February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

नेपाल बन्द र यात्रा

हुस्से र तुसाराले हिँड्न मुस्किल भइरहेको थियो । हुस्सेले कपाल पूरै भिजेको थियो । साथमा दुईटा झोला थिए ।  झोला पनि गह्रौँ भइरहेका थिए । उकालो बाटाले गर्दा दम बढ्दै थियो। निरन्तरको हिँडाइले खुट्टामा घाउ भएको थियो । बस्ने ठाउँ कतै थिएन । त्यस दिनका यात्राको सम्झनाले मात्र पनि अझै शरीर जिरिङ्ग हुन्छ।

कुरा २०६३ को हो । नेपाल बन्दको दिन थियो । विशेष कामले मैले जिल्ला फिदिम त्यही दिन नपुगी नहुने थियो । भोलिपल्टदेखि कर्फ्यु लगाउने कुरा थियो । हिँड्न डुल्न सायद नपाइने होला भन्ने डर थियो ।

केही किताब, आफ्ना कपडा र अन्य केही आवश्यक सामग्री लगाउँदालगाउँदै २ वटा झोला भरिए।

बिहानको चिसो सिरेटोमा ओरालो लाग्दै गर्दा पूर्वबाट आएका सूर्यका किरणहरूले धर्ती झलमल्ल पार्दै थिए । बाटामा एउटा खोलो तर्नुपर्थ्यो । जतिसक्दो चाँडो तरेर पारी पुगेँ । अब पालो थियो उकालो बाटाको । त्यही उकालो बाटो त्यो दिन पूरै हिँड्नु थियो ।

खोलो तरेर अलिकति मास्तिरसम्म पुग्दानपुग्दै पानी पर्न थाल्यो । प्राय छाता झोलामा हुन्थ्यो मेरो । छाता निकालेर ओड्नसम्म भ्याएको थिइनँ, पल्लो डाँडातिर ठुलो आवाज आयो । छाता पछाडि ढल्काएर हेरेँ। रूख, ढुङ्गा माटो सोरिएर ठुलो वेगसँग पहिरो जाँदै थियो। मुटु काप्यो । धन्न यहाँमाथिबाट आएन। मैले आफूभन्दा मास्तिरका डाँडालाई हेरेँ । कतै म हिँड्दै गरेको ठाउँमा पनि पहिरो जाने हो कि ! डरले मुटु छिटो छिटो दौडन थाल्यो । म पनि छिटो छिटो उकालो चढन थालेँ । श्वासप्रस्वासले वेगले चल्नथाल्यो । डर कत्ति पनि कम भएको थिएन । मुटुको धड्कन कम भएको थिएन । म दौडिरहेँ ।

छड्के पानीले आधा झोला भिजिसकेको थियो । भिजेको झोला शरीरको तातोले गर्दा बाफिएर ताप दिँदै थियो। २ घण्टा उकालो चढ्दा पानीले आधा भिजेको झोला पसिनाले पूरै भिजायो।

अबका यात्रामा केही नागीहरू थिए । उस्तो उकालो नभएकाले केही सहज होला जस्तो लागेको थियो । होटलमा केही खान पाइएला भन्ने आशा पनि थियो । तर त्यो दिन उल्टो भयो । बाटामा भेटिने सानातिना होटलहरू सबै बन्द थिए। बाटामा नै खाजा किनेर खाने भनेर घरबाट केही पनि बोकिनँ। त्यो दिनको मौसम पनि विपरीत भयो।

उकालो सकेर नागी अलिकति मात्रै हिँडेको थिएँ परबाट हुस्से यसरी आयो कि, लाग्यो त्यो मलाई नै आक्रमण गर्न आउँदैछ। अगाडि २ मिटर परको वस्तु पनि नदेखिने गरी। निष्पट्ट अन्धकारमा म एक्लो प्राणी लम्किरहेको थिएँ भोकै।

शरीरका पसिना शरीरमै लोप भए । शरीर गलेर लखतरान भइसकेको थियो । बस्ने ठाउँ कतै थिएन। हुस्सेको चिसो कानभित्रै जान्थ्यो । मुटु थरथर काम्यो । टाउकको कपाल पूरै भिज्यो । झोला भिजेर तौल बढेकोबढ्यै थियो । जुत्तामा पानी पसेर हैरान ! खुट्टा खोर्सानीलेझैँ पोलेको थियो ।

बडो सकसले सप्तमी बजारमा पुगेँ । केही आस थियो, त्यहाँ केही होटलहरू छन् जसले पेटमा कुदिरहेका मुसा मरुन् । तर, त्यहाँ पनि कुनै होटल खुलेका थिएनन् । एक जना पसलेलाई बोलाएर पसल खोल्न लगाएँ। मेरो पीडा सबै भनेपछि पसले दाइले भित्रबाट केही चाउचाउ, तातोपानी र विस्कुटहरू ल्याइदिए । एक गिलास तातोपानीमा बिस्कुट चोब्दै  त्यसरी खाएँ मानौं म धेरै दिनदेखिको भोको छु । पसले दाइले हेरिरहेका थिए । लाज भयो । आफ्नो खुवाइ आफैँ नियालेँ अनि बिस्तारै खान थाले । पसले दाइ फिस्स हाँसे र भित्र पसे ।

जुत्ता खोलेर मोजा निचोरेँ अनि फेरि त्यही लगाएँ । अरू विकल्प नै थिएन । झोलामा भएको मोजा कहाँ, कुन चेपमा परेको छ । त्यो खोज्न त्यति सजिलो थिएन ।

अबको मेरो यात्रा अझ कठिन हुनेवाला थियो । अब नागी सकिएर जङ्गलको बाटो थियो । उहिले बुवाहरू कुरा गर्नुहुन्थ्यो- त्यस जङ्गलमा त चोर लाग्छन् रे डाका लाग्छन् रे । त्यो कुरा मस्तिष्कमा घुम्नथाल्यो।

चाउचाउ र बिस्कुटको पैसा दिएँ। केही चाउचाउ झोलामा लगाएर लागेँ त्यहाँबाट ।

हुसे लागेर केही देखिँदैन थियो। घरी अगाडि घरी पछाडि हेर्दै मुटु थर थर कमाउँदै जङ्गलको बाटो जाँदै थिएँ । सुनसान जङ्गल चरा कराउँदा पनि सातो जान्थ्यो । अझ छेपारोले खस्य्राखुस्स्रुक गर्दा टाउको हुप्प फुल्थ्यो ।

बल्ल बल्ल जङ्गलको बाटो सकिएपछि शरीरमा अलिकति आशा पलायो । अब त बाँचेँ भन्ने भएपछि मन ढुक्क हुँदो रहेछ । मन ढुक्क भएपछि शरीर पनि अलिक तगडा भएजस्तो हुँदोरहेछ । कता कता मेरा शरीरमा शक्तिको सञ्चार भएजस्तो लाग्यो । अबका विकट सजिलै पार लगाउँछु भन्ने आशा पलायो ।

जङ्गलको बाटो सकिएपछि हुसे पनि हरायो । गाउँ देखियो । एउटा धर्मशाला भेटियो । बसेँ एकैछिन त्यहाँ । शरीर गलेर शिथिल थियो। एकछिनका आरामले शरीरमा शक्तिको सञ्चय भएछ । धर्मशालाप्रति कृतज्ञ भएँ ।

अलिकति कम मात्र भएको हो, थकान मेटिएकै थिएन, मैले गन्तव्यमा पुग्नैपर्छ आज भनेर हिंडे फेरि त्यहाँबाट । लगभग ३ बजे म राकें बजार पुगेँ । त्यहाँ पनि सबै पसल बन्द थिए । मलाई बन्दकर्ताहरूसँग रिस उठ्यो । बन्द-हड्तालले मुलुकको उन्नति होला जस्तो लागेन । बन्द-हड्ताल त मैजस्ता निर्दोष यात्रीलाई दुःख दिन मात्र हो भन्ने लाग्यो । मुलुके छिट्टै बन्द-हड्तालबाट मुक्ति पाओस् भन्ने कामना गरिरहेँ ।

एउटा पसलका बाहिरपट्टि बेन्च रहेछ । त्यसमा बसेर चाउचाउ खाएँ । त्यहीँ पानी मागेर खाएँ अनि फेरि हिडेँ । फिदिम जसरी पनि पुग्नु थियो मलाई ।

कान्छी दोकानबाट ओरालो लाग्दै गर्दा रात झमक्क परिसकेको थियो । मेरा हातमा लठ्ठी थियो । खुट्टा टेक्नै नहुने गरी दुखेको थियो । बेला बेला सडकको पेटीमा बस्थेँ एकैछिन अनि फेरि पुग्नु छ भन्दै हिँड्थेँ । हिँड्दैहिँड्दै थाकेँ, थाक्दाथाक्दै हिंडेँ । यो हिँडाइ नै जीवनको सङ्घर्ष हो, सङ्घर्ष नै जीवन हो भन्ने लाग्यो । यो हिँडाइ नै अन्तिम सकसपूर्ण हिँडाइ बनोस् । मुलुकमा शान्ति स्थापना होस् । बन्द-हड्ताल सधैँ सधैँकालागि बन्द हुन् भन्ने कामना गर्दै हिँडिरहेँ । बामे सर्दै हिँडिरहेँ । त्यो अँधेरी रातमा घिस्रिँदै, चिप्लिँदै, लड्दै कोठामा पुग्दा  रातको १० बजेको थियो ।