April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नसोचेको यात्रा- म्याङ्लुङ

घरको ताल्चा खोलेर भित्र पस्दा घडीले करिब बिहानको १० हिर्काएको थियो। बैशाख पनि अन्तिमतिर पुगेको हुनाले गर्मी निकै बढेझैँ लाग्थ्यो।

कलेज ब्याग टेबलमा राख्नासाथ फेनको स्विचमा हात पुर्याएँ, पङ्खाले आफ्नै गतिमा घुम्दै हावा छर्न सुरु गर्यो।

नजिकैको कुर्सीमा बसेँ अनि गोजीबाट मोबाइल निकाल्दै फेसबुक लग इन गरेँ । लग इन हुनासाथ देखेँ कि एक विद्यार्थी नेताले एउटा पोस्ट सेयर गरेका रहेछ्न्, माथि लेखिएको थियो “आइतबार र सोमबार दुईदिनका लागि सुकुना कलेज बन्द” अनि तल तस्बिरमा थियो एउटा लिखित नोटिस। बन्द भनिसकेपछि कारण जान्नतिर मन गएन।

भोलिपल्ट शनिबार थियो, आइतबार अनि सोमबार पनि कलेज नलाग्ने भएसि लगातार तीन दिन छुट्टी हुने भयो। तीन दिन त्यसै गर्मीमा बाफ्एर बस्नुभन्दा पहाडको शीतल हावा खान तेह्रथुमतिर जाने सोच जाग्यो।

भौतिक सुविधा, बिलासिता र सुखसयलको जिन्दगी बिताउन भनेर सहर पसे नि तरई बसे नि, सहरको ट्याँरट्याँर टुँरटँर बढेसि र तराईको गर्मीले धापिएसि पहाडका कुनाकन्दरा नै खुसीका मुहान बनेर याद आउने रहेछन् ।

दाजु-भाउजूसँग बसेको म । उहाँहरू अफिस गइसक्नुभएको थियो । अचानकको यात्रका कारण मैले औपचारिक रूपमा बिदा माग्न पाइनँ । मोबाइलबाटै दाजुसँग बिद मागेँ ।

सुकुना चोकमा धरान जाने गाडी पर्खिएँ । २/३ मिनेटपछि आयो एउटा । अगाडि सिसामा  ‘काकडभिट्टा- धरान’ लेखिएको रातो गाडी। हात उचालेर रोक्न इसारा दिएँ ।

म ढोकाबाट उक्लिनासाथ गाडीले गति लियो।

गाडीमा कसैसँग बोल्न खासै रुचि नलाग्ने भएकाले कसैको वास्तै नगरी चस्मा र इयरफोनलाई कानमै टेकाइरहेँ।

गाडी अघि नै भरिएको रहेछ बस्ने त हैन उभिने समेत ठाँउ साघुरो पाएँ । झोला राख्नसमेत ठाउँ थिएन । बोकेरै उभिएँ, ढोका छेउमै।

विराटचोक पुगेर गाडी रोकियो । २/४ जना ओर्लिए अनि अरू केही जना गाडीमा भित्रिए ।

गाडीले आफ्नो गति लियो। बिच बिचमा पनि अरू केही ठाउँ यात्रु ओराल्ने, उकाल्ने क्रमका साथ इटहरी चोकलाई फन्को मारेर उत्तरतर्फ लागेको गाडी केहीबेर रोकियो इटहरी गोर्खा स्टोरअगाडि।

केही मानिस ओर्लिए । गाडी अलि खुकुलो देखियो  यद्यपि बस्ने ठाउँ भने कतै थिएन । झोला राख्नेसम्म भने ठाउँ पाएँ ।  

सैनिक क्याम्पदेखि उत्तर तरहरासम्म सडक निर्माण कार्य हुँदै थियो, पुरानो रोडलाई बढाएर छ लेनको फराकिलो सडक ।

गाडी समान्य गतिमा निर्माणाधीन सडकका खल्टाखुल्टी तर्काउदै केहीबेरमा तरहरा होम्स पुगेर स्लो भयो । गाडी राम्रोसँग स्थिर पनि नभई सह-चालकले हतारहतार एक दुई जनालाई भित्र खाँदे ।

यो दृश्य पुलिसले भागिरहेका अपराधीलाई हत्तपत्त भेनमा कोचेर लगेझैँ लाग्यो मलाई ।

तरहरा कटेर जङ्गल छिरेपछि गाडी बेगले हानियो धरानतर्फ । मानौँ ड्राइभरलाई कुनै कामको हतार छ या त उसको कहीँको फ्लाइट छुट्ने वाला छ। उही तीव्रताका साथ गाडीले सेउती कट्यो । अनि पूरै जङ्गल छिचोल्दै केहीबेरमै धरान सहरको दर्शन गरायो।

ड्राइभरको अघिको हतारो अचानक हरायो । गाडीको गति एकाएक कम भयो। भानु चोक चोकको वरलाई आधा फन्को लाएर गाडी रोकियो। ढोका नजिकै उभिएको म झोला तानेर ओर्लिएँ।

लाहुरेहरूको सहर भनेर चिनिने पूर्वको सुन्दर नगर धरानको प्रमुख चोक हो- भानुचोक। दुई ठुल्ठुला वरको छहारी, बिचमा भानुभक्तको सालिक अनि उत्तरपूर्वमा रहेको घण्टाघरलाई देख्दा मात्र पनि त्यहाँको भिडभाड सब भुलेर बेग्लै आनन्दको आभास हुन्छ।

म्याङ्लुङका लागि गाडी छ\छैन बुझ्न् म रोड क्रस गरेर पूर्वतर्फ आएँ। आफ्नै हातको घडी छाडेर उत्तरतर्फको घण्टाघर हेरे ११:४० भएछ।

नजिकै एउटा ‘धरान-धनकुटा-वसन्तपुर-म्याङ्लुङ’ लेखिएको बस घ्यार घ्यार गर्दै थियो । अबको ५ मिनेटमा त्यो गाडी म्यान्लुङका लागि छुट्ने रहेछ । गाडी त्यत्ती मज्जाले भरिएको थिएन । झोला राख्ने मात्र हैन यसमा त बस्नेसमेत ठाउँ पाएँ- दायाँ पट्टीको अन्तिमबाट दोस्रो सिट ।
पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, भोजपुर अनि हिमाली जिल्ला सङ्खुवासभा जाने हरेक गाडी भानुचोकसँग बिदा लिएर मात्र अघि बढ्छ्न् । ती जिल्ला जान बिहान ५-६ देखि १२ बजेसम्म प्रायः घण्टा घण्टामा बस सेवा उपलब्ध हुन्छ यहाँबाट ।

ठिक ११:४५ मा पश्चिमतिर फर्किएको बस बिस्तारै उत्तरतर्फ अघि बढ्यो र सुरु भयो मेरो यात्रा तेह्रथुम(  म्याङ्लुङ) को।

अझै पनि पछाडिको सिट पूरै खाली थियो । प्रायः चाडपर्वका बेला यी बसमा कोचाकोच यात्रु हुन्छन् ।

मन्द गतिमा गाडी जिरो पोइन्ट पुग्यो र दायाँ मोडियो । अब सुरु भयो बाउन्न किमी मदन भण्डारी (धरान-धनकुटा) राजमार्ग।

गाडीले आफ्नो गति अलि बढायो। घुम्ती अनि मोडहरू सँगै झ्यालबाट आइरहेको हावामा मिसिएका शीतल कणहरूले पहाडी यात्रा सुरु भएको अनुभूत गराए।

गाडी मोडहरूलाई पच्छ्याउँदै लागातार उकालो लागिरहेको थियो। भेडेटार पुग्न २/३ वटा मात्र मोडहरू बाँकी थिए, एउटा मोड घुम्न लाग्दा आफ्नो गति अलि कम बनाएको गाडी अचानक घ्याच घ्याच गर्दै रोकियो अनि बिस्तारै पछाडि सर्न थाल्यो। ड्राइभरले आफ्ना नजिकै रहेका दुइटै खलासीको कानमा के फुक्यो कुन्नि ! एउटा ढोका छेउमा भएको ओट लिएर मन्द गतिमा पछाडि सरिरहेकै गाडीबाट एक्कसि ओर्लियो र आगाडिको पाङ्ग्रामा ओट राख्यो । फेरि  दुइटै खलासीले रोडका भित्तामा भएका दुइटा ढुङ्गा पछाडिका पाङ्ग्रामा राखे ।  गाडी पूरै स्थित भयो। अब ड्राइभर पनि ओर्लियो र आफूतर्फ अगाडिको पाङ्ग्रामा पनि एउटा ढुङ्गो लात्ती हानी हानी अढ्यायो। गाडीभित्र खैलाबैला मच्चियो । सबैका अनुहारमा एकाएक अत्यास छाएको देखेँ । सायद अरूले पनि मेरो अनुहार ख्याल गरेका भए त्यही नै देख्थे होला।

एउटा खलासी ढोकामा आएर करायो, “एक्छिन सबैजना निस्किनू त” यति भनेर ऊ ढोकामाथिबाट एउटा पोको पारेको कालो प्लास्टिक लिएर ओर्लियो।

एक एक गर्दै सबै यात्रु गाडीबाट ओर्लियौँ। ड्राइभरले भन्दा मात्र पो थाहा पायौं- गाडीको ब्रेक फेल भएको रहेछ । हल्का उकालो ठाउँ भएका कारण हेन्ड ब्रेकले गाडी रोक्न ठुलो मद्दत गरेछ।
सबैले लामो सास फेरे । ती सबैभित्र म पनि परेँ।
“आज सबै लक्की रहेछौं, धन्न यही ठाउँमा ब्रेक गयो,  भेडेटार कटेर ओरालोमा चाहिँ गएको भए आज के हुने थियो कोनि !”  ड्राइभरले सबैलाई सान्त्वना दिएझैँ गर्दै वास्तविक कुरो गर्यो। यो सुनेर, “आज हाम्रा दिन बलिया रहेछ्न्” भन्दै अघि आतिएर बिग्रिएको अनुहारलाई हल्का हाँसोले पोत्दै एक जना बा आफ्ना मान्छे भएतिर लागे।

चिरपरिचित हुन् या अपरिचित नै सबैजना एक झुण्ड भएर गफको माहोल बन्यो।

खलासी अघिको पोकाबाट सकेटजस्तो देखिने एउटा कालो टुक्रो निकालेर गाडीमुनि छिर्यो । ड्राइभर र अर्को खलासी निहुरिएर उसलाई नै हेर्दै थिए। एकछिनपछि गाडी मुनिबाट “नहुनेभो गुरु,  केटाहरू बोलाउनु पर्छ” भन्दै खलासी निस्कियो।

सबैजना ढिलो हुने भो भनेर आत्तिँदै हल्ला गर्न थाले ।  नआत्तिउन पनि कसरी ! त्यो नै त अन्तिम गाडी थियो म्याङ्लुङ जाने।

ड्राइभरले फोन गर्‍यो कसैलाई र भन्यो, ” दाइ, चाँडै एउटा गाडी र केटाहरू पठाइदिनु त, यहाँ भेडेटार पनि नपुगी गाडीको ब्रेक गयो।” उसले हामीलाई सम्झाउँदै भन्यो, “आधा घण्टा पर्खनुस् । गाडी बोलाएको छु त्यसैमा जानू तपाईहरू । म यसलाई बनाएर धरानै झर्छु आज।” सबैले उसलाई धन्यवाद दियौं ।

ऊ पनि मिसियो गफको त्यही झुण्डमा।

दुई जना केटाले मसिना ढुङ्गा खोजे अनि तितेपातीको मुन्टा निचोरेर रसले रोडको छेउमा बाघचाल बनाए । हामी उनीहरूको खेल हेरेर अर्को गाडीको प्रतीक्षा गर्न थाल्यौँ । खलासीहरू अलि पर्तिर धुवाँ उडाउँदै फोनमा ब्यस्त भए।

केटाहरुले दुई गेम बाघचाल सके । गफ गर्नेभन्दा बाघचाल हेर्नेको समूह ठुलो भैसकेको थियो ।

एक बजेतिर बोलाइएको गाडी आइपुग्यो र त्यसमा गाडी बनाउने भनिएका केटाहरू पनि।

पहिलेको गाडीबाट सबैले आआफ्ना झोला निकाल्यौ र पछिल्ला गाडीमा अघिकै आआफ्ना सिटमा बस्यौँ ।  ड्राइभरलाई “ल गाडी बनाएर राम्रोसँग जानुस् है” भन्दै मैले झ्यालबाट हात हल्लाएँ ।

सोह्र-सत्र वर्षकी जस्ती देखिने केटी अनि छ सात वर्षको जस्तो देखिने केटो (दिदिभाइ होलान्) मेरै सिटमा बसे । खलासी आएर भन्यो, “वसन्तपुर जानुपर्ने रहेछ उहाँलाई । आज अब अरू गाडी थिएनन् । त्यसैले लिएर आएँ । मिलेर बसिदिनु न है ।”
गाडी घ्यारघ्यार घ्यारघ्यार गर्न थाल्यो। खलासीले ढोकामा ड्याङ ड्याङ पार्यो । गाडीको घ्यारघ्यार कम भयो । गाडीले गति लियो।

सानो केटो अगिल्लो सिट समात्दै दिदीका अगाडि उभियो। अन्तिमको सिट वारपारै खाली थियो । पहाडको बाटो पछाडि गाडीले धेरै हल्लाउने र उफार्ने भएकाले म अघिल्लो सिटकै छेउमा बसेँ।

गाडीले मोडमा फन्को मार्दा केटाको टाउको अघिल्ला सिटमा ठोक्कियो । ऊ मुख बिगार्दै पछडि फिर्यो । केटी हाँसी । म पनि हाँसेँ, उसलाई ठोक्किएर भने हैन, उसको त्यो अनुहार देखेर। केटाले अनुहार यस्तरी बिगार्यो कि हाँस्न नचाहँदा नचाहँदै पनि म बाध्य भएँ । उसले सम्भवत: आफ्ना अनुहारका सारा तन्तुहरूलाई खुम्च्याएको थियो।

केटालाई बोलाएर काखमा लिएँ । आफूले लाइरहेको चस्मा उसलाई लागाइदिएँ। गोजीबाट निकालेर एउटा ह्याप्पिडेन्ट चुइगम दिदीभाइलाई नै दिएँ । केटाले ठोकिएको बिर्सियो।

उसको नाम निसान रहेछ। घर विराटनगर । घरनजिकैको कुनै बोर्डिङ स्कुलमा २ कक्षामा पढ्दो रहेछ । उनीहरू अहिले मावल वसन्तपुर जाँदै रहेछन्।

भेडेटार पुग्दा बहिर देखाउँदै केटो करायो “दिदी यो बजार त हामी अस्ति आको नि !”  केटी उसकी दिदी नै रहिछ भन्ने पक्का भयो।

“हो त !” भन्दै ऊ पनि बाहिरै हेर्न थाली।

“त्यो अग्लो खोलाचाहिँ कतिबेला आउँछ ?” केटाले फेरि सोध्यो। “त्यो खोला हैन बाबु,  झरना हो, अब एकछिनमा आउँछ ।” केटीले भनी।

उनीहरू नमस्ते झरनाको कुरा गर्दै रहेछन् । उनिहरू केही दिन पहिले मात्र त्यहाँ घुम्न आएका पनि रहेछ्न् ।

भेडेटार पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय स्थल हो । टाढा टाढाका मानिस त्यहाँ पुगी प्राकृतिक सौन्दर्यको आनन्द लिन्छन् ।

गाडी ट्राफिक चेकपोस्टअगाडि रोकियो ।  खलासी कुद्दै गएर गाडीको डिटेल दर्ता गरेर छिनमै आयो। ५ जना केटाहरू चढे गाडीमा र सरासर आएर बसे अन्तिमको सिटमा।

गाडी अघि बढ्यो र रोड छिचोल्दै केही मोड घुमेर रोकियो कार्कीछापको एउटा होटेलअगाडि । खाजा खुवाउन रोकिएको रहेछ।

घडीतिर आँखा लगेँ घण्टाको सुई १ मा र मिनेटको सुई २० तिर तेर्सिएका रहेछन् ।

मैले चस्मा लाइरहेको सटमा सिउरिएँ। केटो र म गाडीबाट ओर्लियौँ । केटी भने आइन।
गाडीबाट निकै जना एकसाथ आएका हुनाले होटलमा ठुलै भिड भयो। धेरै थरी खाजामध्ये केटाले चाउमिन  मन परायो। मैले दुई ठाउँ चाउमिन नै अर्डर गरेँ । केटाले झन्डै चाउमिनजति नै टोमाटो सस आफ्नो प्लेटमा हालेर खान थाल्यो । मैले थोरै चिली सस लाएँ।

केटालाई एउटा लिची जुस, केटीलाई पोट्याटो क्र्याकर र पानी अनि मलाई पनि पानी लिएर काउन्टरबाट बाहिर निस्कियौँ। उनीहरुका लागि खर्च हुने पैसा केटीले बसबाट ओर्लँदा नै दिइसकेकी थिई।

केटो ट्वाइलेटतिर कुद्यो ।  म उसैलाई पर्खेर गाडीको ढोकानेर उभिएँ।
गाडीभित्रबाट उही केटीको आवाज सुनेँ, ” तपाईंहरू कस्तो मान्छे ! गाडीमा तपाईहरू मात्र हुनुहुन्न । उः आमाहरू अनि हामी पनि छौँ ।  चुरोट खाने भए बाहिर गएर खानू नि।”

गाडीको सबैभन्दा पछडिको झ्यालबाट धुवाँ बाहिर निस्किएको देखेँ । भेडेटारबाट चढेका केटाहरू ओर्लिएका थिएनन् । धुवाँ उडाउने तिनीहरू नै रहेछन्। “चुरोट कस्ले खाको छ र ?  हाम्ले त चुरोट सल्काएर धुवाँ मात्र तानेको” यस्तै उरन्ठ्याउला कुरा गर्दै केटाहरू केटीलाई जिस्क्याउन थाले।

सानो केटो र म गाडीमा उक्ल्यौँ । ऊ सिटमा बस्यो । म उसकै छेउमा टाँसिएर बसेँ । गाडी बिस्तारै अघि बढयो । मैले केटालाई काखमा लिएँ ।

केहीबेर ओरालो लागेपछि एउटा मोड छेउमा गाडी नै गाडी थुप्रिएका थिए । छेउछाउ ४/५ वटा होटेल।

हामी नमस्ते  सिम्सुवा आइपुगेका थियौं।

हाम्रो गाडीले मोड काट्यो । मैले केटालाई पछाडिको सिसाबाट बाहिर देखाउँदै भनेँ, “उः हेर तिम्रो अग्लो खोला ।”  नमस्ते झरनाको सुन्दर छाँगो परबाट हामीलाई लोभ्याइरहेको थियो । उस्की दिदी हाँसी । केटो पछाडि नै हेर्दै थियो।

केटाले भखर जुस खाइसकेछ । ऊ बोतल झ्यालबाट बाहिर फाल्न खोज्दै थियो ।  उस्की दिदीले रोकी र बोतल लिई। गाडीमा डस्ट्विन थिएन । केटीले भाइलाई सम्झाई, ” झ्यालबाट बाहिर फाल्यो भने त्यस्ले सबैकालागि फोहोर गर्छ तर कसैले त्यो फोहोर सफा गर्दैनन् ।”

मलाई खुसी लाग्यो । हामी नेपाली पनि सफाइका लागि यतिसम्म सचेत भएछौँ । सबै यसै गरी सचेत हुने हो भने यसै त सुन्दर नेपाल ! साँच्चै हराभरा हुने छ ।

मुलघाटमा एक बिटो उखु किनेर छेउमा राखेँ । केटीले पनि एक बिटो लिई। केटालाई तमोर नदी चिनाइदिएँ ।

गाडी उकालो लाग्यो । धनकुटा नपुगुन्जेल केटालाई टमाटरको पोका पाइने गुठीटार र पात्लेको इटाभट्टी चिनाइदिएँ।

धनकुटा आइपुग्दा घडीमा तीन पनि कट्न लागेको थियो।

गाडी स्टेनतिर नगई जिरो पोइन्ट छेउमै मदन भण्डारी राजमार्गको सङ्घारमा उभिएर धनकुटा ओर्लिने केही यात्रुहरूलाई ओराल्दै अघि बढ्यो। भेडेटारबाट चढेका केटाहरू पनि त्यहीँ ओर्लिए।

गाडी कागते, निगाले, त्रिसुलेलाई पछाडि छोड्दै हिले आइपुग्यो । म भने ती ठाउँका बारेमा केटाका अनेक जिज्ञासा सुल्झाउदै थिएँ ।

नेपालको दार्जिलिङ भनेर चिनिने पहाडी सहर हो हिले। यहाँको तोङ्बा प्रसिद्ध छ । त्यसैले मुख्य चोकमा तोङ्बाकै स्तम्भ बनाइएको छ।

गाडी रोकिएका बेला केटीले झ्यालबाट तोङ्बाको फोटो खिची ।

चारवटा मत्वाली परेका अनुहार थपिए गाडीमा र अन्तिम सिटमा गएर बसे।

हिलेको मौसमले बेग्लै च्यालेन्ज दियो । झोलामा भएको विन्ड स्विटर नै भए नि निकालेर लाउन बाध्य बनायो।

रोडबाट हेर्दै मात्र पनि जाऊँ जाऊँ लाग्ने हिले टुप्पोको न्यु होराइजन रिसोर्टलाई पनि पछि छाड्यो गाडिले । हिले टुप्पामा जाने अनेक योजना बने पनि आजसम्म जान जुरेन मलाई ।

जोरपाटी, सिधुवा, चित्रेजस्ता बजारलाई पनि त्यसै छोड्दै वसन्तपुरमा आएर बस रोकियो। वसन्तपुर ओर्लने यात्रुहरूको लर्को सँगै सानो केटो र उस्की दिदी पनि गए।

केटो मेरो प्यारो भाइ बनेर गयो । म उसको दाजु भइसकेको थिएँ । केटी भने केटी नै भई । मैले  उसको नाम पनि सोधिनछु । म मात्र उसको अनुहारसँग परिचित भएँ ।

साढे चार भैसकेको थियो। वसन्तपुरबाट गाडी अघि बढ्यो । रातोपाटीका भित्ताहरू गुराँसका राता र चाँपका सेता फूलका रङ्गहरूले मन लोभ्याउने गरी पोतिएका थिए। लसुने नपुगेसम्म त्यहाँको हावाले नै दुई वर्षपहिले नयाँ वर्षमा साथीहरूसँग घुमेका ठाउँहरू धनरूपा पार्क, रातपोखरी, गुराँसको राजधानी तिनजुरे, पाथीभरा मन्दिर, आर आर गाडेन, कालापानी रिसोर्ट अनि पात्ले पोखरी सबैतिरका यादहरू ताजा बनाइदियो।

यी सबै रमणीय स्थलहरू संसारका पर्यटकहरूलाई लोभ्याउने आकर्षक पर्यटकीय केन्द्र हुनसक्छन् । यसकालागि प्रतिबद्धता र कर्मठ हातहरूको आवश्यकता छ । यससम्बन्धमा केही प्रयास भने हुँदै छन् । वसन्तपुरछेउ परम्परागत प्रविधि आदि संरक्षण हेतु निर्माण गरिएको चोलुङ पार्कलाई यसकै उदाहरणका रूपमा लिन सकिन्छ । यो पार्क आन्तरिक पर्यटकका बिचमा निकै लोकप्रिय बन्दै छ ।

छोटो दूरीमा छरिएका यी विभिन्न आकर्षक स्थलहरू विराटनगर-इटहरीबाट सजिलै भ्रमण गर्न सकिने हुनाले पनि पर्यटकका प्रिय बनेका हुनसक्छन् ।  

लसुने, पिङ्गुवा खोला, जिरिखिम्ती छिचोल्दै अधि बढेको गाडीबाट हलीमेलातिरको रमिता हेर्दाहेर्दै साँझको छ  बजेछ । गृहस्थहरू घरमा बत्ती बल्ने तयारीमा थिए । एउटा ठुलो बिरालो आफ्ना आँखा बालेर हाम्रो स्वागत गरिरहेको थियो। बिरालाकै छेउमा पुगेर हाम्रो गाडी रोकियो।

यही स्थान थियो म्याङ्लुङ, तेह्रथुम जिल्लाको सदरमुकाम । यस स्थानको नामकरणसँग गाँसिएको एउटा मुख्य पात्र बिरालो हो ।  त्यसैले म्याङ्लुङ स्टेनको बिचमा बिरालोसहितको स्तम्भ बनेको छ ।

Top of Form

Bottom of Form