म एक मनभरि उमङ्ग, दृढ इच्छाशक्ति, सपना, निश्चय र निश्वार्थपन बोकेर, जनताको अनन्त दुख यातना र लाचारीपनको, सङ्गृहीत फिलिङ्गोका साथ, अघि बढेको झर्झराउँदो आगो ।
म बोलीमा आगो नै ओकल्छु, यो मेरो नभई जनतासँगै, पैँचो लिएको आगो हो, एकतृत, सङ्गृहीत तर परिष्कृत ज्वाला !
म यो एकत्रित ज्वाला पुन: जनतातिरै हुर्याउँछु, हनुमानलाई भित्री शक्तिको आभाष अरूले दिलाए झैँ, जनता आफ्नो शक्तिको उपभोग गर्छन्, झुल्सिन्छन् शासकवर्ग, कोलाहल हाहाकार ! दिशा परिवर्तन गर्दै खन्याउँछन् ती शक्तिपुञ्ज मैतिर, त्यसै शक्तिपुञ्जबाट शक्ति सञ्चय गरी, तन झुल्से पनि मन त अपराजेय पो बनेछ ।
मेरा शक्तिपुञ्जका अजस्र स्रोत, जनता जनार्दन, जनताको माया र शक्ति, मेरो भक्ति, जनताले सधैँझैँ आफूलाई रित्याउँछन्, पाँच वर्षका लागि ।
यो कस्तो आभाष हो, शक्तिको अजस्र स्रोत हिजोआज म आफैँ भएको छु, जनता फिलिङ्गो माग्न मसँगै धाउँछन्, तर, हिजोको डडेलो सल्केकै छैन, म बाँडूँ नै के ! त के, सञ्चित शक्ति पुन: जनतालाई बाँडेर, म रित्तिऊँ ? अहँ..... हुँदैन, कदापि हुँदैन, यो सञ्चित शक्ति वितरित भएमा, जनताका लागि बोल्ने कसले ? काम गर्ने कसले ? त्यसैले क्षमा गर्नोस् जनताहरू, तपाईँहरूकै उद्धारका लागि, मैले तपाईँहरूलाई केही नबाँड्ने, निश्चय गरेको छु, हिजोआज जनता पनि म आफैँ भएको छु, त्यसैले निर्णय पनि म आफैँले गरेको छु ।
लेखकको सम्वन्धमा