February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

खोला

 झमझम पानी परिरहेछ, पानी बेस्सरी दर्किरहेछ
किनाराको निर्जन रूख, अहिले खोलाको बिचमा, सानसँग उभिरहेछ 
खोला उर्लिरहेछ, खोला बगिरहेछ
तिता मिठा सम्झनासहित अविरल।

५२ सालमा बासँग यही खोलाका छेउमा 
अन्तिम बात र अन्तिम भेट  
बा जानुभयो, हामीलाई छोडेर, खोला तरेर
राता मान्छेसँग बा भन्नुहुन्थ्यो,"म आउँछु परिवर्तनसँगै फर्केर।"    

म सोध्थेँ,"बा, के हो त्यो परिवर्तन?"
बा भन्नुहुन्थ्यो,"यो खोलामा पक्की पुल!"
तर न बा फर्कनुभयो न परिवर्तन नै
न बा न पुल, न परिवर्तन, खोला मौन।
 
समयको अन्तरालमा, खोलाले रूप फेर्यो
बन्यो तुइन, तुइन त बन्यो तर लग्यो, आफ्नो आयु !
मेरी दिदीसँगै स्कुल जान लागेका दिदीका सपनाहरू
चटक्कै चुँडियो, खोलाले झ्याम्म निल्यो, खोलाको आँत भरियो।
 
सान्दाइले अर्कै जातकी भाउजू ल्याए
यही खोला तारेर तर चार पाइला फर्कियो
किनारै किनार, चारपाटा मुडुलो, काँधमा सुँगुर
तीन प्राणी खोलापारी, खोला फेरि केही बोलेन।
 
बुढी मेरी आमा काँधमा दिनहुँ तामाको गाग्री 
खोलाको पानी हाम्रो परिवारको प्राण धान्ने सारथि
जिउँदै जलिन् पानी बिना, मेरी आमा बोक्सी रे !
दिन सकेन खोलाको पानीले प्राण, खोलो शून्य ! 
 
५२ सालका राता मान्छे अस्ति नै गाउँ आए
पहिलेका राता मान्छे अहिलेका सुकिला मान्छे
खोलापारी नै बसे, सुकिला मान्छे पुल बनाउछु भन्थे 
अनि के के हो के के, खोलामा खुट्टा खुसीले दौडियो, खोला गद्गद्।
 
न त बा फर्के, न कुनै खबर, न पुल बन्यो, न परिवर्तनको लहर
अस्ताए राता मान्छे नि,सूर्य अस्ताएसँगै, हिउँदमा खोला सुस्तायो
बगाउँदै मेरा यादहरू, खोलाको भेलसँगै, वर्षातमा खोलो उर्लियो 
कुनै दिन,परिवर्तनको लहरसँगै, खोलो अवश्य फर्कने छ।