September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार

मेरा बस्तीमा आज

  सुनसान सहरको 
एक्लो यात्री म
पर
बिजुलीका तारमा देखिरेहेछु
माकुराको जालो
र त्यही जालामा अडिएका
अनगिन्ती स्वप्नाहरू ।
 
हावाको एउटा सानो झोक्काले
मजस्तै मेरै बस्तीका
कैयौँ म पात्रहरूका
सुनौला स्वप्नहरू उडायो
र ती अल्झिएका छन्
माकुराको त्यही जालमा ।
 
औँसीको रातभन्दा बढी अँध्यारामा
म देखिरहन्छु
बेफिक्री नाचेका
एक हुल धतुराकार सूक्ष्म जीवहरू
मेरा स्वप्ना चोर्नेहरू
मेरो बस्तीका स्वप्ना चोर्नेहरू
पूर्वमा देखिए
पश्चिममा पुगे
संसारलाई फन्को मारेर
पूर्वमै आई
एक तमासले उन्माद गाइरहेछन्
संसारलाई आफ्ना औँलामा नचाइरहेछन् ।
 
त्राहिमाम छ
मेरो बस्ती
मेरो मुलुक
र सिङ्गो विश्व
अँध्यारा कुनामा
दिन र रात उसैगरी गुजारिरहेछु म आज
उसैगरी गुजारिरहेछ मेरो बस्ती
अँध्यारामा अँध्यारा आँखाले हेर्दा
अँध्यारै संसार देखिँदो रहेछ
अँध्यारामा झिल्को पनि
मजाले चम्कँदोरहेछ ।
 
ए बस्तीबासीहरू !
अब, मन सम्हालेर
मन दरो बनाएर
उठ्नुछ हामीले
मनको फिलिङ्गो झलमलाई बलोस्
बस्तीको अँध्यारो क्षितिजपारि भागोस् ।
 
पर्ख, भाले बास्नै लागेको छ
केही समयपछि पूर्वी क्षितिजमा
सूर्योदय हुनै लागेको छ
सूर्यका किरणझैँ द्रुत गतिमा
दौडनुछ हामीले
त्यसैले
हडबड नगरौँ
अझ केही क्षण
शक्ति सञ्चय नै गर्नुछ
किनभने
बस्तीको यो सुस्तपनलाई
अघि दौडाउनुछ
प्रगतिका मूलहरू
हाम्रै बस्तीलाई पर्खिरहने छन् ।