आमा! भन्दै आज तिम्रो स्पर्श म खोजिरहेछु मेरो मनको कुना कुना तिमीलाई नै रोजिरहेछु । भोकाए तिर्खाए छोराछोरी भनी पीर मानिरन्थ्यौ सुमसुम्याउँदै गला लगाई छातीभरि टाँसिरन्थ्यौ ।।
भोकैतिर्खै कति हिँड्यौ सन्तानलाई खुसी पार्न कति रूझ्यौ नाङ्गो ज्यान तिनलाई न्यानो पार्न । माया मात्र बगाइरह्ने कस्तो त्याग आमा तिम्रो सन्तानको सुख खुसी एउटै मात्र इच्छा तिम्रो ।।
उन्नति र प्रगतिमा तिम्रा खुसी शिखर चुम्छन् खुसी शिखर पुगेपछि आमा अझै माथि हुन्छन् । दिलभित्र सजाइराछु आमा तिम्रो तस्बिर आज तिमीसामु आउन पाइनँ मातातीर्थ औँशीमाझ ।।
जति टाढा भए पनि तिमी भित्रै हराँउछु दु:ख पीडा जे भए नि, 'आमा!' भनी कराउँछु । कति उच्च तिम्रो माया सगरमाथा शीर झुकाउँछ 'आमा! आमा!' भनी माया मनभित्र लुकाउँछ ।।
पोको पारी राख्यौ आमा तिम्रो माया कति कति जति दे नि नसकिने आकाशका ताराजति । अरू केही चाँहिदैन दुधको भारा तिर्न सकूँ सुख दु:ख साथमै बसी मलमपट्टी गर्न सकूँ ।।
(सन्दर्भ मातातिर्थ औँशी) रचना मिति: २०७७/१/१० बुधबार ।
लेखकको सम्वन्धमा