September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

फर्केर हेर्दा

 मानव सभ्यताको इतिहास नियाल्दा
आजको मानिस धेरै अगाडि रहेछ
हिजो धर्मको नाममा  पुण्य गर्नेले
आज विज्ञानको आडमा सत् असत् बिर्सिएछ
खाली पाउ पाखा पखेरा चहार्नेले
गलैँचामाथि चप्पल लाउने भएछ
फर्केर ह्रेर्दा, मानव जीवन नपत्याउने पो भएछ।
 
बालापनका रङ्गिन यादहरू,
फेसबुकका भित्ता सजाउने ‌औजार भएछन्
शुभ जन्मोत्सव र परम्परा जोगाउने चाडहरू
प्रतिस्पर्धामा बिक्ने सामानजस्ता भएछन्
प्रगतिको होडबाजीमा भोक प्यास बिर्सिएर
सन्तानले आफ्नै बाआमा नचिन्ने भएछन्
फर्केर हेर्दा पुराना विचार अब त नटिक्ने पो भएछन् ।
 
जन्मभूमिबाट सिकेका सुसंस्कारहरू
आधुनिक सहरको धुलोधुवाँ र कोलाहलमै मिसिएछन्
गाउँघरका अँधेरी पँधेरीले कुरिरहेको बाटो
उसका लागि पुराना र तुच्छ भइदिएछन्
घरका स्वच्छ, ताजा र शुद्ध खानेकुराहरू
रोग जगाउने विषादीसरी भएछन्
फर्केर हेर्दा, गाउँले जीवन उसका लागि नसुहाउने पो भएछ ।
 
माया, ममता स्नेह र दयाको भाव
केवल पद र पैसाको चाह भएछ
गुरुद्वारा सिकेका परोपकारी गुण
तर आज स्वार्थी र दम्भी भएछ
सात गाउँले चिन्ने उसका पुर्खा
उसलाई छिमेकीले पनि नचिन्ने भएछ
फर्केर हेर्दा, सहरिया जीवन मानवता विरोधी पो भएछ ।