September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

” बस्छु म त बुढिकन्ये बरु ” – गीत

तीन दशक नाघ्यो उमेर बिहे भा’छैन 
धेरै आए तर योग्य वर पा’छैन 
 
जन्मे हुर्के गाउँघरमै पढें सहरमा
एउटा गीत गाएँ मैले आफ्नै रहरमा
 
मेट्रिक पास गरेर क्याम्पस पढ्ने भैयो 
साथी सँगी सहरतिर डेरा बस्दै गैयो
 
फस्ट डिभिजन डिग्री पास गरियो
लोकसेवाको फारम पनि भरियो
 
जाँच दिएँ लिखित मौखिक इन्टरभ्यूमा पास
एउटै छोरी खान्दानकी ठुलो थियो आस
 
खाइयो जागिर अधिकृत भएर
दुखकष्ट झेलेर, झन्झट सहेर
 
कचकच गर्छन् बाबाले गनगन गर्छिन आमा
उमेर छँदै बिहे गर्नुपर्छ भन्छन् मामा
 
दाजुभाउजु काकाकाकी सबै फकाउने
साथीसँगी जिस्काउँदै सधैं सताउने
 
कोही आए जुँगामुठे, कोही बोकेदारी 
कोही आए तालुचिन्डे कोही जुल्फी कोरी
 
कोही आए मालबाँसे कोही जिली गान्टे
कोही आए पितलभुँडे कोही च्यान्टे भुन्टे
 
एउटा आयो पिलन्धरे खान न’पा जस्तो
अर्को आयो जतनतिघ्रे हन्तकाली जस्तो
 
एउटा आयो कारमा मलायाको लाहुरे
अर्को आयो चालिस काटेको सुन्तलेको चाउरे
 
भोलिपल्टै दुईटा आए हेर्दै सिन्के दाउरे
डिभोर्स भाको आयो अर्को दुई छोरीको बाऊ रे
 
पढेको होस् धेरै तर चढेको नहोस्
बरु लडेको होस् तर सडेको नहोस् 
 
गाँजा, चुरोट, जाँड, रौसी छुँदै नछुने
नहोस् फेरि गुड्खा खैनी नभई नहुने
 
गरी खाने इच्छा जाँगर भरिएको जोस् 
नभए नि धन उस्को मन ठुलो होस्
 
गहुँगोरे होस् हेर्दा अग्लो होचो ठिक्क
मीठो बोली मुस्कानसहित नपारोस् दिक्क
 
कालो केश सफा फेस राम्रो लवाई खवाई
यस्तै यस्तै आशा बोकी कहन्छु सवाई
 
रोजी गरुँ मन परेको छैन कोही हिरो
हेर्दा सबै टाइफिटिड्ड पढाइचैं जिरो
 
चियानास्ता गरी जान्छन् माग्न आउनेहरु
जे पर्ला हो बस्छु म त बुढिकन्ये  बरु ।।