November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

तिमी र म

  तिमी र म अनि म र तिमी 
त्यो साँझ भेट नभएको भए,
तिम्रा कोमल हातहरूले मलाई स्पर्श नगरेको भए,
सायद तिम्रो कुमारीत्वको शेष रहने थियो ।
थाहा छैन तिमीले के गुमायौं र मैले के पाएँ ?
 
तिमी यौवनको उन्मादले तातिएकी थियौ
म पुरुषत्वको अहमताले मातिएको थिएँ  
क्षणिक सन्तुष्टिका लागि तिमीले कुमारीत्व बेच्यौ
हामीले पुरुषत्व र कुमारीत्व साटासाट गर्‍यौँ
थाहा छैन, तिमीले के गुमायौं र मैले के पाएँ
के तत् क्षणलाई तिमी प्रेम भन्ठान्छ्यौ ?
यदि प्रेम हुन्थ्यो भने चित्कार किन आयो ?
चित्कार युक्त सन्तुष्टिमा प्रेम कसले पायो ?
अब भन तिमीले के गुमायौं र मैले के पाएँ ?
 
तिमी यौवनलाई प्रेम भन्छ्यौ र कुमारीत्व सुम्पिन्छ्यौ
हरदम म तिम्रै कुमारीत्वमा पुरुषत्व पोख्ने दाउमा रहन्छु
अक्सर हामी प्रेमलाई जोवनसँग जोड्छौँ
कतिपय यौवनले उन्माद भएका हामी
नाता, सम्बन्ध र मर्यादा तोड्छौँ
उन्मादमा प्रेम हुँदैन,
प्रेममा उन्माद नहोस्
प्रेम त निश्चल, निष्पाप र निस्कलङ्क हुनुपर्छ
साँच्चै प्रेमी-प्रेमिका बन्ने भए बुद्ध बन्नुपर्छ ।