January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

शब्दहरूको क्रन्दन

परिकल्पनाको कुहिरोभित्र कतै
म आफूलाई पनि एक कवि देख्छु
शब्दहरू सँगालिरहेको
ठिक त्यसैगरी जसरी म सानो छँदा
मेरी आमाले सँगाल्थिन्
आफ्नो दिनभरिको ज्याला
मेरो भविष्यको लागि
 
तर म मेरा शब्दहरूमा
त्यो माया भेट्दिनँ
भेट्छु त केवल
एक भावशून्य अनुहार
एक अतृप्ति,
अनि विस्मय शब्दहरूको
 
यस्तो लाग्छ
मेरा शब्दहरू वर्षौँदेखि भोकभोकै छन्
कुपोषणले थलिएका
गरिबका सन्तानहरूजस्तै
मुरी फलाउने मिहिनेतले
माना पनि नपाउने किसानहरूजस्तै
 
मेरा शब्दहरू
वर्षौँदेखि भोकभोकै छन्
कतै शब्दहरू पनि अनसन त बसेनन्
डा. केसीजस्तै
अक्षरको खेती अनि
शब्दको व्यापार गर्नेहरू विरूद्ध
 
सायद आज मेरा शब्दहरूको
आँसु रित्तिएको छ
जसरी रित्तिन्छ आँसु प्रियसीको
साइँलाका यादहरूमा
सिरानीहरूमा अनि सपनीहरूमा
जसरी रित्तिन्छ सिउँदो
नियतिले पार्सल गरेको
अरबको बाकससँगै विपनीहरूमा
 
सायद आज मेरा शब्दहरूको
अस्मिता लुटिएको छ
जसरी लुटिन्छ अस्मिता
एक निर्दोष बालिकाको
सुनसान उखुबारीमा
 
तर शब्दहरूको यो क्रन्दन
अनि जनताको यो रोदन
कसले सुनिदिने
म त व्यस्त छु
कवि बन्ने होडमा
शब्दहरूलाई उपमा, मिथक
अनि बिम्बको पहिरन भिराउन
जसरी सरकार व्यस्त छ
सपना बाँड्नमा
 
त्यसैले त आफैलाई
शङ्का लाग्छ
बारबार लाग्छ अनि हरबार लाग्छ
न त यसरी कविता बन्ने छ
न त देश बन्ने छ ।।