बा !
बा !
म्रिदङ्गा छाँगाको छेवैमा,
मैतबहादुरले चिरेका सालका बडेमाका थामहरु,
अनि लाम्पाते र करमका फल्याकहरु,
बिटो बनाएर
चोयाको काडे नाम्लो सेतै फुलेको कपालमाथि,
अनि मकाउन लागेको मेरुदन्डले अड्याएका ती काठका बिटाहरु
शुभाङ खोलाको थोत्रे पुलमाथिको,
त्यो नाकी उकालोमा
सालबोटे हुँदै
पटक पटक
ओहोरदोहोर, ओहोरदोहोर
तलमाथि तलमाथि
नथाकीकन,
तिमीले गरेका ती बाचाहरु,
अनी हाम्रो बालपन र हठिपनमा हाँसो देख्ने तिम्रा चाहनाहरु!!!
त्यो पुरानो कापीको पानामा
बुढेसकाले बिर्सन लागेका साहुका भाखाहरु,
माहिलीले लेख्दै गर्दा,
स्याक्क स्याक्क सिँगान तान्दै,
देब्रे हात टेकेर
छेउमा बसेको म,
सानो बालक
दश, बिस र पचास हजार गन्दै,
झन्नै लाख नै पुग्न लाग्दाका ती क्षणहरु,
तिम्रा ती चाउरी परेका निधारमा थपिएका तेर्सा चाउरीहरु
आमाका अत्यासहरु,
दाजुदिदीका डरहरु
सबैलाई एउटै आड भरोसा,
तिमी फेरि पनि नडराईकन
बिहानै आर्को नयाँ साहु खोज्न हिँड्थ्यौ
किनकि
फेरि पनि हाम्रो हठमा खुसी किन्नु थियो
तिम्रा ती कर्तब्यहरु,
बुढा बा आमा,
छोराछोरीको शिक्षा
अनि पाहुनाको सत्कार
म बल्ल बुझ्दै छु बा !
हरेक पटक स्टारलाइन डटेपनको सुइरो किन्न
एक रुपैया माग्दा कापेका तिम्रा हातहरु,
मलाई माफ गरिदेऊ बा,
मैले त्यसबेला तिमीलाई लोभी सम्झेकोमा,
मलाई माफ गरिदेऊ बा,
मैले त्यसबेला तिमीलाई मनमनै गाली गरेकोमा
मैले पनि पढ्नै, लेख्नै मागेको थिएँ
तर हरेक रुपैयामा तिम्रो लोटाभरिको पसिना भरिएको
म अबोधलाई पटक्कै ज्ञान भएन
मलाई माफ गरिदेऊ बा
तिमी कती खुसी थियौ होला,
जब छोरो १६ पुगेर होस्टेमा हैसे दिने भएको थियो,
कती खुसी थियौ होला,
जब तिमीले ‘हि हि’ गर्दै बन्चरो चलाएर सेतो सालको अकबरे ठुटो चिर्दै गर्दा,
छोरो पनि छेउमा बन्चरो चलाउने भएको थियो।
तिमीले काठको भारी बोक्दै गर्दा,
तिम्रो पिठ्यौमा भारी अड्याए पछि मात्र आफ्नो भारी बोक्ने भएको थियो
अनि चाहर पानी लगाउन
त्यो अनकन्टार खोल्सामा
अब एक्लै जानु परेको थियो
बा !!!
मलाई माफ गरिदेऊ,
म स्वार्थी बनेर,
तिमीलाई चटक्क छोडेर परदेसिएको
१७ वर्ष बितिसक्दा पनि
७७ वर्षको बुढो तिमी अझै घाँस, दाउरा गरेको
टाढा परदेशमा बसेर हेरिरहने म,
तिम्रा मकाएका हड्डीहरुलाई
मल्हम लगाइदिन नसक्ने म,
र
बा !
म केबल भातका सितामा रमाउने,
अङ्कगणितीय मान्छे,
मलाई भन न बा,
के तिमी मसँग खुसी छौ?
अझै पनि तिमी मसँग खुसी छौ भने,
मलाई पनि खुसी हुन सिकाईदेऊ न बा,
बा!
म त मलाई ‘बा’ भन्ने तिम्री नातिनीलाई
टाढा छोडेर,
मैले ‘बा’ भन्ने तिमीलाई टाढा छोडेर,
यो बिचित्रको प्रगति गर्दैछु बा,
मलाई भनिदेऊ न, मैले के गरेको भनेर,
मैले किन गरेको भनेर।
बा ! तिमीले म सानो छँदा
साथमा लिएर हिंडेजस्तो,
अहिले पनि लिएर हिँड न बा, मेरा कान बटारेर,
म त भौँतारिएछु बा,
कहिल्यै बाटो नदेख्ने गरी,
कहिल्यै मान्छे नबने गरी।
लेखकको सम्वन्धमा