December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

साँझ र रातको पर्खाइमा

 
म सबेरै उठ्ने बित्तिकै
फेरि त्यही साँझको खोजीमा तड्पिन थाल्थेँ ।
जहाँ निलो आकाश रङ्ग बदल्दै कालो बन्द
सूर्यलाई भोलिको निम्तो दिँदै बिदाइ गर्थ्यो,
त्यही साझ जसले उदार हुँदै ताराको चम्काइमा 
सूर्य जत्तिकै तेज अनि चमक थपिदिन्थ्यो  ।
त्यो साँझपछि घर घरमा बालिने बत्तीले 
मेरो मनमा पनि खुसीको उज्यालो दिन थालथ्यो ! 
अब दिनभरिको थकान मेटाउँदै 
भण्डार गरिएको अलिकति अन्न घटाउँदै 
भोजनमा तल्लीन हुन सङ्केत गर्दै थियो ।
अझ विशेष त्यो रातले कहिलेकाहीँ
भोक सन्तुष्टिमै अन्त्येष्टि गरी
अर्कै भोकको निवारण खोज्न थाल्दै थियो,
पस्किएको भात हेर्दै, मोबाइलतिर फर्किँदै 
खै के खोज्दै थिए चम्चा समाएका हातहरू ?
केही थप्न खोज्दै थिए भनूँ भने मन अघाइसक्यो ।
जसोतसो भातका सितालाई थालबाट किनारा लगाई
शान्ति खोज्दै थियो या शान्तिका हात ?
रात अब तामा टुप्पिएर गए सरि छिप्पिँदै गयो,
अनि ठ्याक्कै कतैबाट ट्याङ गरेको ध्वनि प्रस्तुत हुँदा
खै किन मनमा ज्वालामुखी प्रस्फुटन हुँदै लाभा निस्कन खोज्दै थियो,
मानौँ कुनै चमत्कार हुनेवाला थियो,
मूर्तिकारले जादु देखाउन खोजे जस्तो चमत्कार,
मन प्रफुल्ल भएको देखेर दिमाग प्रश्न तेर्साउन लाग्थ्यो ।
त्यो ध्वनि, जसले शरीरमा प्रकट गरेको कम्पन
साच्चै शान्तिकै रहेछ ।
शान्ति खोज्दै बिहानैदेखि मासु खोज्दै हिड्ने कुकुरसरि भौतारिएको
मेरो मगज, मन, मस्तिष्क शान्तिको एक म्यासेजले 
शान्तिकै भस्मभएर जलिसकेको थियो ।
मानौँ म अब म रहिनँ !
 शान्तिको अधीनमा अडिएको मन
 उनीतिरै जोडिएर टाउको मात्र मेरो ।
अब म्यासेज आउनु सुरुवाती बिन्दु,
 रात मलाई गिज्याउँदै भन्थ्यो, अब त खुसी छस् नि ?
मन फेरि भयभीत हुँदै गयो, समय ?
समय ? एक्छिन कसैले रोकिदेऊ न म उनीसगँ
गफ्फिएको बेला पनि संसारमा कुनै  चाल होला र ?
सिरक फ्याँकेर अब बरफझैँ ठन्डिएको शरीर 
म्यासेज हेर्दै खितिती हाँस्ने ओठ 
आखिर सब समयकै त कब्जामा थिए नि !
मनमा फेरि भोलि बिहान होला भन्ने द्वुविधा 
अनि उनमा जागेको निद्रा
सब खै किन मेरै पछि लाग्छन् जस्तो ।
हे ईश्वर ! एक्छिन त पख, उनीसगँ केही कहनु छ भन्दै गर्दा
अन्तिम म्यासेज आउँछ उनको 
“गुड नाइट” है अब सुतौँ ।
थाहा छ मनमा जलन छ, मलाई केही भन्नू छ 
तर समय ! समय कसले रोकिदिन्छ र? 
गफ्फिएको बेला पनि संसारमा कुनै  चाल होला र ?
हुन त घडीले मसगँ नाता तोड्दै 
आजलाई भोलि बनाइदिसकेको थियो,
म पख पख भन्दाभन्दै सूर्यका किरणलाई
नतमस्तक भएर नमन गर्न केही समय बाँकी हुँदा 
मजबुरी भनौँ या उनीसगँ हुन सक्ने सम्बन्धको दूरीले ?
हाँसे जस्तै गरी “गुड नाइट डियर शुभ रात्रि ” भन्दै अघि फ्याकेको 
सिरकलाई उनको कोमल वदन सम्झदै ठन्डिएको 
शरीरमा अलिकति गर्मी चढाउन खोज्दै
भोलि फेरि त्यही साँझको खोजीमा
अडिएर रातलाई चिच्याई चिच्याई पुकार्दै हुन्छु 
जहाँ मेरा अनिदो हुँदैका सपना अडिएका छन् 
जसरी पात रूखमा अडिएका छन्
जसरी रूख पृथ्वीमा अडान लिएर बाँचेका छन्
म पनि त्यसै गरी अडिएको थिएँ
शान्तिलाई मन, मस्तिष्कमा चाँडै अटाउने अडान लिएर !
फेरि अर्को साँझ र रातको पर्खाइमा ।
– सोमनाथ लुइटेल(श्री सरकार)
पुल्चोक क्याम्पस 
काडाघारी, काठमाडौ