June 25, 2025, Wednesday
२०८२ असार ११, बुधबार

नदेऊ दुःख सरकारलाई

 तल्ला घरे काकी बिरामी भइन् रे,
काका ! स्वास्थ चौकी लगिहाल
तर डाक्टर छैनन् रे नि,
त्यहाँबाट चुपचाप हिँड
एम्बुलेन्स त आउँदैन तिम्रो गाउँमा,
बाटो बनाएन सरकारले नभन है
यसमा सरकारको कत्ति गल्ती छैन
सरकार त निदाइस्याछ।

साच्चै ! चाँडो अस्पताल पो पुग्नु छ
मिलाऊ नाम्लो, काकीलाई बोक डोकोमा
असजिलो बाटो, खाल्टोमा खुट्टा पस्ला
सरकारलाई चाहिँ केही नभन है
राती पार्टी गरेर अबेर सुतिस्याछ
बरु एक लात्तो हान ढुङ्गालाई
अनि तताऊ बाटो।

अस्पताल पुग्यौ ?
जाँचे त काकीलाई ?
लौ ! बर्बद भो दाम चाहियो अरे !
सरकार ह्विस्कीसित सुकुटी चपाउँदै होइसिन्छ,
सरकार अलिक 'बिजी' होइसिन्छ।

गरिबीले गरेन उपचार,
छाडिन् काकीले सन्सार
तिमी एक्लै रोऊ, कराऊ
तिमी पुर्पुरो समाऊ, छाती पिट,
तर सरकारलाई 'डिस्टर्ब' नगर
सरकार झिजो मानिसिन्छ।

दुखी छु नभन है
विरोध पनि नगर,
हल्ला त गर्दै नगर, केही नबोल,
सरकार निदाइस्याछ।
सरकारले तिम्रो चिच्याह्ट सुनेपश्चात्
तिमीलाई पागलको संज्ञा दिसिन्छ
अनसन त झन् बस्दै नबस ल,
सरकारले त पात्रो हेरी तिम्रो मृत्युको दिन गनिसिन्छ।

त्यसैले त मैले भनेको मान अब
नदेऊ दुःख सरकारलाई
जयजयकार गर सरकारको।।