धेरै दिन भयो, हराइरहेको भान हुन्छ कता कता केही गर्नुछ, बोल्नुछ, लेख्नुछ जस्तो लाग्छ, तर सक्दिनँ, केही बोल्न,लेख्न र गर्न खै केले रोक्छ मेरा, आवाज, कलम र हातहरूलाई अनि दिक्क लागिरहन्छ,असमानताप्रति ।
किन शिशु गर्भमै रुन्छिन् ? किन नामकरणमा सात र एघार दिन ? प्राकृतिक कुरामा छुवाछुत किन ? पराइ घरको आँगन उनैलाई किन ? शिक्षाको सागरमै विभेद किन ? चार दिवारको कार्यबोझ उनैलाई किन ?
महान् धर्ती, सुशील, सहनशील भन्दै, ममता, सृजना, अज्ञानता, र बाध्यताको दुरुपयोग किन ? मन लाग्छ- हजुरामा, आमा, म र मेरी छोरीका सपनाहरूमा, धार्मिक ग्रन्थ, समाज र सोचले कठपुतली बनाएको कथा बाच्न,
महिलाको शत्रु महिला भन्न सजिलो कसरी भयो ? सोचिएको छ र कतै- महिलालाई महिलाकै विरुद्ध बोल्न केले सिकायो ? सामाजिक, आर्थिक, लैंगिक र जातीय विभेद निम्त्याएको, जड खोज्नको सट्टा सतहमा विवेक र कर्तव्यको कथित ज्ञान खन्याएर हामी नै सबथोक भनिरहँदा, आफ्नै सृष्टिकर्ता जननी, सहयात्री र आफ्नै अपमान हुन्छ भनेर किन बुझ्दैनौं हामी ?
मेरा आवाज, कलम र हातहरू रोक्ने कारण कतै, त्यही धार्मिक ग्रन्थ, समाज र सोचले कठपुतली बनाएको कथा त होइन ? सोच्न विवश बनेकी छु म ।।
लेखकको सम्वन्धमा