December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

इन्द्रेणी

मनमा मेरा पुतली बनी आएका विचार 
इन्द्रेणी बनी  क्षितिजमाथि टल्कँदो मुहार
लेखूँ म आज  झ्याउरे लय  कविता मायाको 
कोसेली तिम्रा ती याद मिठा सम्झना अतीतको। 
 
उपमा दिन सकुँला के म प्रकृति आधार
ती काला केश झुलेर छोप्छन् बदन निधार 
निधार अग्लो सम्थर मुहार गोरो छ गहुँझैँ 
परेली चञ्चल तल र माथि मयूर नाचेझैँ। 
 
गाजलु नयन सजेको बदन नागकी कन्याझैँ 
अधर रङ्ग गुलाबजस्तै पानीमा कमलझैँ 
दाँतका लहर टल्क्क टल्के मोतीको हारझैँ 
अत्तरलाई सुवास दिने सुगन्धी फूलझैँ। 
 
बुलाकी  झुल्यो नाकमा तिम्रो कानमा के हो नि ?
हातका चुरा छन्छनी बजे  मधुर धुन झिकी
औँलाले किन छेक्दथ्यो मुस्कान औँठी नि टल्कन्थ्यो
खुलेको रङ्ग मिलेका लुगा मन कतै अल्झन्थ्यो ।  
 
मुहार हो कि प्रकृति-पुस्तक अथाह ज्ञानको?
बुद्धका ज्ञान, उपदेश सारा तीँ हो कि बसेको ! 
कुरान, गीता, बइबलजस्ता ग्रन्थमा लेखेको
पढेर बुझेँ अपरम्पार महिमा प्रेमको !
 
इन्द्रेणी रङ्ग सजेको सात  प्रकाश सूर्यको 
इन्द्रेणी रूप  यौवन राम्रो  आशीष ईश्वरको 
मनले चोखो  नियाले हरेक इन्द्रेणी मुहार 
मिठास बोली, गहन भाव जूनझैँ मुहार।