साहित्य साधना

समय:  रातको १०:३० बजे 

स्थान: आफ्नै घर 

सधैं ९ बजे नै निदाइहाल्ने म आज साढे दश बजेसम्म पनि सुतेकी थिइनँ । आफ्नो सोचलाई अक्षरमा रूपान्तरण गर्न कहिल्यै नचाहाने तर आज कुन्नि के कुराले मलाई अगाडि धकेल्दैछ खै? किन हो आज मलाई कलम चलाऊँ लाग्यो ।

खाटमा पल्टिरहेकी म जुरुक्क उठेँ। भुइँतिर छरिएको मेरो एक दुईवटा किताब कापीहरू पल्टाएँ। कक्षा  १२ को जाच नदिईकन पनि म आनन्दले चार महिना छुट्टी मनाइरहेकी छु । बाँकी कापी किताब एक कुनामा चाङ लगाएर रखिएका थिए। । मानौँ  तिनीहरू कुनै रद्दीवालासँग जन तम्तयार छन्।

थपक्क म एउटा कापी र कलम लिन्छु । म कलममार्फत जवर्जस्ती आफ्ना विचार ओकलाउन खोज्दै छु । तर निकै कठिन छ ।  

कारण जेसुकै होस् । मैले मेरो मनको बाँध फुटाउनु नै छ । मेरा मनोभावना कलमका माध्यमबाट अभिव्यक्त गर्नु नै छ ।

म केर्दै र मेट्दै गरिरहेकी छु। तर पनि मेरा भावनाहरू सहज रूपमा प्रकट भएका छैनन् । शब्दहरूको भेल फुट्दै थियो तर मैले खोजेका ती शब्द अझै आएका थिएनन्।

चारैतिर आँखा डुलाउँदा मेरो आँखा टक्क अडिन्छन् एक किताबमा- ‘जीवन काडा कि फूल’। मन खोलेर हाँसेकी, खुट्टाले कलम समाएकी युवती छिन् त्यहाँ।  म त्यसमा के देख्छु ! मलाई थाहा छैन । मात्र डुब्दै जान्छु। मनमा अनेकौँ प्रश्न्नहरू आउँछन्, झमक घिमिरेको त्यो किताब देखेर । मलाई आफ्नो कर्तब्यको बोध हुन्छ ।

आफ्नो खाटमा पल्टिन्छु र सोच्छु। कति शब्दहरूलाई मात्र लक्ष्यबिना खेलाइरहने ! कहिलेकहीँ त  कुनै कृति पनि लेख्नुपर्यो भन्ने सोच आउँछ । कृतिले नै मान्छेलाई विश्वमा चिनाउँछ ।

धत् ! विश्वमा चिनिने विचार ! यो त अति नै भयो । ल भैगो, विश्वमै नभए पनि कमसेकम नेपालभरि त ख्याति पाइयोस् न । त्यस्का लागि म के गरूँ?   

झल्यास्स सम्झना आयो ‘अटोबायोग्राफी’ ! यही त हो नि प्रख्यात भनी चिनिने कृतिहरूको दाबेदार। प्राय अटोबयोग्राफी त प्रसिद्ध छन्, नेपालभरि र पुरस्कारको हकदार पनि यिनै कृतिहरू छन्।

आहा ! मदन पुरस्कार ! यो सम्झनाले मात्र पनि ममा अपार खुसी जाग्यो । मदन पुरस्कार प्रसिद्धीको उपनाम हो। म मदन पुरस्कार जित्न निकै लालइत भएँ । मदन पुरस्कारलाई त बेजोड कहानी चाहिन्छ। तर मसँग खै कहाँ छ र जोडदार कहानी ? न झमकको जस्तो सङ्घर्ष नै छ न त पल्प्साको जस्तो माया । ममा चिना हराएको मान्छे र बिनोद चौधरीको जस्तो ख्याति पनि छैन।  जीवनको १७औँ वसन्तमा पुगुन्जेल दु:खका छ्यणहरू या सुखका छ्यणहरू, कुनै सम्हालेर रखेकी थिइनँ। शायद कृति लेख्न चाहिने थाहा पएकी भए स्थायी रूपमा मनको कुनामा रख्थेँ होला । पहिले थाहै भएन।

सुखद कुराहरू लेखे पनि के लेख्नु, ती त ओझेलमा छन्। सुखद अन्त्यले न त मुनामदन नै दिएको छ, न त रोमिओ एन्ड जुलिएट नै दिन सक्छ। दु:खद कुरा लेखे पनि न म दोश्रो झमक नै हुन चाहन्थ्ये, न त दोस्रो हेलेन केलेर नै। हसाइ हसाइ पाठकलाई व्यङ्यको तितोपन ग्रहणयोग्य बनाउन सक्ने न त दोश्रो भैरव अर्याल नै बन्न चाहन्थेँ। किनभने सानैदेखि अफूलाई दोस्रो भनेको केही मन नपर्ने।

तपाईंहरूले पहिलो हुन नसकेर ठान्नुहोला। हुन पनि हो, पहिलो हुन कहिल्यै सकेकी थिइनँ। साथै दोस्रोलाई कहिल्यै पनि महत्त्व पनि दिइनँ।

अब तपाईं मसँग तर्क गर्नुहोला-“कहा यस्तो हुन्छ, पहिलो दोस्रो, तेस्रो या अन्तिम नै होस्,सबै महत्त्वपूर्ण हुन्छन्। भेदभाव कसैलाई पनि गरिँदैन।” त्यसो भए के तपाईं सगरमाथाको शिखरमा पुग्ने दोस्रो व्यक्तिको नाम भन्न सक्नुहुन्छ? या त चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्तिकै नाम? राष्ट्रिय परीक्षा बोर्डमा दोस्रो हुने विद्यार्थीलाई चिन्नुहुन्छ? कि विश्वकै दोस्रो होचो मान्छेको नाम बताउन सक्नुहुन्छ?  निशब्द हुनुभयो होला, हैन? हो यही कारण हो, जसले गर्दा मलाई दोस्रो बन्न पिटिक्कै मन नपर्ने। दोस्रो हुनुको मतलब तिमी सधैं एक विकल्प हौ प्राथमिकता कहिल्यै हुनसक्दैनौ। तिमी जे गर जसो गर, सधैं अरूको उपनामबाट चिनिने छौ। तिमी ‘तिमी’ भनी चिनिदैनौ र आफ्नो अस्तित्व गुमाएको अनुभव गर्ने छौ। त्यसैले जे लेखे पनि मलाई पहिलो बन्नुथ्यो, जे गरे पनि पहिलो नै बन्नुछ, पहिलो म नै बन्नुछ। यसलाई तपाईं घमन्ड सोच्नुहोस् या अहङ्कार नै। म नराम्रो मन्दिनँ। अफूले आफैलाई महत्त्व दिँदा कोही व्यक्ति घमन्डी वा अहङ्करी कहलाउछ भने त्यसमा म कुनै आपत्ति जनाउँदिनँ। 

हरे ! म त कृतिहरूका बारेमा पो सोचिरहेकी थिएँ, कहाँ घमन्ड र अहङ्कारमा पुगेछु। हैन, कुनै कृतिलाई प्रख्यातचाहिँ कसरी बनाउने? लेखूँ पनि त के लेखूँ?

झट्ट याद आयो पुरस्कार बिजेताको सूचीमा मैले मपाईं पनि भेटेकी थिएँ। के त्यसले काम गर्ला? आखिर मान्छे न हुँ मपाईं आइहाल्छ। तर गर्न भने मन पर्दैन। (खित्त हाँस्छु, भर्खरको कुरा सम्झेर।) आखिर चन्द्रमाको पिछा गर्ने चन्द्रमुखी भए जस्तै भैरव अर्यालको फ्यान म, मपाईं कसरी गरूँ? के सोच्लान् बैकुण्ठमा वास गरेका भैरव अर्यालले। खुस्बु उडाउने लेखक कसरी बनू ? जसरी कागले पार्ट्रिजको नक्कल गर्न खोज्दा आफ्नै हिँड्ने शैली गुमाउन पुग्यो त्यसरी मलाई मानिसको भेषमा दोस्रो काग पनि बन्नु छैन।

आखिर के छन् ती प्रख्यात मानिने कृतिहरूमा जसले काव्यको रस निचोरेर भोक, तिर्खा, मेटाउने अमृत पियाएको हुन्छ पाठकलाई। जसले पाठकलाई काला अक्षरको गहिराइमा डुबाएर सेता पृष्ठको कम्बल ओढाएको हुन्छ। जो मरुभूमिको कथा सुनाएर पाठकका आँखा रुझाई नदी बनाउन सफल छन्। जसले उराठ र अफैभित्र हरएका मानिसहरूका भावना फुटाएर भावनाको धनी बनाउँछ। र साहित्यको साधना गर्न  क्षितिजतिर डोर्याउछ।

ओहो ! बल्ल दिमागको बत्ती बल्यो। साहित्यको साधना। तर कोठाको बत्ती भने झ्याप्पै निभ्यो। साहित्यको साधना पो छुटेको रैछ ममा। साहित्यको साधना नभएर पो मेरा लेखहरूले असन्तुष्टि देखएका रहेछन् ।

धत् ! मुख्य कुरै छुटाएर शब्दहरूलाई लक्ष्यबिना अगाडि बढाइरहेकी रहेछु।

कोठामा चारैतिर अन्धकार छाए पनि मेरा मनमा उज्यालो दियो बलिरहेको आभास गरेँ मैले। साहित्यको साधना भनेको एक दुई दिनमै पूरा हुने कुरा त होइन। लेख्दै जाउँला, पढ्दै जाउँला, साधना बिस्तारै हुँदै जान्छ, के छ र? एकदिन त कसो आफ्नो सपना विपनामा परिवर्तन नहोला र?

कसो तितरबितर भएका शब्दहरूले वास्तविक अर्थ ल्याई निश्चित रूप नलेला त? हातमा भएको घडी बिप-बिप… बिप-बिप गरेर बज्न थाल्यो। रातको १२ बजेछ । अब त सुत्न पर्छ भन्दै सुन्दर बिहानीको आसमा आफू निदएको पत्तै पाइनँ।