मृत्युको जन्म
काँप्छ थरथर
सिरिङ्ग हुनेगरी जिउ
जब हुन्छ कल्पना मृत्युको
गलेर फत्रक्क हुन्छन् हातगोडाहरू
भारी हुन्छ आफ्नै मस्तिष्क
ज्योति गुमेको आँखाझैँ
कालो देखिन्छ
आँखैअघिल्तिरको दृश्य
छिनभरमै
परिणत हुन्छ शून्यमा
आफैले भोगेको संसार
उफ् !
सुन्दै कहालीलाग्दो
उदेकलाग्दो सम्झिँदैमा
दिमाग खल्बल्याउने
तिक्त अनुभूति
साँच्चै
भयानक हुन्छ मृत्युको परिकल्पना
न ठाउँ न परिस्थिति समान
किसिम हुँदो रहेछ मृत्युको पनि
जन्मेको दिनदेखि नै
पछि लागेको हो
मृत्युको कालो छायाँ
बुझ्ने भएदेखि नै
मृत्युको डर पसेको हो शरीरभित्र
एउटै आकार भएर पनि
बेग्लाबेग्लै अर्थ हुँदो रहेछ मृत्युको
जीवनभर बोक्न नसकेको अर्थ
दिएर जाने रहेछ मृत्युले
शरीर बाँच्नु मात्रै
होइन रहेछ जीवन
उमेर मात्रै बाँच्नुको पनि
नहुँदो रहेछ अर्थ
नजन्मेको भए
कहाँ हुन्थ्यो र मृत्यु
नहुने भए मृत्यु
कसले बुझ्थ्यो होला र
जीवनको महत्त्व
जीवनकालमै
मृत्युबोध गर्नेहरूले
सिँगारेका रहेछन्
यो धरालाई
यतिबेला
सम्झिरहेको छु म
कर्मले बाँचेका मोतीरामहरूलाई
र मेरै युग बाँचिरहेका
माधव घिमिरे, सत्यमोहन र झमकहरूलाई
लेखनाथ, सम र देवकोटाका आकृतिविम्बले
भरिएको छ मेरो मानसपटल
रिमाल, भूपि, भैरव र पारिजात
दशरथ, धर्मभक्त, शुक्रराज र गङ्गालाल
स्मृतिपत्रमा बसेका छन् लहरै
पृथ्वीनारायण, अमरसिंह, बलभद्र र भक्ति थापा
बिपी र मदन भण्डारीहरू
स्मृतिमा आइरहन्छन् घरिघरि
फरक रहेछ
जिउँदै मर्नु
र मरेर बाँच्नु
म खोजिरहेको हुन्छु
जीवन र मृत्युको शाश्वत अर्थ
यिनै मान्छेहरूमा
जो मरेर पनि बाँचिरहेका छन्
यतिखेर
जीवनको नजिक राखेर
अनुभूत गरिरहेछु म मृत्युलाई
मृत्यु-
जीवन शृङ्खलाको
अन्तिम विन्दु
र नयाँ जीवनको आरम्भ !
●
रचना : २०७७ श्रावण २९, बिहीबार
लेखकको सम्वन्धमा