February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

बुवाको माया

हामीले बुवा, बाबा, पापा, ड्याड  भनेर बोलाउँछौँ। सब्द फरक भए पनि, भाव र व्यक्ति एउटै हुनुहुन्छ। आज कुसे औँसी, बुवाको मुख हेर्ने दिन हो। “Happy Fathers day”  लेखेर सामाजिक सञ्जालमा बुवासँग टाँसिएर खिच्नुभएको सेल्फी तस्बिर पनि हाल्नुभएको होला धेरै साथीहरुले !

मैले कहिले पनि  बुवाका आखाँमा आँसु देख्ने मौका पाएको छैनँ । तर चाउरी परेको निधारबाट खल्खली बगेको पसिना, मेहनती हातमा उठेका ठेला लुकाउन सक्नुभएन बुवाले ! साँझ थाकेर कामबाट फर्किँएर, “एक गिलास पानि ल्याऊ त बाबु” भानी अराउँदा पानी ल्याउनुको सट्टा बाहाना बनाई टारेको या आमालाई पानी ल्याइदिनु भनेको सम्झिँदा अहिले नमिठो लागिरहेको छ।

मालाई बाल्यकालको धेरै सम्झना नभए पनि, आमाले बिर्सिनुभएको छैन।

“मलाई बुवासँगै एउटै प्लेटमा खाना नदिँदा खान नमानेको कुरा, बुवा घरको मूलढोकाबाट भित्र पसेको थाहा पाउनेबितिक्कै, टिभी हेर्न छोडेर, हतार हतारमा उल्टो कापी समाएर जोडेले पढ्ने नाटक गरेको कुरा म कहिल्यै बिर्सन्न।  

आमा भन्नुहुन्छ ,” एक दिन वहाँ कामले बाहिर जानलागेकै बेला तिमी रुन थाल्यौ । त्यसबेला बुबाले आफ्ना काखमा लिँदा चुप भएका थियौ।”

“बुवालाई अफिस जान ढिलो भएको होला त्यसो भए त आमा !”- मैले सोधेँ ।

आमाले मुस्कुराउँदै भन्नुभयो, “बाबाको सर्ट, तिम्रो पिसाबले भिजेको थियो । बाबा ले सर्ट फेर्न मान्नुभएन । ‘गर्मी मौसम हो, पसिनाजस्तै सुक्ला नि’ भनी निस्कनु भएको थियो।”

मलाई याद छ- दसमलवको गणितीय जोड सिक्नुको साटो चक-चक गरेकाले गालामा  झापड खाएको, सास थाम्दै रोएको । मैले सिसाकलम समाउन नखोज्दा तपाईँले फकाउँदै मेरो दाहिने हातका औँला समाई सिकाउनुभएको मलाई अझ याद छ बुवा। 

आमाले बुवासँग सोध्नु भएको थियो- “छोरालाइ के  बनाउनु हुन्छ नि ?” 

“एउटा बिउँ सप्रेर विशाल रूख बनी फल्न खोज्दा बिउले आफ्नो अस्तित्व खोज्दैन ।” – घुमाउरो पारामा बुवाले भन्नुभएको थियो ।

तर, तपाईंका छोराले बुझ्यो, बुवा । त्यही बुझाइले  पर्खालको आर्कोपट्टि गएर  भावशून्य  भई आफूलाई समाल्न त सकेँ तर आँखाका आँसु रोक्न मैले सकेको थिइनँ बुवा। 

काति सजिलै आफैलाई बिउ ठान्नुभयो बुवा अस्तित्वविहीन । त्यसैले त बुवा ! तपाईं मेरा मन र मस्तिष्कमा मात्रै नभई मेरो अस्तित्व र चेतनामा पनि झल्किनुहुन्छ।   

तपाईंले दिएको संस्कार र आशीर्वाद म कहिल्यै बिर्सन्नँ बुवा ।

मातृभूमि  र आकाशका तरालाई  ढोग्न कहिले पछि सर्ने छैनँ।  

म प्रकृतिक नियम, समय र मृत्युलाई जित्न असमर्थ हुँला, तर खुला आखाँले देखेका सपना जित्न, लक्ष्यमा पुग्न, अन्तिम सास रहेसम्म प्रयासरत रहने छु बुवा।    

मैले मायाको आर्थ सोध्दा “उडन् खोज्दा प्वाँख बनिदिने र उकाली चढ्न खोज्दा भर्याङ बनिदिने व्यति सँच्चा प्रेमी हो !” भन्नु हुन्थ्यो।

माया पानीझैँ हुदोरहेछ, तल तल बगेर जाने । तपाइँलाई मभन्दा प्यारो नाति-नातिना लागेझैँ, आफूलाई जीवनसाथी प्यारो लाग्नु म स्वभाभिक ठान्छु । तर पनि बुवा ! मैले तपाईंलाई आफ्नै अस्तित्वमा आफूभित्र नै पाएँ। 

“व्यक्तिबाट व्यक्तित्व बन्नू, बाबु” भन्ने तपाईंको अर्ती उपदेश मैले सम्झिरहेको छु ।

तपाईं मेरा जवानीको भर्याङ बन्नुभयो । म तपाईंको बुढेसकालको लठ्ठी बन्ने छु बुवा ।