मेरा बा
मलाई यो धर्ती हेर्ने आँखा दिने
बामे सर्दै उभिन
र तातेताते भन्दै धर्तीमा
गन्तव्यको पाइला सार्न सिकाउने
मेरा पैतालामा असारेका काँडा बिज्दा
आफ्नै मुटुमा किलो गाडिएझैं ठानी
ऐया भनिदिने
मेरा आँखामा आसु देख्दा
हृदयको कुनाबाट रसाइदिने
आफ्ना फुटेका कुर्कुच्चाबाट चुहिएको रक्त धारालाई बेवास्ता गर्दै
काँधमा राखेर मलाई
आकाश छुने सपना देख्न सिकाउने
आकाशजस्तै फैलिन सिकाउने
हुनुहुन्थ्यो मेरा बा ।
तपाईं मेरा वशिष्ठ हुनुहुन्थ्यो ।
क,ख, अ,आ र १,२ बाट
जीवन र जगतको पढाइ एवं
जीवन भोगाइका जोड़,घटाउ
गुणन र भागा सिकाउने पाठशाला हुनुहुन्थ्यो।
वाल्मीकि र वेदव्यासका सिङ्गो रामायण र महाभारत हुनुहुन्थ्यो।
मलाई कालीदास र देवकोटाका
दुष्यन्त – शकुन्तला र
मुना – मदनसँग साक्षात्कार गराउने
‘विश्वविद्यालय हुनुहुन्थ्यो।
बा !
तपाईं मेरो शब्दकोश मात्रै होइन
इनसइक्लोपेडिया नै हुनुहुन्थ्यो।
मलाई कोपिलाबाट फूल बन्न
फूलजस्तै र
जूनजस्तै बन्न
औँसीका कालरात्रीमा पौडिन
र डुङ्गा तार्न सिकाउने
एक स्वप्नद्रष्टा
एक कालद्रष्टा हुनुहुन्थ्यो।
व्यक्ति एक रूप अनेक
तपाईं काँधमा बा हुँदा
काखमा आमा र
चिमुसीका भाकामा
एक असल साथी हुन्थ्यो।
लेखकको सम्वन्धमा