January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

प्रकृति र तिमी

प्रकृति र अध्यात्मको फ्युजन तिमी
कल्पना र सत्यको सङ्गम तिमी
विज्ञानको अदभूत उत्पादन तिमी 
जसको शरीर आफैमा अटम बमझैँ लाग्छ 
यी टुक्रिएको हृदयलाई जोड्ने गमझैँ लाग्छ 
तिमी धर्म अनि म ऋषि 
तिमी स्वर्गमा आसीन अप्सरा 
म व्यासमा आसीन पुजारी
तिम्रो जवानी अनि खोलीको पानी,
सदैव सरल बनी बगिरहेको ।
आकाश अनि तिम्रो मर्यादा
अटल बनी उच्च रहिरहेको
भ्यागुता र तिमी उस्तै लाग्छ
परिस्थिति अनुरूप आफूलाई ढाल्ने
म परेवामा तिमी पाउने गर्छु
सुशील शान्त अनि सुन्दर रूप 
मलाई ती फूलको सुगन्ध 
तिम्रो पर्फुमझैँ लाग्छ
त्यो पोखरीमा देखिने छाया
तिम्रो तस्बिरझैँ लाग्छ ।
यो बगिरहने वायु 
तिमीले फेरिदिएको सास 
त्यसैले त हरदम सोच्छु
म तिम्रै कारणले बाँचेको छु 
लालीगुरासझैँ लाल 
तिम्रा मोहित ओठ,
चाँदनी र तिम्रो मुहार 
उस्तै लाग्छ दुवै हेरिरहूँ
अनि सूर्यको तेज
तिम्रा चम्किरहने आँखा
जसमा विश्व अडिएको छ 
जसमा म हराएको छु ।
तिमीमा सम्पूर्ण प्रकृति नै पाउँछु
त्यसैले त आँट गरेर भने प्रिय
मलाई प्रकृति असाध्यै मन पर्छिन् 
म प्रकृतिकै भरमा बाँचिरहेको छु ।