यामानासीका अङ्गुर
अङ्गुरका एकनासे छहारी नै छहारी देखिए सडकका दायाँबायाँ।
यामानासी क्षेत्र फलफूल उत्पादनको राजा ठाउँ हो । त्यसमा पनि अङ्गुर खेती यहाँको पहिचान बनेको छ विगत धेरै वर्षदेखि ।
निकै व्यवस्थित रूपमा भ्रमणको चाँजोपाँचो मिलाएथे मोरिता कामाकुरा र योसिगावाले ।
चार देशका असीजना दुईवटा बसका ढोकाबाट लाइन लागेर ओर्लिएपछि हामी एउटा पहाडी ढिस्कोतर्फ उक्लियौं । हिल चप्पल लगाएकी जापानी अधवैंसे सेइनोलाई उकालो हिंड्नुपर्दा निकै कठिन भइरहेथ्यो । सेइनो स्वभावमा बढो रमाइली छिन् । फराकिलो र सहयोगी भावनाले भरिएको छ तिनको हृदय । एक पटक उनीसँग टोकियो किचिज्योउजीको एउटा होटलमा आयोजित रात्रिकालीन समारोहमा पनि भेट भएको सम्झना छ मलाई । त्यो बेला तिनले वियर पिएको देखेर म छक्क परेको थिएँ ।
ओओसाखा पनि अधवैंसे उमेरका छन् । उनी प्राय घुम्न जाँदा युवतीसँग हिंड्न रुचाउँछन् – कतै सुनेको थिएँ । तिनले त्यो कुराको सप्रमाण पेस गरिरहेछन् आँखाकै सामुन्ने । उमेरले आधा शताब्दी नाघेका उनी क्याप टोपी, कालो टिसर्ट, खैरो ज्याकेट र जिन्सको पाइन्टमा तन्नेरी ठिटाजस्ता देखिएका छन् ।
केहीबेर तेर्पे तेर्पे बाटो हिंडेपछि ठाडो उकालो सिंडी आयो । सिंडी चढ्नेहरूको लामो लर्को छ दुबैतिर । म छु लगभग बिचतिर । छेउको चाइनिज युवकको हात समाएर सेइनो उक्लिरहेकी छिन् निरन्तर । योसिगावा र आइजा पनि उक्लेको देखिरहेछु केही तल्तिर । लामो सिंडी चढेपछि हामी एउटा चिटिक्क परेको घरको आँगन हुँदै भित्र पस्यौं ।
त्यो भवन रहेछ अङ्गुरबाट बनेको वाइन आमन्त्रित अतिथिहरूलाई चखाउने ठाउँ । ससाना मादलजस्ता काठका भाडाहरूमा राखिएको वाइन आकर्षक लाग्यो मलाई । ती प्रत्येक काठका भाँडाबाट प्लास्टिकका गिसासमा हाल्न धारा बनाएर राखिएको छ । योसिगावाले सबैलाई इच्छाअनुसार वाइन चाख्न निर्देशन दिएँ ।
केही अम्मलीहरूले साना कपबाट दस पन्ध्र पटक थपी थपी खाए । मैले तीन चार कप खाएँ । फरक फरक स्वादका थिए हरेक भाँडाका वाइनहरू ।
यी सबै वाइन अङ्गुरबाटै बनेका हुन् त – नजिकै बसेकी सेइनोतर्फ प्रश्न हुत्याएँ मैले ।
भिन्न भिन्न जातका अङ्गुरबाट बनेका वाइन हुन् यी । त्यसैले प्रत्येक वाइनको स्वाद फरक फरक छ – उनले मेरो जिज्ञासा तुरुन्तै निवारण गरिन् ।
यता अङ्गुरको आइसक्रिम पनि छ – आइजाले मलाई हातले इशारा गरेर बोलाए ।
मैले तीनसय गोटाका चारवटा आइसक्रिम किनें । एउटा मैले र बाँकी तीनवटा आइजा, एचपी भण्डारी र लेखनाथ बोहोराको हातमा थमाइदिएँ । आइजाले नखान निकै करबल गरे । तर मेरो आग्रहलाई उनले इन्कार गर्न सकेनन् ।
अङ्गुरको आइसक्रिम मैले पहिलो पटक खाने अवसर पाएँ । छोरी र श्रीमतीलाई चखाउन पाएको भए । खुब याद आयो मलाई त्यो बेला कविता र इरानीको ।
देब्रेतिरको कुनामा बालाजुका सहदेव बोहोरा र नुवाकोटका दिनेश अर्याल स्वाद मानी मानी अङ्गुरको वाइन पिइरहेथे ।
२०७४ असोज २६ गते बिहिबारको दिन हलुका चिसोचिसो थियो मौसम । घाम र बादलले मध्यदिनसम्म लुकामारी खेलिरहे । वरिपरि होचा होचा पहाडहरूले घेरिएको छ यामानासी । बिचको होचो, अग्लो र समथर भूखण्ड निकै आकर्षक देखियो ।
दक्षिणी समुद्रबाट हन्डर खाँदै आएको हावाको एउटा झोक्का कानैनेर सुइँय गर्दै माउन्ट फुजीतिर गयो ।
सेतो सर्ट, कालो पाइन्टमाथि कालो रङको ओभरकोट लगाएको छु मैले । त्यसले आफूलाई हिँड्न कुनै असजिलो भएको छैन ।
वाइनका बोतल किने केही घुमन्तेले। कसैले अङ्गुरका चकलेट पनि किनें । मीना श्रेष्ठले दाइ खानू भन्दै अङ्गुरबाट बनेको एउटा चकलेट मेरा हातमा थमाइदिइन् ।
मैले आफू एक्लो भएकाले हेर्ने र बुझ्नेतिर ध्यान लगाएँ । किन्नेतिर उति धेरै चासो गरिनँ । नजिकैको गोदाम घुमाए वाइन कम्पनीका दुईजना कर्मचारीले।
अङ्गुरलाई एक वर्षसम्म काठको भाँडामा राखेपछि वाइन तयार हुन्छ – कम्पनीकै अधवैंसे जापानी महिला तोमोनोले सबैले सुन्ने गरी परिचय गराई ।
लामो समय पो लाग्दो रहेछ त – मनमनै तर्क गर्छु म ।
सबैले फोटाहरू खिचें । केही भियतनामी युवतीहरू युवकहरूसँग मस्किरहेका थिए । एउटी म्यान्मारकी तरुनी ओओसाकासँग लुटुपुटु गर्दै थिई । बाबु छोरीजस्ता देखिन्छन् ती दुई । तैपनि मौकामा छिटफुट लीला देखाइरहेछन् तिनीहरू ।
दाइ यो अङ्गुर खेती हेर्दा त पाँचथरका बारी र पाखाहरू हामीले चिनेकै रहेनछौं है – मेरो ठिक दाहिनेतिर उभिएका लेखनाथ बोहोराले गम्भीर भावमा बोले ।
फलाएर मात्र के गर्नु र भाइ सरकारले किसानको उत्पादनलाई खपत गर्ने वातावरण नै मिलाएको छैन – मेरो जवाफ थियो ।
कृषिक्रान्ति नेपालको वर्तमान आवश्यकता र चुनौती दुवै हो – छेउमै उभिएका काभ्रेका डिबी लामाले आफ्नो विचार पोखे ।
कृषिक्रान्ति र औद्योगिक क्रान्ति सँगसँगै हुनुपर्छ – मन्जु तामाङको तर्क थियो ।
दिउँसोको ठिक साढे बाह्र बजेको थियो । अङ्गुरको वाइन, आइसक्रिम र चकलेट चाखे पनि त्यो पर्याप्त थिएन । पेटमा मुसा दौडिन थाले बेस्सरी ।
पहिला बस राखेको ठागँमा ओर्लियौं सबै ।
यसपछि हामी कहाँ जान्छौं ?- मोरिता कामाकुरालाई सुटुक्क सोधें ।
खाना खान जान्छौं – मोरिताको उत्तरले पेट भर्ने आशा जाग्यो ।
हुन पनि बिहानको खाना खान अबेला भइसकेको थियो । घरतिर हुँदा बिहानको खाना नौ बजेको आसपासमा खाइन्थ्यो । बिहानको खाना दिउँसो एक बजे खानलाई त घरमा श्राद्धकै दिन परेको हुनुपर्थ्यो । नत्र त दिउँसोको खाजा खाने समय हुनेबेला भयो नेपालमा त ।
बसले बिस मिनेटमै खाना खाने ठाउँमा पुर्यायो । गासुतो क्याफेका आरामदायी सोफामा बसेर मजाले बफे लन्च गर्यौं । जापानी खानाका अनेकौं परिकारसहित व्यवस्थित रूपमा पेट पूजा गरियो । मैले चिकेन र मिठाइका परिकारहरूमा अलि बढी नै बल गरें ।
मेरो सामुन्नेतिरको पल्लो कुनामा अमेरिकन झन्डाको लोगो भएको खैरो ज्याकेट लगाएका ओओसाखा दुईवटी भियतनामी युवतीहरूका बीचमा बसेर गाला फुलाउँदै खाइरहेका थिए ।
करिब पैंतालिस मिनेट चल्यो खानपान कार्यक्रम । हामीले बस पुन समात्यौं र तिस मिनेटपछि अङ्गुरको विसाल बगैंचाका सामुन्ने पुगेर झर्यौं ।
एकएकवटा प्लास्टिकका थैला बाढ्यो बसबाट ओर्लिना साथ एउटा थोते जापानी बुढाले । नजिकैको ठुला तीनवटा बाल्टिनमा सयौंको सङ्ख्यामा कैंचीहरू राखिएका थिए । एकएकवटा कैंची टिप्न लगायो त्यसले । कैंची र प्लास्टिकको झोला किन बोकायो त्यसले ? कारण नबुझेर सबै अलमलमा पर्यौं ।
उसले पछि पछि आउनु भन्यो र ऊ आफूचाहिँ अगाडि लाग्यो । हामी पनि उसकै तालमा पाइला चाल्दै पछि पछि लाग्यौं । सानो पिच बाटोका दाँयाबाँया अङ्गुरका चाङहरू देखिए लोभलाग्दा । सिमेन्टका पिल्लरमा फलामे तारको जालीको छानो थियो । त्यसैको माथि अङ्गुरका लहरा र पात फैलिएका थिए । अङ्गुरका झुप्पाहरू जालीको प्वालबाट तल तुन्द्रुङ्ग झुन्डिएका छन् । ती झुप्पालाई कागतको थैलोले ढाकिएको छ ।
जापानी बुढो निकै छिटो हिंड्यो । कतिपय ठाउँमा त नभेटेर दौडियौं हामी । आकाशमा बादलका काला मुस्ला छन् । पानी चुहिएला झैं भएको छ ।
हामीलाई किन दौडाएको – नजिकै गएर त्यसलाई सोधें ।
पानी पर्यो भने अङ्गुर लिएर फर्कन भ्याइँदैन भनेर -उसले जवाफ फर्कायो ।
हामी यहाँ अङ्गुर खान आएका हौं ?- मैले पुन उसैलाई सोधें ।
यहाँबाट सबैले एकएक झुप्पा अङ्गुर घर लिएर जान पाइन्छ । अनि हाम्रो अफिसअगाडि पुगेर त्यहाँ राखिएका विभिन्न रङ र स्वादका अङ्गुर अघाउन्जेल खाएर जान पाइन्छ – त्यसको कुराले आश्चार्यमा परें ।
पैसा कति तिर्नुपर्छ नि ? – मैले पुन जिज्ञासा पोखें ।
पैसा लाग्दैन । पाहुनालाई हामी अङ्गुर दिएर स्वागत गर्छौं – बुढाले जवाफ दियो ।
उसको कुरा सुनेर मेरो उसप्रतिको दृष्टिकोण सर्लक्कै उल्टियो । यति धेरै मानिसलाई एकएक झुप्पा रोजेर घर लान पनि दिने अनि अघाउन्जेल खान पनि दिने कुरा सामान्य थिएन । व्यापारिक आँखाले हेर्दा उनीहरूलाई असी नब्बै हजार सिधै नोक्सान हुने निश्चित थियो ।
हामीलाई उसले बगैंचा देखाइदियो । सबै भित्र पस्यौं र अङ्गुरको विसाल छहारीमुनिबाट एकएक झुप्पा रोजेर कैंचीले काट्यौं । हामी छिरेको छहारीमुनि चारवटा बोटहरू थिए । छहारीमाथि पुगेपछि कति धेरै फैलिनसक्दो रहेछ अङ्गुरको बोट ।
केहीले नेपाली युवाहरूले त्यो बुढाको आँखा छलेर झुप्पैमा मुख गाडेर पनि खाए ।
एकछिनमा अधाउन्जेल खानदिने भनेको छ । यहाँ किन खानुपर्यो ? नयाँ बोतलमा पुरानो रक्सी भनेको यहीँ होला – लज्जित हुँदै मनमनै कुरा खेलाउँछु म ।
विदेशी भूमिमा रहर वा बाध्यता जुनसुकै कारणले बसे पनि प्रत्येक नागरिकले आफ्ना काँधमा देशको इज्जत बोकेको हुन्छ । यस्ता कतिपय हाम्रा नेपाली दाजुभाइहरूको चरित्र हेर्दा सुन्दा संस्कार नसिकी संसार घुम्नुको अर्थ नहुँदो रहेछ भन्ने निष्कर्षमा पुग्छु म ।
एकएक झुप्पा अङ्गुर बोकेर हामी बस भएकै ठाउँतिर फर्कियौं । हामी फर्किनुअगाडि नै एउटा लामो टेबुलमा ठुल्ठुला बाह्रवटा भाँडामा विभिन्न जातका अङ्गुरहरू राखिएको थियो । हामीले इच्छाअनुसार अङ्गुर टिप्दै खायौं । टाउका माथि अङ्गुर सयौं झुप्पाहरू झुन्डिरहेका थिए । त्यो पनि अङ्गुरघारी रहेछ । अङ्गुरका झुप्पा पनि कैद हुने गरी भियतनामी केटीहरूले सेल्फी खिचे ।
त्यतिन्जेल पानी पर्न सुरू भइसकेको थियो । सिमसिमे पानीले चिसो बढिरहेको महसुस भयो । व्यवस्थित र व्यवसायिक खेतीको नमुना जीवनमा पहिलो पटक हेर्ने मौका मिलेथ्यो । कृषिक्रान्ति मुलुकको अर्थतन्त्र उठाउने मेरुदण्ड हो । स्कुलतिर पढेका कुरा आँखाले देख्न पाइयो । मैले त्यतिबेला मेरो देश सम्झिएँ । हामीसँग सम्भावनाका द्वारहरू कति छन् कति । हामीले तिनलाई खोल्न मात्र सक्नुपर्छ । रोजगारी घर छेउमै पाइन्छ । लेखनाथ बोहोरा, डिबी लामा र मन्जु तामाङले अघि भनेको कुरा पुन सम्झिएँ ।
यामानासी केन आफैंमा प्रकृतिले धनी थियो । त्यसमा पनि त्यहाँका मानिसहरूको मिहिनेतले ती पाखाभित्ताहरूमा फलफूलको अवतारमा पैसा फलेका कति हो कति । योकोहामा, साइतामा र टोकियोका मानिसहरूको जिब्राका टुप्पामा यामानासीका अङ्गुर र त्यसबाट बनेका जुस, वाइन र आइसक्रिमका विभिन्न स्वादले साम्राज्य जमाएर बसेका छन् वर्षौंदेखि ।
यामानासीबासीको पौरख नेपालका पहाडी पाखाभित्तामा खन्याउने हो भने अर्को पुस्ताले रोजगारीका लागि परदेशसम्म पुग्नै पर्दैन । मेरो सानो मगजले निष्कर्ष निकाल्यो ।
यामानासी क्षेत्र पूरै ढाकेर परिरहेको सिमसिमे पानीको पर्वाह नगरी अपरान्ह साढे पाँच बजे हामी बसबाट आआफ्ना गन्तव्यतिर फर्कियौं ।
लेखकको सम्वन्धमा