March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

को हुन् भानुभक्त ?

मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू,

मेरो न्यानो माया र धेरै धेरै सम्झना !

भाइबहिनीहरू, लामो समय भयो, तिम्रो-हाम्रो भेटघाट हुन नपाएको । थाहा छ नि, हाम्रो भेटघाट किन हुन सकेन ? हो, कोभिड–१९ अर्थात् कोरोनाका कारणले नै हाम्रो भेटघाट हुन सकेन । के गर्नु, जोगिनै पर्ने रहेछ । हामी त भरखर विकासशील मुलुकका नागरिक, हामीसँग के उपाय छ र ! त्यत्रो विकसित मुलुक चीनमा कोरोनाको जन्म भयो । त्यहाँका नागरिकलाई हम्मे हम्मे बनायो । छिट्टै यसले विश्वलाई नै नमजाले सतायो । अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, इटली, इस्पेन, ब्राजिल, भारतजस्ता विकसित देशहरूलाई यसले बन्धक बनाइदियो । विश्वका साढे ५ लाखभन्दा बढी मानिसहरूले कोरोनाकै कारणबाट ज्यान गुमाइसके । अझ कतिले ज्यान गुमाउने हुन्, थाहा छैन । घरभित्रै थुनिएर बाँच्ने प्रयास गर्दागर्दै पनि नेपालमा ३८ जना नेपालीको ज्यान यही कोरोनाले लग्यो । १७ हजारभन्दा बढीलाई सङ्क्रमित बनायो । साँच्चै हैरान पार्‍यो यसले त ।

तिमीहरूलाई थाहा छ ? मलाई कोरोनाले भन्दा बढी तिमीहरूकै चिन्ताले सताइरह्यो । कुन बहनाले भेटूँ भन्ने लागिरह्यो । आज त झन् बढी तिमीहरूको याद आयो । पोहोर साल आजकै दिन तिमीहरूले बाचन गरेका मिठा मिठा कविताहरू मैले झलझली सम्झिरहेँ । त्यसैले जे त पार्ला भनी यो पत्र लेखेँ है !

अँ, पोहोर सालको कुरा ! सम्झना छ, पोहोर साल आजकै दिन के भएको थियो ? बिर्स्यौ कि ! आज असार २९ गते क्या ।…अझ सम्झना भएन ? भानुजयन्ती के आज । अब त सम्झ्यौ होला है । पोहोर भानुजयन्ती कति रमाइालो गरी मनाएका थियौँ । यस पालि त, खै के भनौँ र ! त्यसैले त तिमीहरूलाई मैले सम्झिरहेँ ।

नानीबाबुहरू ! तिमीहरूलाई थाहा छ के, भानुभक्त आचार्य आजभन्दा २ सय ६ वर्षअगाडि वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा बेँसीमा जन्मेका थिए । उनी नेपाली साहित्यका आदिकवि हुन् । उनलाई नेपाली साहित्यका युवा कवि मोतीराम भट्टले आदिकविको उपाधि दिएका हुन् । आदिकवि भनेको सुरुको कवि अर्थात् पहिलो कवि भन्ने हो । भानुभक्तभन्दा अघि पनि थुप्रै नेपाली कविले कविता लेखेका थिए तर नेपाली परिवेशमा नेपाली मनमुटुलाई छोएर भानुभक्तले जत्तिको कविता कसैले लेखेका थिएनन् । त्यसैले मोतीराम भट्टले भानुभक्तलाई नेपाली साहित्यका आदिकवि भनेर चिनाए । त्यसपछि प्रायः सबै नेपाली साहित्यकारहरू उनलाई आदिकवि भन्न थाले ।

अँ, तिमीहरूलाई भानुभक्तले के के कृति लेखेका थिए ? भन्ने जिज्ञसा भयो होला, होइन ? थाहा छ, उनले वालमीकिले संस्कृतमा लेखेको रामायण महाकाव्यलाई वि.सं. १९१० मा नेपाली भाषामा अनुवाद गरेका थिए । उनको यो रामायण ‘भानुभक्तीय रामायण’ भनेर चिनिन्छ । उनका अन्य कृतिहरू पनि छन् । जस्तै : प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०), बुधूशिक्षा (१९१९) आदि । भानुभक्तका यी सबै कृतिहरू पुस्तकका रूपमा मोतीराम भट्टले नै प्रकाशित गराएका थिए । तसर्थ भानुभक्तलाई आदिकवि भानुभक्त आचार्य भनेर चिनाउने मुख्य व्यक्ति मोतीराम भट्ट नै हुन् ।

भानुभक्त आचार्यले लेखेका कृतिहरूमध्ये सबैभन्दा लोकप्रिय कृति भानुभक्तीय रामायण नै हो । यो कृति नेपाली साहित्यमा सबैभन्दा धेरै पढिएका र बिक्री भएका कृतिहरूमध्येमा पर्दछ । नेपाली साहित्यका विद्वान्‍हरू भानुभक्तीय रामायणलाई नेपाल, भारत तथा अन्य देशमा बसोबास गर्ने नेपालीहरूलाई भावनात्मक रूपमा एकै ठाउँमा जोड्ने कृति मान्दछन् । उनीहरू ‘पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर सिङ्गो नेपाल बनाए भने भानुभक्त आचार्यले देशविदेशमा छरिएर रहेका विभिन्न जातजातिका नेपालीहरूलाई भाषिक रूपमा एकीकरण गरे’ भन्दछन् ।  

भाइबहिनीहरू ! नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यप्रेमी सबैले हार्दिकतापूर्वक आज सम्झिने गरेको पाइन्छ । उनलाई दार्जेलिङका नेपाली भाषी साहित्यकारहरू त अझ धेरै सम्मान गर्छन् । त्यसैले त उनीहरूले दार्जेलिङमा पहिलो पटक भानुभक्तको पूर्ण कदको सालिक बनाए ।

नानीबाबुहरू, के गर्नु ! निष्ठुरी कालले कसैलाई पर्खँदैन रहेछ । त्यस्ता महान् व्यक्ति भानुभक्तलाई पनि चटक्क लग्यो । हामीलाई अविस्मरणीय कृति छाडेर उनी साधैँका लागि यस धर्तीबाट वि.सं. १९२५ असोज ६ गते बिदा भए ।

ओहो ! सम्झेर ल्याउँदा उनी बितेको पनि १ सय ५० वर्षभन्दा बढी भइसकेछ । तर पनि उनी हाम्रा मनमस्तिष्कमा जिउँदै छन् । किन होला, थाहा छ ? हो, उनकै अमर कृतिका कारण उनी आजसम्म प्रत्येक नेपालीका हृदयमा अमर भएर बसेका छन् । हुन त उनले देखाएको बाटो सधैँ हिँड्नु राम्रो हो । उनकै बाटो हिँडेर धेरै व्यक्तिहरू अमर कवि भइसकेका छन् । सबैलाई त्यो बाटा हिँड्न कहाँ सजिलो छ र ! त्यसैले वर्षमा एक दिन (आजैको दिन) मात्र भए पनि कविता लेखेर अथवा भानुभक्तलाई सम्झेर हामीले भानुभक्तलाई मात्र होइन नेपाली भाषा र साहित्यलाई पनि सम्मान गर्ने गरेका छौँ । तिमीहरू पनि सकेको प्रयास गर है ।

लौ त नानीबाबुहरू ! गनथन निकै लामो भयो क्यार । बाँकी कुरा अर्को भेटमा गरौँला । स्थिति छिट्टै सामान्य बनोस् र छिट्टै हाम्रो भेट विद्यालयमा होस् । आजलाई यति नै ।

तिमीहरूलाई माया गर्ने शिक्षक ।