September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

आमाको मन

तिम्रो मन्द मुस्कानको तृप्ति बोकेर,
मेरो मुटु तरङ्गित छ,
तिम्रो यो एउटै मुस्कान मेरो तालुदेखि पैतालासम्मका प्रत्येक कोशिकालाई,
झङ्कृत गर्दै ‘ता थै ता थै’ नचाउन सक्षम छ,
तथा म र मेरो आत्माका लागि,
जन्मजन्मान्तरसम्म सन्तुष्टिको कारक पनि,
तिम्रो गाँ गाँ गुँ गुँ रूपी सङगीतका ‘सा रे ग म’ सुन्न,
मेरा कान अनन्तकालदेखि प्रतीक्षारत रहेछन्,
तर तिम्रो रुवाइले चाहिँ मेरो सम्पूर्ण अस्तित्व निचोरेर,
एकैछिनमा खोस्ट्याउँछ,
यो के भएको ?
हिजोआज म आफू कम र तिमी धेरै भएकी छु ।
 
तिमीले मेरा गर्भमा बास लिनू,
थाहा छैन यसमा तिम्रो हात छ कि छैन,
तर मेरा लागि एक वरदान सावित,
म एक सन्तृप्त भिक्षुणी,
मेरो अस्तित्वको परिवर्तित रूप तिमी ।
 
मेरो मुटु तृप्त नै लाग्दथ्यो,
तर एउटा ठुलो नपुरिएको भ्वाङ यसैभित्र अटाएको रहेछ,
मेरा कानले यसरी केही सुन्ने प्रतीक्षा गरेको,
मलाई सुइँकोसम्म पनि दिएका थिएनन्,
तिम्रो मोहनी रूपका सामुन्ने,
सम्पूर्ण चिकित्सकीय पद्धति लाचार  बेकार,
मेरा आफ्नै अवयवहरू यसरी,
अव्वस्थित अनियन्त्रित ?
ए मेरी नानी,
यस्तो सम्मोहन प्रक्रिया कसरी आमाको पेटैबाट सिक्दै आयौ ?
मेरो विपना त ठिकै हो, चोरेर लग्यौ लग्यौ,
सपनासमेत चोर्ने,
तिमीले यस्तो टेक्नोलोजी कसरी बनायौ ?