म त जीवित नै रहेछु
आज धेरैपछि
एक झोँका हावा आयो
नलडुन्जेल खुब हल्लायो
म लडेँ
तर मूर्तिसरी टुक्रिइनँ।
फूलको समीप छोडेर
पुतलीको एक हुल आयो
नाकको टुप्पोमा नाच्दै गर्दा त्यो
कुत्कुत्याइले ठुलै हाच्छिउँ गरिदिएँ
मुर्दासरी सहिन !
टुकीको टुप्पो बल्दै गर्दा
भित्ता छोपेको कालो धुँवा देख्दा
जलेको समयको कालो याद सम्झेँ,
बगरसरी अचेत बसिनँ
म रोइदिएँ।
कुकुरले हारालुछ गरे जस्तै मासुको चोक्टा
मेरो देशको, मेरो आमाको
चारैतिरबाट चिथोरिएको बदन
चिरा चिरा परी
बगौँ कि नबगौँ भनी बसेको रगत देख्दैछु
ढुङ्गासरी स्थिर बस्न सकिरहेको छैन
म काँप्दै छु।
मलाई कता कता पिरोल्दै छ
तुफानसरी दौडिँदैछ रक्तनली
तन्किँदै अनि खुम्चिँदै गर्दा फोक्सो
म श्वास महसुस गर्दै छु।
अहिले लाग्दै छ
आँधी ल्याइदिऊँ
लाग्दै छ उत्रिदिऊँ सङ्घर्षको मैदानमा
(सायद
सङ्घर्षले नै त मानिसलाई जीवित
तुल्याउँछ)
अहिले बल्ल लागिरहेछ
म मानव हुँ !
अबुई!!
म त जीवित नै रहेछु ।
लेखकको सम्वन्धमा