रा समय निकाल्नुअघि निकै पटक जोड घटाउ गरेथें मैले ।

नेपाली खानेकुराले भरिएका दुईवटा झोला पालैपालो झुन्डिएका छन् हामी चारैजनाका हातमा । नाम्बु लाइनको रेल दक्षिण दिशा ताकेर लम्किएको छ आफ्नै गतिमा ।

हामी कुन स्टेसनमा ओर्लिने- नोजोमु आबेतिर फर्किएर सोधें ।

नोबोरितो स्टेसन – आबेले तुरुन्तै जवाफ दिए ।

नोबोरितो स्टेसनमा ओर्लिएपछि हाकोनेको फ्रि पास किन्नुपर्छ – फेरि पनि आबे नै बोले ।

बुझें – मेरो उत्तर आबेलाई ।

यो रेलमा हामीले एक्काइस मिनेट यात्रा गरेर अर्को रेल बदल्नुथियो ।

मिनामी तामा स्टेसन पुग्नुअघि हामी चढेको रेलले तामा नदीलाई एक निमेशमै पार गर्यो । तामा नदी पश्चिमोत्तर टोकियोको पहाडी इलाकाबाट पश्चिम टोकियोको समथर भूभाग हुँदै टोकियो खाडीमा गएर मिसिन्छ ।

यानोकुची स्टेसन पुग्दा यात्रुहरू खचाखच भरिए । हामी चारै जना ताचिकावाबाटै सिटमा बसेकाले रेलको भिडभाडले उति असर पुर्याएन ।

पाँच बजेर त्रिपन्न मिनेटमा हामी नोबोरितो स्टेसन ओर्लियौं । नाम्बु लाइनबाट निस्केर ओदाक्यु लाइनको अर्को रेल चढ्नुअघि हामीले जनही पाँच हजार छ सय एनका एकएकवटा हाकोने फ्रि पास किन्यौं । यो पासले हामीलाई नोबोरितो स्टेसनदेखि हाकोनेसम्म आईजाई गर्दा दुई दिनसम्म सवारी साधनको कुनै पैसा लाग्दैनथ्यो ।

ठिक छ बजे ओदाक्यु लाइनको अर्को रेल चढ्दा मानिसहरूको भिडभाड थेगिनसक्नु थियो । कोरोना सङ्क्रमणको पहिलो अध्यायलाई निकै बुद्धिमतापूर्वक पार लगाएर गतिशील बनिरहेको जापानी अर्थतन्त्र कोरोना सङ्क्रमणको दोस्रो अध्यायले चिन्तित थियो । जापानीहरूका मनमा घर बाहिर निस्कँदा कोरोना बोकेर फर्किने डर र चिन्ताले डेरा जमाएको बेला हामी पनि उस्तै भय र पिरले बेरिएका थियौं फनफनी ।

ओदाक्यु लाइनको रेल कति मिनेट चढ्नुपर्छ – रेलका झ्यालबाट देखिएजति दृश्य हेरेर मौन बसेकी कविताले मतिर फर्किएर मुख खोलिन् ।

एक घण्टा बाह्र मिनेट – मैले दुई सेकेन्ड पनि लगाइनँ उत्तर दिन ।

सरिता र आबे जापानी भाषामा निरन्तर कुराकानी गरिरहेछन् । नेपाली परिकारले परिपुष्ट एउटा झोला दुई खुट्टाका बिचमा च्यापेका छन् आबेले ।

मुकोगाओका युएन र सिन युरिगाओका स्टेसन हुँदै माचुदा स्टेसन पुग्दा पनि मानिसहरूको चाप घट्दै घटेन । टोकियो र त्यस वरिपरिका ठुला सहरहरूको बाक्लो जनघनत्वको साक्षी हो हामी चढेको रेल ।

गुडिरहेको रेलको दाहिनेतिरको झ्यालबाट हरिया डाँडाहरू देखिए लस्करै । डाँडाका टुप्पा टुप्पामा बादलका थेग्लाथेग्लीहरू उडिरहेछन् उत्तरी दिशा ताकेर । दक्षिणी मोहोडा भएर लम्पसार परेको फराकिलो फाँटमा आँखा नै तिरिमिरी हुने गरी घरहरू छन् हजारौंको सङ्ख्यामा । सुन्दर बस्तीहरू घेरिएका छन् हरिया रूखविरुवाहरूले । देब्रेतिर धान खेतीहरू टुप्लुकिन्छन् घरी घरी ।

छोटो दूरीबाट बगेर आएका खोलाहरू बाक्लै भेटिए । सफा छ ती खोलाहरूमा बगेको पानी । खोलामा फोहोर फाल्दैफाल्दैनन् जापानीहरू । अनि खोला कसरी फोहोर होस् । घिनलाग्दो होस् । आठ दस वर्षअघि देखेको दोलखाको सिंगटी बजार मुन्तिर तामाकोशी नदीमा फालेको फोहोरको रास सम्झिएँ मैले त्यो बेला । खोला र नदीमा फोहोर फाल्नेलाई दण्ड जरिवाना नगरी हुँदैहुँदैन । काठमाडौंका कुन खोला र नदी सफा छन् र ? मानिस आफैं नसुध्रिए वातावरण अधोगतितिर लाग्ने रहेछ ।

काइसेइ, कायामा, तोमिजु र होतारुदा रेल स्टेसनहरू साकावा नदीबाट आएको हावामा लपेटिएका थिए । घरी बाक्ला घरी पातला बस्तीहरू दायाँ बायाँ भेटिए निरन्तर । रातभरि पानी परेछ यतातिर । सडकहरू निथ्रुक्क भिजेका थिए । बाहिरी दृश्य र वातावरण थियो सफा र आँखा तानिरहने ।

हाम्रा ठिकअगाडि बसेकी एउटी जापानी युवतीले पुलुक पुलुक आँखा हुत्याई हामीतिर । के सोची कुन्नि उही जानोस् । गैरजापानी अनुहार बोकेका सरिता, कविता र म छौं लस्करै । आबे जापानी रैथाने भइहाले । युवतीको मनोवैज्ञानिक जगतमा पाकेका परिकारको वास्नाले छुन सकेन हामीलाई ।

आबे र कविता बोल्दै बोल्दैनन् । कविता जापानी भाषा नबुझ्ने आबे नेपाली । यी दुवैका कुराकानी अनुवाद गर्ने काम गर्छौं सरिता र म घरी घरी । देश छोडेपछि भाषिक समस्याले कति रन्थनिनुपर्छ । त्यो पर्ने र भोग्नेलाई मात्र थाहा हुन्छ । भाषिक समस्या परदेशी जीवनको पर्खाल हो । त्यो पर्खाल नाघ्न पढ्नैपर्छ । नोजोमु आबे नेपाली भाषा पढ्न लालायित छन् विगतदेखि नै । कविताको पनि उस्तै छ रुचि जापानी भाषा पढ्ने । तर यी दुवैले भाषा पढाइमा एकदुई पाइलाबाहेक हिँडेकै छैनन् ।

आजको मौसम कस्तो हुने हो दाइ ? – निकैबेर मौन बसेकी अमात्यका मुखबाट प्रश्न निस्कियो ।

बादल लाग्ने सुनिश्चित छ, पानी हल्का पर्नसक्छ – हिजो गुगलमा हेरेको हाकोनेको मौसम सम्झिएर जवाफ फर्काएँ ।

 बिहानको सात बजेर बाह्र मिनेटमा ओदावारा रेल स्टेसन पुग्यौं । तोकिएको समयमै गन्तव्यमा पुग्नु जापानी रेलको विशेषता हो । यो रेलले पनि आफ्नो धर्म छोड्दै छोडेन ।

आबेका हातमा झुन्डिएको झोला मैले बोकें । उनले नदिन निकै करबल गरे । तैपनि मेरो आग्रहलाई उनले अस्वीकार गरेनन् ।

ओदावारा रेल स्टेसन हुँदै टोकियोबाट पश्चिम जापानका लागि सिन्खान सेन अर्थात् बुलेट रेल चल्छ । यो रेल जापानको आर्थिक र प्राविधिक उन्नतिको प्रमाण मात्र होइन उनीहरूको उन्नति र गौरवको दस्तावेज पनि हो । ओदावारा रेल स्टेसनबाट हाकोने युमोतो रेल स्टेसन जाने अर्को रेल दस मिनेट पर्खिँदा एउटा पनि सिन्खान्सेन देखिएन ।

कवितालाई पहिलोपल्ट साइतामाको ओमिया स्टेसनमा सिन्खान्सेन देखाउन लगेको थिएँ । उनले पनि यो पटक उति रहर गरिनन् सिन्खान्सेन हेर्ने । एक पटक देखेको चिज र टेकेको भूमि पुन: हेर्न र टेक्न उति रहर गर्दिनन् उनी ।

सात बाइसको अर्को रातो रेल चढेर हामी हाकोनेतिर मोडियौं । कोरोनाको भयले मानिसहरू उति धेरै चढेको देखिएन रेलभित्र । अधिकांश डब्बाका आधाजसो सिटहरू खाली थिए । कोरोनाले पर्यटन क्षेत्रमा कति भयावह परिणाम निम्त्याएको छ त्यसको साक्षी थियो त्यो रेल । पर्यटक नगए करोडौं र अरबौं लगानी गरेका होटल र रेस्टुरेन्टहरू आर्थिक समस्याको दलदलमा भासिन समय नै लाग्दैन । यो समस्या संसारभरि व्याप्त छ ।

उत्तरपश्चिम दिशा ताकेर गुडिरहेको रेलका झ्यालबाट हरिया वन, दृढ भएर ठडिएका पहाडहरू र उज्यालो क्षितिज आँखामा ठोक्किए । ओसिमा टापु र सागामीको खाडीबाट आएको सिरसिर हावाले रूखका पातहरू नाचिरहेका थिए । हायाकावा नदीलाई देब्रेतिर पारेर त्यसकै किनारै किनार दौडिरहेछ रातो रेल ।

ओदावाराबाट हाकोनेइतावासी, काजामासुरी, इरिउदा हुँदै हाकोने युमोतो स्टेसन पुग्न हामीलाई पन्घ्र मिनेटभन्दा बढी लागेन ।

अग्लो पहाडको फेदमा थियो हाकोने युमोतो रेल स्टेसन । जापानीहरूले पहाडका फैदैफेद रेल कुदाएर मुलुकको आर्थिक गतिविधिमा उल्लेख्य प्रगति गरेका छन् । देब्रेतिर खोलापारिको युमोतो फुजिया होटल ग्राहकहरूको प्रतीक्षामा थियो । सुनसान होटलको पीडा त्यसकै ठिक तल्तिर बगिरहेको हायाकावा नदीको पानीको आवाजसँगै मिसिएको थियो । कोरोना महामारीको क्रूरताले होटललाई अठ्याइरहेको कुरा बुझ्न कुनै परिश्रम गर्नुपरेन मैले ।

हाकोने युमोतो स्टेसनबाट बाहिरिने बित्तिकै आबेका हातमा झुन्डिरहेको नेपाली खानेकुराको झोला सरिताले बोकिन् । कविता र म पनि पालैपालो बोकिरहेछौं अर्को एउटा झोला ।

स्टेसन मुन्तिरको सडकमा ओर्लिएर हामी चारैज नाले हेर्यौं वरिपरिका सुन्दर दृश्यहरू । प्रकृतिको काखमा भौतिक विकास थपिदिंदा विकट बस्तीहरूले कसरी मुहार बदल्छन् त्यसको उत्कृष्ट साक्षी थियो त्यो स्टेसन र वरिपरिको बस्ती ।

हाकोनेको अग्लो डाँडातिर उक्लने तीव्र चाहना बोकेर हामी बसको प्रतीक्षामा बस्यौं । फुजी हिमाललाई छेकेको थियो हाम्रै छेउमा ठडिएको डाँडाले ।

हाकोने एकदिनमा घुमेर सकिने ठाउँ नै होइन – नुवाकोटका केशव नेपालले दुई हप्ताअघि भनेको वाक्य सम्झिएँ मैले ।

जेजति भ्याइन्छ भ्याइन्छ, एकदिन मात्रै घुम्ने हो । हाकोनेबाट नौलो, चखिलो र ताजा स्वाद लिएर फर्कने चाहना मनको केन्द्रमा बसेको थियो ।