स्वार्थी मान्छे
सालैपिच्छे बाढी र पहिराको
रोदनभरि दृश्यले मनै विक्षिप्त भएर गल्छ
बिनाकाँटी, सलाई नै यो मन
फेरि पनि खरानी भएर जल्छ ।।
दर्किरह्यो अविरल बर्खे झरी
रोकिएन आखिर कसैगरी
न झरी थामिन सक्छ
न माटाले थेग्न सक्छ
घरैसहित ठुलो पहाडै बग्दा
थिएन रे कोही सन्तान रूनलाई
रहेन रे कोही दागबत्ती दिनलाई ।।
प्रकृति यस्तो उद्दण्ड भएर किन
तिम्रो निर्दयी रूप पहिरोमा मिसाउँदै
खै कसरी जान सक्या होला
आफ्नो रिस लासहरूमा बिसाउँदै ।।
कहिले विपत्ति भु-कम्पको
आई लिन्छ ज्यान सबको
कहिले पहिरो पलाञ्चोक र बेनी
बाढी तराईमा फेरि बस्ती नभनी
प्रकृति र नियतीको लाठी सरासर
हेर्दैन जात, धन बर्सिन्छ बराबर ।।
हरदम अगाडि मृत्यु नाच्छ पलपल
तर स्वार्थ भरपूर अनौठो छ मान्छे
पाप, धर्म, इज्जत, स्वभिमान बेची
कात्रोमा नि गोजी चाहन्छ मान्छे ।।
लेखकको सम्वन्धमा