February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

हवाइजहाज चढेर हङकङतिर

रातको एघार बजे ड्रागन एयर भीमकाय विमानबाट हङकङतिर उडें म ।

लगातार विमानको प्यासेजमा हिडिंरहें र आफ्नो सिट पत्ता लगाएर बसें ।

२०७१, साउन ७ अर्थात् सन् २०१४, जुलाई २३ तारिखको मध्यरात मैले आकाशमार्गबाट नेपाललाई बिदा गरें । मलाई विमानस्थलसम्म पुर्याउन आएका उमा, राजु र रञ्जुको अनुहारमा मलिनता प्रष्टसँग देखिन्थ्यो ।

मसँगै यात्रामा सहभागी भाइहरू अनुपम, पूर्ण, निर्मल र सागर अनि बहिनीहरू निलम, राममाया र विनिताका मुहारमा पनि मलिनता स्पष्ट झल्किएको थियो । नेपालमा रहँदा पुरानो चिनजान नभए पनि एक महिना अगाडिदेखिको भेटघाटले हामीलाई एकआपसमा नजिक बनाएको थियो । अंकित उप्रेती एक सातापछि उड्ने तयारीमा थिए भने सहदेव केसी एक सातापहिले नै   उडिसकेका थिए ।

परिवारको सम्झना र यादले फतक्क पाकेको मन बोकेको थिएँ मैले त्यस बेला । नौ दिनकी सुत्केरी जीवनसंगिनी र सानी छोरीलाई छोडेर जापान उड्नु पर्दा ठुलो अपराध गरेको महसुस भइरहेथ्यो मलाई । आमाबुबा, परिवारका अन्य सदस्यहरू,  नातागोता,  छरछिमेक र साथीभाइहरूसँग भौतिक रूपमा टाढिएको पीडा र कुण्ठाको गाँठो झन् टिमिक्क कसिएको थियो । तीन दशक उल्लासमय वातावरणमा पत्तै नपाई बिताएको मातृभूमिबाट पितापुर्खाले पाइलासम्म नहालेको पराइभूमि जानु पर्दा पीडादायी भावनाको सागरका उत्ताल छालहरूमा सयौंपल्ट डुब्दै उत्रिँदै गरिरहन्छु म ।

यसअघिसम्म हवाइजहाजको यात्रा मेरा निम्ति आक्कल झुक्कल हुने यात्रा थियो । ससाना टुइनेटर विमानबाट विराटनगर काठमाडौं उडेको मेरो हवाइयात्रा अनुभवमा एयरबस यात्रा पहिलो पटक थपिन आएको थियो । यो आफैंमा रोमान्चक थियो मेरा निम्ति ।

मेरो सिट अगाडिको स्क्रिनमा आँखा र मन हुत्याउँछु र विमानसम्बन्धी विभिन्न जानकारीहरू लिन्छु ।

 देब्रेतिरको सिटमा बसेका अनुपम गिरीले कुममा कोट्याउँदै भने- कविता भाउजूलाई एक पटक फोन गर्नु भए हुन्थ्यो नि ।

मैले विमानबाट फोन गर्ने कुरा सोचेकै थिइनँ । जापानमा नेपालको मोबाइल नचल्ने हुनाले मैले बोकिनँ । गिरीले गीत सुन्न बोकेका रहेछन् । गिरीको सामसुङ मोबाइलबाट कवितालाई फोन गरें र उड्न लागेको जानकारी गराएँ ।

केही घण्टा पहिले म उनीसँग बिदा भएर निस्केको थिएँ । ट्याक्सी चढ्नै लाग्दा राम्ररी उभिन नसक्ने नौ दिनकी सुत्केरीले सानी छोरी बोकेर ‘ नानी बाबा जापान जाने रे,  बाईबाई गर्देऊ त’  भन्दै आफ्ना हातले छोरीको हात हल्लाएको दृश्य आँखाकै अगाडि नाँचिरहेथ्यो ।

सबैलाई म उड्न लागेको जानकारी गराइदिनु ल कविता- मैले गिरीको मोबाइलबाट यति मात्र भनें ।

 हुन्छ- प्रत्युत्तरमा उनले भनिन् ।

मैले फोन राखें। मन थाम्न गाह्रो भो त्यो बेला । हरियो रूमालले आँसु पुछें ।

 पारिवारिक बन्धन बढो विचित्रको माखेंसाङ्लो रहेछ । जोसँग टाढिएकाहरू पनि अधिकांश पछि जोडिन आउँछन् । म त गृहस्थी न परें । परिवारसँगको कसिलो भौतिक र आत्मिकमध्ये केही वर्षका लागि भौतिक साङ्लो खुस्काउन न्वारानको बल लगाउनु पर्यो मैले । विहे भएका दम्पत्तीको सुखदु:ख साटेर सँगै बस्ने उत्कट अभिलाषा हुन्छ । तर परिस्थितिको आँधीबेहरीले साथ नदिंदा त्यो सधैं सम्भव नहुँदो रहेछ । दसौं रेक्टरको भूकम्प गएको मनलाई काबुमा राख्न हजार कोसिस गरें मैले त्यो बेला ।

देशका सुविधासम्पन्न सहरदेखि देख्दै सातोपुत्लो उड्ने दूरदराजका विकट र विपन्न बस्तीहरूमा जोडिएका आस्था र भावनासँग टाढिनँ गाह्रो भइरहेको थियो मलाई । देशको राजनीतिक अस्तव्यस्तताले गलेको मन पनि त्यो बेला जन्मभूमितिरै लालायित भइरहेथ्यो । विमानस्थलको एउटा तालुखुइले कर्मचारीले अरब राष्ट्रतिर रोजगारीमा हिँडेको एउटा युवकमाथि जुन अभद्र र अशिष्ट व्यवहार गर्यो त्यो दृश्यले मेरो मन अमिलो भइरह्यो ।

कतिपय जिम्मेवार मानिसहरूको अशिष्ट व्यवहारले देशको इज्जत उकालो लाग्न सकेकै छैन- प्रिय भाइ अनुपम गिरीतिर फर्किएर मुख खोलें ।

 के कुरा हो दाइ – गिरीले प्रसङ्ग नबुझेर मैतिर प्रतिप्रश्न गरे ।

अघिको कर्मचारीको अमानवीय व्यवहारको कुरा गरेको नि – खुस्किएको जुत्ताको तुना मिलाउँदै जवाफ फर्काएँ ।

विमानमा विभिन्न देशका अनुहारहरूको प्रतिनिधित्व स्पष्ट देखिन्थ्यो । मेरा सिटअगाडिको सानो स्क्रिनमा आँखा हुत्याउँछु म । विमान बङ्गलादेशको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा केही क्षणका लागि अवतरण गर्ने छ । इन्धन भरिने छ र जहाज सोझैं हङकङका लागि उड्ने छ । ड्रागन एयरका सञ्चालकहरूलाई काठमाडौंमा किनेको तेलभन्दा ढाकामा किनेको तेल सस्तो पर्ने राम्रैसँग थाहा रहेछ । आखिर व्यापारी न परे । नाफा घाटाको कुरा त आइहाल्छ नि ।

 विमान धावनमार्गमा तीव्र गतिमा दौडियो र आकाशमा उडान सुरू गर्यो । काठमाडौं सहर तल देखियो र एकैछिनपछि आँखाबाट हरायो । मध्यरातमा जहाज जतिजति ढाकातर्फ बेगिएको छ उतिउति मेरो मनमा अनेकौं कल्पनाका बिम्बहरू र अतीतका यादहरू आवतजावत गरिरहेछन् । बाल्यकाल, युवावस्था, विद्यार्थी जीवन, जागिरे जीवन, विवाह, परिवार, साथीभाइ आदि आदि अनेकौं विगतका यथार्थहरू मनमस्तिष्कमा छमछमी नाँचे कम्मर मर्काएर । मेरो देशभित्र आर्जित ज्ञान र अनुभवलाई परदेशले सर्लक्कै निल्छ भन्ने पीर छ मनमा । पूर्वी दिशा ताकेर बेगिएको विमानको गतिसँगै बेगिएको छ मन । विस्मयले छपक्कै भिजेको मन बोकेर कल्पना र भावनाका सामुद्रिक छालमा डुब्दै तैरिँदै गरिरहेछु बारम्बार ।

एअर होस्टेज छेउकै प्यासेजबाट अगाडि पछाडि गरिरहन्छन घरी घरी । नहेरौंभन्दा पनि आँखा ठोक्किहाल्छन् तिनीहरूका शारीरिक रूप र सौन्दर्यमा । मानसिक र भौतिक संसारको स्वाद निरन्तर चाखिरहेछन् मन र आँखाले यतिबेला ।

विमानको गुइँय आवाज र यात्रुहरूका मधुरा आवाज मिसिएर ठोक्किरहेछन् कानमा । अधिकांश यात्रुहरू निदाएका छन् मस्तसँग । केही खेल खेलिरहेछन् । मचाहिँ अगाडिको स्क्रिनमा विमानको उडान क्षेत्र र गतिविधिमा ध्यान दिइरहेछु निरन्तर । निद्रा आउने छेकछन्द देखिएन कहीँकतै ।

जहाज भारतको पश्चिम बङ्गालमाथिको आकाशमा उडिरहेछ ।

रोबर्ट क्लाइबले भारतीय भूमिमा ब्रिटिस साम्राज्यको जग बसाउने काम पश्चिम बङ्गालबाटै गरेका थिए- गिरीतिर फर्किएर उडिरहेको जहाजमुनिको धर्तीको इतिहास कोट्याउँछु म ।

म केही वर्ष भारत बसे पनि त्यहाँको इतिहास नपढ्ने मान्छे हुँ । तर रुचिचाहिँ अति धेरै छ- गिरीले मुख खोले ।

गिरी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रथम श्रेणीमा स्नातकोत्तर गरेका व्यक्ति हुन् । त्यसैले उनले भारतीय इतिहास नजान्दैमा उनको अध्ययनमाथि शङ्का गर्ने सुविधा थिएन मलाई ।

बक्सर र पलासीको युद्धका बारेमा सुनेको छु – पूर्ण पुनले लामो मौनता भङ्ग गरे ।

ती दुई युद्धको पराजयको परिणाम स्वरूप भारतीयहरू दुई सय वर्ष गोरेहरूका गुलाम भए । दुर्भाग्य ! अहिले भारतीयहरू आफ्ना छिमेकी देशहरूसँग ब्रिटिस रवैया अपराइरहेका छन् -म पुन बोलें ।

काँडाले घोचिएको व्यक्ति स्वयं हातमा काँडो बोकेर अर्कोलाई घोच्न हिंड्नु नसुहाउने कुरा हो  है दाइ- पल्लो सिटबाट राममाया गुरुङले प्रतिक्रिया जनाइन् ।

हो नि बहिनी- मैले तुरुन्तै सहमति जनाएँ ।

पश्चिम बङ्गालले सन् २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदीलाई भोट दिन खुब कन्जुस्याइँ गरेथ्यो । तृणमूल काङ्ग्रेसकी नेतृ ममता बेनर्जीलाई छोड्दै छोडेनन् बङ्गालीहरूले त्यतिबेला । मोदीको भारतव्यापी जनलहरको सुनामीलाई बेनर्जीले गम्भीर धक्का दिएकी थिइन् ।

पश्चिम बङ्गालको भारतीय आकाश पार गरेलगत्तै जहाज ढाकामा अवतरण भयो । करिब पन्ध्र बिस मिनेटपछि जहाजले पुन: आकाशमार्ग समायो । बङ्गलादेश अवामी लिगकी नेतृ सेख हसिना प्रधानमन्त्री रहेको देशसँग नेपालको पुरानो र गहिरो सम्बन्ध छ । तेह्रथुमको वसन्तपुर र चित्रे अनि धनकुटाको सिधुवा र हिलेतिर फलेका सागसब्जीहरू बङ्गलादेशको बजारमा खुब खपत हुन्छ भन्ने पढेको थिएँ कुनैबेला ।

इलामको तरकारी नपाकेका कराही बङ्गालीका भान्सामा छैनन् होला- पिताजीका मुखबाट सुनेको कुरा सम्झिएँ ।

 सन् १९७१ मा पाकिस्तानबाट फुटाएर बङ्गलादेश जन्माउन इन्दिरा गान्धीले ठुलो खेल खेलेकी थिइन् – मेरा हाइस्कुलका गुरु लीलाबहादुर तुम्बाहाम्फेका मुखबाट सुनेको थिएँ तेह्रथुममा पढ्दा ।

बङ्गलादेशका संस्थापक नेता एवं राष्ट्रपति सेख मुजिबुर रहमानलाई सन् १९७५ अगस्ट १५ का दिन सेनाको एउटा जत्थाले राष्ट्रपति भवनमा गोली हानी निर्मम हत्या गरेको थियो । २०५८ जेठ १९ गतेको नारायणहिटी काण्डजस्तै बङ्गलादेशको इतिहासमा घटेको एउटा भयानक घटना झल्झली सम्झिएँ मैले ।

जहाजले म्यान्मारको आकाशमा उडान सुरू गर्यो ।

अधिकांश यात्रुहरू निदाएका थिए । केही यात्रुहरू आआफ्ना सिटअगाडिको स्क्रिनमा चलचित्र हेर्न व्यस्त थिए ।

विमान परिचारिकाहरूले खाना ल्याए । तिनीहरूको काम गर्ने गति देखेर मैले मनमनै भने यी मानिस होइनन्, मेसिन हुन् ।

चिकेन राइस र ओरेन्ज जुसले मैले पेट पूजा गरें ।

नेपालीहरू रोजगारीको सिलसिलामा सुदूर पूर्वमा गएर बसेको धर्ती हो म्यान्मार । दोस्रो विश्वयुद्धमा जापानले सेना ओरालेपछि त्रास र भयले थुप्रै मानिसहरू विस्थापित भएका थिए । करूणाले भरिपूर्ण इतिहास बोकेको म्यान्मारमा आज पनि थुप्रै नेपालीहरू स्थायी रूपमा बसिरहेका छन् ।

एघार हजार फिटको उचाइमा उडिरहेछौं हामी । जहाज एकोहोरो आवाज निकालेर निरन्तर पूर्वी दिशा ताकेर उडिरहेछ ।

पाइलटहरूको पेसा असामान्य लाग्छ मलाई । अरबौं मूल्यको जहाज र जहाजभरि चढेका यात्रुहरूको अमूल्य जिन्दगी उनीहरूका हातमा हुन्छ । हजारौं टनको जहाजलाई इच्छाएको गति दिएर आकाशमा उडाउनु सामान्य काम हुँदै होइन ।

म्यान्मारको ऐतिहासिक सहर मान्डलेकै माथिबाट जहाज उडिरहेछ हाम्रो ।

पछाडिको सिटमा तनहुँ बन्दीपुरकी राममाया गुरुङ मौनतापूर्वक बसिरेकी छिन् ।

 कति छ लुइटेल दाइ हङकङ पुग्न ?’  पल्लो सिटमा बसेकी बनेपाकी विनिता कायस्तका मुखबाट आवाज निस्किन्छ ।

म्यान्मार त भर्खर पार भयो – मैले अरूको निद्रा नबिगार्ने गरी सानो स्वरमा भने ।

जहाज आठ सय पचास किलोमिटर प्रतिघण्टाको गतिमा हुँइकिएको छ ।

थाइलेन्ड, लाओस र भियतनाम पार गरेर दक्षिणी चिनियाँ समुद्रमाथि जहाज बेगिएको बेगिएकै छ । यसबिचमा थाइलेन्डको पटाया र भियतनामको हनोइलाई हामीले धेरै पछाडि छोडिसकेथ्यौं ।

 पहाडमा पत्कर बोक्ने डोको जत्रो ज्यान भएकी एउटी कुहिरे अनुहारकी महिला मेरा कुममा ज्यान रगट्दै शौचालय गई । रिसको पारो ह्वात्तै बढ्यो । तैपनि विवेकले नियन्त्रण गर्नुको विकल्प थिएन मसँग । मैले त्यहीँ विकल्पको पूर्ण उपयोग गरें ।

मेरा सिटका छेउमा बसेका अनुपम गिरीले झ्यालको पर्दा माथि सारे । बाहिर उज्यालो भइसकेछ । बादलको एकछत्त साम्राज्यलाई चिरेर जहाज निरन्तर उडिरहेथ्यो ।

बादलमा पस्ता जहाज बेलाबेला हल्लिन्थ्यो । त्यो बेला यात्रुहरू झस्किन्थें । मेरो मनमा पनि चिसो पस्यो जहाज हल्लिँदा ।

 जहाजको देब्रेतिरको पखेटाका विभिन्न भागहरू उठेको बसेको देखिरहेछु । जहाजले आफ्नो उचाइ र गति नियन्त्रण गर्न थालिसकेको सङ्केत मिल्यो । मैले नाडीमा बाँधेको घडीको समय नेपालकै छ यतिबेलासम्म ।

बादलमाथि उडिरहेको जहाज बादलको तह पार गरेर तल आउँदा गम्भीर मुद्रामा बसेको समुद्र दुवै आँखामा ठोक्कियो । म समुद्र नभएको देशको नागरिक । फेवाताल र च्छोरोल्पा हिमताल देखेका आँखाले समुद्रको विराटता आकाशबाट देख्न र मनले अनुभव गर्न पाए पहिलोपल्ट ।

जहाज निकै तल ओर्लियो । ससाना पहाडी टापुहरू देखापर्दै हराउँदै गए । समुद्रमा तैरिएर गन्तव्यतिर आवतजावत गरिरहेका सानाठुला पानीजहाजहरू पनि आँखामा ठोक्किए ।

विमानले सबै यात्रुलाई आआफ्नो सिटमा बसेर सिट बेल्ट बाध्न निर्देशन दियो र हङकङ पुग्न लागेको जानकारी गरायो ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदा स्थानीय समय बिहानको पाँच पन्ध्र भएको थियो । विमानस्थललाई वरिपरिबाट समुद्रले अँगालोमा बेरेको थियो । समुद्रको बिचमा यति ठुलो विमानस्थल बनाउनु सामान्य कुरा हुँदै होइन । यो त हङकङेहरूको विराट सोच, कठोर मिहिनेत र दृढ इच्छाशक्तिको प्रतिफल हो भन्ने लाग्यो मलाई ।

 एकएकवटा हाते सुटकेस बोकेर अध्यागमनतिर लम्कियौं हामी । विमानस्थलको सरसफाइ देखेर भुँइमै सुतिदिऊँ झैं लाग्यो । विभिन्न गन्तव्यतर्फ जान हतारिएका यात्रुहरूले विमानस्थलको चहलपहल निकै बाक्लिएको थियो। उता टोकियो जाने क्याथे पेसिफिकको अर्को भीमकाय जहाज हाम्रो प्रतीक्षा गरिरहेको थियो ।