March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

यात्रा

 अनौठो लाग्छ उसलाई 
बाटो कहिल्यै नटुङ्गिएकोमा ।
 
थाहा छैन उसलाई
यात्राको कुन मोडमा छु भन्ने ।
 
सम्झन्छ ऊ आफूलाई
कुहिरोभित्र हराएको काग
गरिरहन्छ सङ्घर्ष निरन्तर
जीवनको गोरेटो
पत्ता लगाउनुछ उसले ।
 
औँशीको चकमन्न रातझैँ
अँध्यारा दिनहरूमा
एउटा निर्बलियो लाठीका सहारामा
बाटो खोजिरहेको छ ऊ ।
 
थाहा छ–
पुग्नु छ धेरै टाढा
निरन्तर चलाइराख्नु छ पाइला
पाइला !
यो दलदलमा भासिने पो हुन् कि !
समथर फाँटहरू कट्नु छ
पहाडका विकट चुचुराहरू नाघ्नु छ
सहयात्राको आशामा
उसलाई
विश्वास गरिहाल्ने वटुवा
पाउनै कठिन भो
स्वार्थले खर्लप्प निलेको यस संसारमा
निरर्थक जिन्दगीको अर्थ खोज्दै छ ऊ
अझै पनि अविराम गतिमा
कर्तव्यका पाइला चाल्दै छ ऊ ।