अर्थतन्त्रको आधार र वर्तमान सङ्कटको पाठ
अर्थतन्त्र के हो?
विभिन्न व्यक्ति तथा सङ्घसंस्थाहरूले कुनै निश्चित क्षेत्र अथवा सीमाभित्र सञ्चालन गरिएका सम्पूर्ण आर्थिक क्रियाकलापहरूको समग्र जोड नै अर्थतन्त्र हो। निश्चित क्षेत्रफलभित्र सञ्चालित विभिन्न किसिमका आर्थिक क्रियाकलापहरू जस्तै कृषि, उद्योग, कलकारखाना, व्यापार, पर्यटन, स्वास्थ्य, सञ्चार, यातायात, शिक्षा इत्यादिको समग्र कार्यहरूलाई पनि अर्थतन्त्र भनिन्छ।
धेरैजसो विकसित मुलुकहरूमा पुँजीवादी अर्थतन्त्र प्रयोगमा ल्याइएको देखिन्छ भने केही सीमित मुलुकहरूमा समाजवादी अर्थतन्त्र स्थापित गरिएको छ। सबैजसो विकासोन्मुख राष्ट्रहरूमा मिश्रित अर्थतन्त्र प्रयोग हुँदै आएको देखिन्छ। नेपालमा पनि मिश्रित अर्थतन्त्रलाई अँगालिएको छ। यहाँ आर्थिक विकासका विभिन्न प्रयासहरू सुरुवाती चरणमा छन्। औद्योगिक क्षेत्र विकास तथा विस्तारको गति ढिलो छ। परम्परागत रूपमा अँगालिएको कृषि प्रणालीमा उल्लेख्य विकास भएको देखिँदैन। व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चारलगायत अन्य आर्थिक क्षेत्रहरूको सबल रूपमा विकास भएको देखिँदैन। यहाँ नेपाल सरकार, निजी क्षेत्र र समुदायको सहभागितामा विकासका कामहरू तीव्र गतिमा अगाडि बढाइएको छ ।
राष्ट्रहरूका आफ्नै आर्थिक क्षेत्र हुन्छन्। कतिपय मुलुकले समुद्रबाट माछा सङ्कलन गरी व्यापार गर्छन्। कतिपयले तयारी पोसाकहरू उत्पादन गरी व्यापार गर्ने गर्छन्। केही मुलुकहरूले पर्यटनलाई मुख्य व्यवसाय बनाएर प्रशस्त आयआर्जन गरेका छन्। खनिज तत्त्वको उत्खन्न, कृषि आदि पनि राष्ट्रका आर्थिक क्षेत्र हुन् । नेपालको प्रमुख आर्थिक क्षेत्र कृषि नै हो। यसको अर्थतन्त्रमा करिब २७ प्रतिशत योगदान रहेको छ। कुल जनसङ्ख्याको करिब ६६ प्रतिशत जनसङ्ख्या कृषि पेसामा निर्भर छन्। त्यसैले नेपालको अर्थतन्त्रका लागि कृषि क्षेत्र मेरुदण्ड मानिएको छ।
नेपाली अर्थतन्त्रको विशेषता
दक्षिण एसियाली कृषिप्रधान मुलुक नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत र उत्तरी सिमाना चीन छन्। नेपालको जनसङ्ख्या ३ करोड नाघिसकेको छ । तेसैगरी १४ अञ्चल, ७७ जिल्लाहरू र ७ प्रशासनिक प्रदेशहरू छन् । नेपालको वास्तविक प्रशासनिक नक्सा जारीपछि यसको कुल क्षेत्रफल १,४७ ५१६ वर्गकिलोमिटर छ। दुई छिमेकी मुलुक भारत र चीनले उच्च आर्थिक बृद्धि दर हासिल गर्दा पनि नेपालमा लामो समयसम्म राजनैतिक अस्थिरतापछि नयाँ संविधान जारी भयो। त्यसपश्चात मात्र नेपालमा राजनैतिक स्थिरता क्रमिक रूपमा बढिरहेको देखिन्छ। यसको साथसाथै विभिन्न क्षेत्रहरूका आर्थिक गतिविधिहरू पनि क्रमिक रूपमा बृद्धि हुँदै आएको पाइन्छ। दुई छिमेकी मुलुकहरूको उच्च आर्थिक वृद्धि दरका बाबजुद नेपालमा न्यून आर्थिक वृद्धि दर भैरहनुमा विभिन्न तत्त्वहरूलाई कारक मान्न सकिन्छ । जस्तै चरम गरिबी, परम्परागत कृषि प्रणाली र अत्यधिक कृषिमा निर्भरता, व्यापारिक क्षेत्रहरूको पहिचानको अभाव, प्राकृतिक स्रोत साधनहरूको न्यून उपयोग, वैदेशिक व्यापार घाटा, निम्न प्रतिव्यक्ति आय इत्यादि हुन् । निश्चित रूपमा भन्नुपर्दा नेपाली अर्थतन्त्रको विशेषता भन्नाले चरम गरिबी, कृषिमा आधारित अर्थतन्त्र, वैदेशिक रोजगार, वैदेशिक व्यापार घाटा, कमजोर कुल ग्राहस्थ उत्पादन र न्यून प्रतिव्यक्ति आय इत्यादि हुन्। जसको कारणले नेपाली जनताहरूले अपेक्षा गरेअनुसार देशमा आर्थिक विकास हुनसकेको छैन। प्रत्येक वर्ष गरिबीको सङ्ख्या तथा बेरोजगारीको सङ्ख्या वृद्धि भइरहेको छ। यसले नेपालको कृषि क्षेत्रले थप जनसङ्ख्याको भार बोक्न बाध्य गराउँदै आएको देखिन्छ।
आर्थिक सङ्कट किन हुन्छ?
विश्वका विभिन्न मुलुकहरू विभिन्न काल खण्डहरूमा ठुला ठुला आर्थिक सङ्कहरूबाट गुज्रँदै आइरहेको देखिन्छ। मुलुकहरूमा अस्वाभाविक आन्तरिक खर्चहरू बड्नु, राज्यको आय स्रोतले धान्न नसक्ने अवस्था नै आर्थिक सङ्कट हो। इतिहासको विभिन्न कालखण्डहरूमा विभिन्न किसिमका महामारी, प्राकृतिक प्रकोपहरू, राजनैतिक घटनाहरू एवं युद्धहरू हुनेगरेको पाइन्छ। यसै क्रममा हाल विश्वका विभिन्न मुलुकहरूमा कोभिड-१९ को सङ्क्रमणबाट अधिकांश राष्ट्रहरू आहात भइरहेको छ। त्यसैगरी यस सङ्क्रमणबाट धेरै मुलुकहरूको अर्थतन्त्रलाई नराम्रैसँग प्रभावित तुल्याइसकेको छ। यसमा हाम्रो मुलुक नेपाल पनि अछुतो रहन सकेन। विगत ३ महिनादेखि सङ्क्रमण सुरुभएको यस महामारीले नेपालका ७७ जिल्लाहरूमा सङ्क्रमण फैलिसकेको छ। पछिल्लो रिपोर्टअनुसार १५ हजार ७८४ भन्दा बडी सङ्क्रमण भैसकेको ,९२०३ आइसोलेसनम ,६ हजार ५४७ निको भैसकेका र करिब ३२ हजार हाराहारीमा क्वारेन्ताइनमा रहेका छन् । यसबाट देशमा मानवीय सङ्कट, आर्थिक तथा सामाजिक सङ्कट दिन प्रतिदिन गम्भीर हुँदै गइरहेको देखिन्छ। अधिकांश उत्पादनका क्षेत्रहरू बन्द रहेका छन्। ठुला ठुला उद्योगहरू, कल कारखानाहरू र अन्य आर्थिक गतिविधिहरू प्राय बन्द रहेका छन्। त्यसको परिणाम देशमा बेरोजगारीको सङ्ख्या वृद्धि भएको छ। अधिकांश मानिसहरू जो अनौपचारिक क्षेत्रहरूमा कार्यरत छन् । उनीहरूको दैनिक खानपिनको व्यवस्था गर्न मुस्किल भएको छ। अर्कोतर्फ सरकारले प्राप्त गर्ने विभिन्न आम्दानीका स्रोतहरू बन्द भएका छन् । जसको कारणले सर्वसाधारण मात्र नभई पूरै मुलुक नै आर्थिक सङ्कटको चपेटामा फस्दै गइरहेको देखिन्छ। राज्य वा सरकारले नियमित प्रशासनिक खर्च गर्न र सर्वसाधारणलाई दिनुपर्ने अत्यावश्यक सुविधा दिन नसक्ने अवस्था नै आर्थिक सङ्कटको अवस्था हो भन्ने गरिन्छ। विभिन्न किसिमका प्रकोप, महामारी, ठुला ठुला राजनीतिक परिवर्तनहरू तथा अन्य ठुला घटनाहरू मुलुकमा प्रवेश हुँदा राज्यका सम्पूर्ण आर्थिक क्षेत्रहरूले नियमित आय आर्जनका कार्यहरू सामान्यरूपमा गर्न सक्दैनन् र सरकारले कर तथा राजस्व एवं अन्य आयआर्जन गर्न सम्भव हुँदैन। त्यसैगरी सरकारले नियमित गर्नुपर्ने खर्चहरू दिनप्रतिदिन बढिरहेको अवस्था हुँदा मुलुकमा आर्थिक सङ्कटको सृजना हुन्छ। मुलुकमा विभिन्न कारणहरूले गर्दा समय समयमा आर्थिक सङ्कटहरू आउने गर्छन्। त्यसमध्ये केही प्रमुख कारणहरू यहाँ प्रस्तुत गरिएको छ।
१. देशमा चरम गरिबीको अवस्था भइरहनु।
२. मुलुकमा दिनप्रतिदिन बेरोजगारीको समस्या बढिरहनु।
३. अधिकांश रोजगार मानिसहरू अनौपचारिक क्षेत्रहरूमा सीमित रहनु।
४. मुलुकमा अल्पकालीन र दीर्घकालीन विकासका योजनाहरूको अभाव हुनु ।
५. मुलुकभित्रै रोजगारीको अवसर बृद्धिको लागि अल्पकालीन एवं दीर्घकालीन योजनाहरू लागु नहुनु ।
६. कृषिक्षेत्रलाई समय सापेक्ष आधुनिकीकरण, व्यवसायीकरण र विकास गर्न नसक्नु।
७. आधारभूत वस्तुहरूको आवश्यकता पूरा गर्न मुलुकभित्रै घरेलु तथा साना र मझौला उद्योगहरूको वैज्ञानिक कारणसहित विकास हुन नसक्नु।
८. मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधनहरू पूर्णरूपमा वातावरण अनुकूल प्रयोग हुन नसक्नु।
९. मुलुकभित्रै उपलब्ध मानवीय स्रोत साधन तथा प्रकृतिक स्रोत साधनहरूलाई अधिकतम प्रयोगमा ल्याई मौलिक एवं साहसिक पर्यटन व्यवसायको विकास नहुनु।
१०. सम्भावित ऊर्जा उत्पादन, विकास र विस्तार गरी मुलुकभित्र अधिकतम उपयोगसम्बन्धी दीर्घकालीन र अल्पकालीन योजना नहुनु।
११. मुलुकका विभिन्न भागमा तालिम तथा सिप विकासको व्यवस्था नहुनु।
१२. देशभित्र व्याप्त, भ्रष्टाचार, कमिसनतन्त्र, ढिलासुस्ती एवं नातावाद र कृपावादबाट ग्रसित हुनु।
१३. सबैभन्दा मुख्य सरकारको नेतृत्व गर्ने र कर्मचारीतन्त्रलाई निर्देशन दिने व्यक्तिहरूमा सर्वसाधारण जनताप्रति जवाफदेहिता र उत्तरदायित्वको अभाव हुनु ।
समृद्ध अर्थतन्त्रको आधार
नेपालजस्तो विकासोन्मुख मुलुकमा शीघ्र औद्योगीकरण र पुँजीवादी अर्थतन्त्रको कल्पना गर्नु सायद यो मूर्खता होला । किनभने नेपालको एउटा छुट्टै मौलिक आर्थिक, सामाजिक, धार्मिक, राजनैतिक एवं जनसङ्ख्या संरचना र बनोट छ। त्यसैले अन्य मुलुकहरूको योजनाहरूको सिधै सिको गरेर नेपालमा तीव्र विकास गर्न खोज्नु गम्भीर सङ्कटमा फस्ने सम्भावना हुन्छ। नेपालको भौगोलिक एवं बस्तुगत यथार्थमा आधारित विकासको योजना हुनु अत्यन्त लाभदायक प्रमाणित हुन सक्छ। लामो समयदेखि नेपालको कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई प्रमुख साहरा दिँदै आएको हामी सबैलाई अवगतै छ। त्यसैगरी हाम्रो मुलुक विश्वमा जलस्रोतमा धनी राष्ट्रको रूपमा पनि स्थापित भएको कुरा छर्लङ्गै छ। अर्को कुरा विश्व जगतमा नेपालीहरूको साहसी, आत्मीयता, पाहुनाप्रति स्वागत सत्कार र विभिन्न जातजाति नेपालीहरूका पहिचान बोकेका संस्कृतिहरूले विश्वका अधिकांश पर्यटकहरूलाई हरेक वर्ष मोहित तुल्याउँदै आइरहेको छ। तसर्थ नेपालको अर्थतन्त्रलाई समृद्ध, स्वाबलम्बी र स्थायी वृद्धिका लागि मुलुकभित्र रहेका प्रमुख आर्थिक क्षेत्रहरूलाई पहिचान गरी त्यसलाई आधुनिकीकरण एवम् व्यवसायीकरण गर्नु नितान्त आवश्यक देखिन्छ। त्यसमध्ये केही प्रमुख क्षेत्रहरूको बारेमा केही तथ्यपरक कुराहरूको तल प्रस्तुत गर्न खोजेको छु ।
कृषि क्षेत्र
नेपालको विभिन्न आर्थिक क्षेत्रहरूमध्ये कृषि क्षेत्र प्रमुख आर्थिक क्षेत्र हो। यसले नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २७ प्रतिशत योगदान गर्छ। नेपालको कुल क्षेत्रफलमध्ये करिब १८ प्रतिशत जमिन खेतीयोग्य छ । यसमा विभिन्न नगदे बालीहरू र खाध्यान्न बालीहरू लगाउँदै आइरहेको पाइन्छ। नेपालको कुल जनसङ्ख्याको गरिब ६६ प्रतिशत जनसङ्ख्या कृषि पेसामा आश्रित छन्। यसको अर्थ हुन्छ, अधिकांश मानिसहरू कृषि पेसालाई प्रमुख पेसाको रूपमा लिन्छन् र अन्य पेसाहरू जस्तै व्यापार, नोकरी, निर्माण, सेवासम्बन्धी व्यवसाय, यातायात, उद्योग इत्यादिलाई बैकल्पिक पेसाको रूपमा अँगालेको पाइन्छ। यसबाट के स्पष्ट हुन्छ भने नेपाली अर्थतन्त्रको सुदृढ एवं सबल विकासको लागि कृषि क्षेत्रको विकास नितान्त जरुरी देखिन्छ। कृषिसँग सम्बन्धित सम्पूर्ण आर्थिक गतिविधिहरूलाई आधुनीकरण एवं व्यापारीकरण गरेर उत्पादन बढाउनु, रोजगारी वृद्धि गर्नु, आम्दानीका स्रोतहरू पढाउनु र अन्य उपलब्धि हासिल गरी यसको उद्देश्य स्पष्ट रूपमा हासिल गर्न सकिन्छ। कृषि क्षेत्रलाई विकास गर्नका लागि आवश्यक पूर्वाधारहरू जस्तै नियमित सिंचाईको व्यवस्था हुनु सुरक्षित तथा यातायातको व्यवस्था हुनु, संचारको सुविधा, भण्डारणको सुविधा, बजारीकरण र बजारको व्यवस्था हुनु, बैंकिङ सुविधा इत्यादि पूर्वाधारको विकास हुन जरुरी देखिन्छ।
नेपाल भौगोलिक रूपमा विविधता हुनुको साथसाथै वातावरणीय विविधतामा पनि धनी देखिन्छ। जसको फलस्वरूप विश्वका अधिकांश देशहरूमा उत्पादन हुने कृषि उपजहरू नेपालमा पनि सजिलै उत्पादन सम्भव भएको तथ्यहरू विभिन्न अनुसन्धानहरूले देखाइसकेको छ। आधुनिक कृषि प्रणाली, प्राङ्गारिक मलको प्रयोग, मुलुकमै दक्क्ष कृषि प्राविधिकहरूको उत्पादनले देशको कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्न कुनै कठिन हुने सम्भावना देखिँदैन। यसले निश्चित रूपमा अर्थतन्त्रलाई बलियो बनाउन ठुलो आधारको विकास गर्नेमा आशावादी हुन सकिन्छ। लाखौ मानिसहरूले स्वदेशमै सहज रोजगारी पाउने, सहज खाद्यान्नको उपलब्धता, गरिबीको सङ्ख्यामा कमी, प्रतिव्यक्ति आयमा वृद्धि, वैदेशिक व्यापार घाटामा कमी इत्यादि आधारहरू प्रसशस्त भई देशको अर्थतन्त्र सबल हुँदै जानेमा प्रशस्त आधार भेटिन्छ।
पर्यटन उद्योग
पर्यटक भन्नाले ती मानिसहरू हुन् जो ,आफ्ना विभिन्न उद्देश्यहरू पूरा गर्नको लागि आफ्नो घरबाट टाढा एक ठाउँबाट अर्को ठाउँमा भ्रमण गर्ने गर्छन्। पर्यटकहरू विभिन्न उद्देश्यहरू जस्तै धार्मिक, व्यवसायिक, मनोरञ्जन, पैदलयात्रा, हिमशिखर आरोहण इत्यादि पूरा गर्न मुलुकभित्र वा मुलुकबाहिर भ्रमण गर्ने गर्छन्। यी मानिसहरू tourist को रूपमा चिनिन्छ। पर्यटकहरूलाई आवश्यक पर्ने विभिन्न सुविधाहरू जस्तै होटल, खाना, खाजा, trekking, गाइड , यातायात, सञ्चार इत्यादि सुविधाहरूको बन्दोवस्तीको लागि स्थापना गरिएका विभिन्न व्यवसायिक संस्थाहरूको नै पर्यटन उद्योग हो। विश्वका विभिन्न मुलुकहरूको अर्थतन्त्रको अनुभवबाट आर्थिक विकासका प्रमुख आर्थिक क्षेत्रहरू भन्नाले औद्योगिक क्षेत्र, व्यापार, पर्यटन, खानी तथा खनिज उत्खनन, कृषि इत्यादि रहेको पाइन्छ। तर हरेक मुलुकले आफ्नो मौलिक विशिष्टका आधारमा भिन्नाभिन्नै क्षेत्रलाई प्राथमिकताका साथ विकास गरी उच्च आर्थिक वृद्धिदर तथा उच्च प्रतिव्यक्ति आय प्राप्त गर्न सफल भएको देखिन्छ। नेपालको परिप्रेक्ष्यमा औद्योगिक विकासलाई पूर्ण प्राथमिकतामा राखेर उच्च आर्थिक वृद्धिदर हासिल गर्न मुस्किल देखिन्छ किनभने औद्योगिक विकासको लागि आवश्यक पर्ने ठुलो धनराशी, अत्याधुनिक मेसिनहरू, एवं दक्ष जनशक्तिको अभाव नेपालमा रहँदै आएकोछ । तसर्थ अहिलेको अवस्थामा नेपालमा औद्योगिक विकासलाई अर्थतन्त्रको आधारको रूपमा विकास गर्न निकै कठिन देखिन्छ। यसकारण नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक एवं वस्तुगत आधारमा पर्यटन उद्योगलाई अर्थतन्त्रको अर्को प्रमुख आधारको रूपमा विकास गर्न सकिने कुरामा धेरै आधारहरू भेटिन्छ। मौलिक पहिचानसहितका साँस्कृतिक रीतिरिवाज र परम्पराहरू, भौगोलिक विविधता, मनमोहक प्राकृतिक सुन्दरता, हजारौँ नागबेली परेका नदीनालाहरू, बाक्ला हरिया वन-जंगलहरू, असंख्य दुर्लभ वन्यजन्तुहरू, पशुपंक्षीहरूको, बोटबिरुवाहरू, विश्वप्रसिद्ध हिमश्रृंखलाहरू, विभिन्न धार्मिक मठ मन्दिरहरू, चैत्य गुम्बाहरू, ऐतिहासिक दरबार एवं विभिन्न पर्ताकीय केन्द्रहरू इत्यादि साथै सदियौँदेखि रहेका नेपालका सम्पदाहरू, सम्पत्तिहरू, पूर्वाधारहरू पक्कै पनि पर्यटन व्यवसायको विकासमा सहयोगी हुन्छन्। त्यसकारणले नेपालमा पर्यटन व्यवसायको विकासले लाखौ मानिसहरूले स्वदेशमै सम्मानित रोजगारी पाउने र उच्च आय वृद्धि हुनेमा दुईमत नहोला। यसैगरी यस व्यवसायलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु तथा सेवाहरू मुलुकभित्रै उत्पादन गर्न सके देशको अर्थतन्त्रलाई थप बलियो बनाउन मद्दत पुर्याउने छ। यसको साथसाथै लाखौं पर्यटकहरू नेपालका विभिन्न ठाउँहरूको भ्रमणमा आउँदा नेपाली अर्थतन्त्रले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न पक्कै पनि सम्भव हुने छ। जुन कुरा नेपालको वैदेशिक व्यापारको लागि लाभदायक हुन्छ। यद्यपि वर्तमान अवस्थामा यस क्षेत्रले करिब २. २ प्रतिशत मात्र कुल राष्ट्रिय उत्पादनमा योगदान गरेको देखिन्छ तर करिब ६ लाख मानिसहरूले रोजगारी पनि पाइरहेको छ। तसर्थ यस क्षेत्रलाई अझ सबल, गुणस्तरीय, सुरक्षित, विश्वसनीय, ब्यावसायिक एवं देशभरि विकास गर्न सकेको खण्डमा पक्कै पनि अर्थतन्त्रमा यसले विशेष योगदान दिनेमा आशावादी हुन सकिन्छ। कतिपय अवस्थामा महामारी अथवा सङ्क्रमण फैलिने खतराका कारणले यो क्षेत्र नराम्रोसँग प्रभावित हुने कुरामा सम्बन्धित क्षेत्रहरू सतर्क पनि हुनैपर्छ। हालको अवस्थामा नेपालको पर्यटन क्षेत्र पूरै बन्द भएको छ। यस क्षेत्रसंग सम्बन्धित कर्मचारीहरू, लगानीकर्ताहरू एवं अन्य पक्षहरू वर्तमान अवस्थामा सङ्कटग्रस्त छन्। तर भविष्यमा यस्ता अकलपनीय चुनौतीहरूबाट सुरक्षित हुन पूर्वतयारी तथा आर्थिक कोषको व्यवस्था गर्नु जरुरी देखिन्छ। तसर्थ समृद्ध नेपाली अर्थतन्त्रको आधारको रूपमा नेपालमा पर्यटन व्यवसाय विकास हुनु नितान्त जरुरी छ। यो क्षेत्र पूर्णरूपमा राजनीतिक हस्तक्षेपरहित स्वस्थ व्यवसायिक रूपमा विकास गर्न सकेको खण्डमा निश्चय पनि यसको उज्ज्वल भविष्य हामी आशा गर्न सक्छौं।
ऊर्जा विकास र बजारीकरण
विश्वमा विभिन्न किसिमका उद्योग कल कारखानाहरू दैनिक रूपमा स्थापना हुँदै आइरहेको पाइन्छ। यी क्षेत्रहरूबाट, सर्वसाधारण एवं मुलुकलाई आवश्यकता पर्ने विभिन्न किसिमका सामग्रीहरू तथा साधनहरू उत्पादन भइरहेका छन्। तर यी उत्पादनका क्रियाकलापमा विभिन्न किसिमका ऊर्जाहरू प्रयोग भएको पाइन्छ। त्यसमध्ये केही महत्त्वपूर्ण ऊर्जा विद्युतीय शक्ति, मानव शक्ति, पेट्रोलियम पदार्थ र अन्य खनिज तत्त्वहरू पर्दछन्। विश्वबजारमा सबैभन्दा बढी प्रयोगमा हुँदै आइरहेको इनर्जीको स्रोत भनेको विद्युतीय शक्तिको अथवा पेट्रोलियम पदार्थ अथवा अन्य खनिज पदार्थ नै हो। त्यसको साथसाथै घरायसी र समग्र मानिसहरूको सुविधाको लागि प्रयोग गरिने energy रूपमा विद्युतीय energy हुन् । यसको माग र उपयोग दिन प्रतिदिन मुलुकभित्र मात्र नभई मुलुकबाहिर पनि बढिरहेको पाइन्छ।
नेपाल विश्व जगतमा उच्च हिमश्रृंखलाहरू भएको मुलुकको रूपमा परिचित छ। त्यसैगरी जलस्रोतमा अत्यधिक समृद्ध मुलुक पनि हो। विभिन्न अध्ययनले देखाएको रिपोर्ट अनुसार नेपालका करिब ६ हजारभन्दा बढी खोलानालाहरूमा करिब ४४००० MW जलविद्युत उत्पान गर्ने क्षमता रहेको देखाएको छ। तर हालसम्म यसको २ प्रतिशतभन्दा कम मात्र नेपालमा जलविद्युत उत्पादित भएको देखिन्छ। मुलुकभित्रै पनि दिन प्रतिदिन बिधुतकोको माग बढिरहेको छ। त्यसैगरी विश्व बजारमा पनि ऊर्जाको माग तथा खपत दिनप्रतिदिन बढिरहेको देखिन्छ। यसप्रकार जलविद्युतको बढ्दो मागलाई नेपालले पूरा गर्न सक्ने कुरामा आशावादी हुन सकिन्छ। मुलुकको तथ्यांकले देखाएअनुसारको पूरै क्षमता उत्पादन नगरे पनि त्यस मध्ये ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको खण्डमा पनि नेपालको अर्थतन्त्रलाई कायापलट गर्न सक्ने कुरामा विश्वास गर्न सकिन्छ। यसकालागि आर्थिक स्रोत गम्भीर समस्याका रूपमा रहेको छ । जलविद्युत उत्पादन गर्न सकेको खण्डमा सम्पूर्ण नेपालीहरूले उज्यालो जीवन यापन गर्नपाउने सपना साकार हुनेछ। वातावरणीय प्रदूषणमा कमी आउने छ। मुलुकभित्रै लाखौ मानिसहरूले रोजगारी प्राप्त गर्ने छन्। राज्यले ठुलो धनराशी राजस्वको रूपमा प्राप्त गर्ने छ। यसबाट पक्कै पनि मुलुकको अर्थतन्त्र समृद्ध र आत्मनिर्भर बन्न सहयोग पुग्ने कुरामा विश्वस्त हुन सकिन्छ।
यसका साथसाथै अन्य सहायक आर्थिक क्षेत्रहरूलाई पनि समानान्तर रूपमा विकास गर्नु अत्यन्त आवश्यक छ। यसपश्चात मात्र नेपाली अर्थतन्त्र समृद्ध र आत्मनिर्भर हुनसक्छ।
अन्तमा हरेक चुनौतीहरू समस्या मात्र लिएर आउँदैनन्। कतिपय महामारी, प्रकृतिक प्रकोपजस्ता चुनौतीहरू सुनौला अवसरसँगै आएका हुन्छन्। हाल मुलुकका सम्पूर्ण आर्थिक क्षेत्रहरू कोभिड-१९ महामारीले पूर्णरूपमा प्रभावित भएका छन्। आर्थिक क्रियाकलापहरू ठप्प छन्। लाखौँ मानिसहरू गरिबीको चपेटामा छन्, बेरोजगार भएका छन्। हजारौं मानिसहरू सङ्क्रमित भएका छन्। तर यसबाट पनि हामीले एउटा वास्तविक पाठ त सिकेकै छौं। त्यो के हो भने हरेक चुनौतीहरू तथा समस्याहरूबाट मुक्ति पाउनको लागि आफू तथा मुलुकको अर्थतन्त्र स्वाबलम्बी अथवा आत्मनिर्भर हुनैपर्छ। त्यसको साथसाथै भविष्यमा अचानक आइपर्ने सम्भावित समस्याहरूको आँकलन गरी त्यसलाई आवश्यक पर्ने पूर्वाधार तथा व्यवस्थाहरू एवं वस्तु तथा साधनहरूको उत्पादन तथा जोहो गर्नु आवश्यक देखिन्छ। त्यसैगरी मुलुकको वस्तुगत यथार्थ बुझी विभिन्न आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेर अर्थतन्त्रको आधारको रूपमा विकास गरी मुलुकभित्रै सहज रोजगारीको सृजना गर्नु अत्यन्त आवश्यक देखिन्छ। यसप्रकारले देशको अर्थतन्त्र समृद्ध मात्र नभई हरेक आपत विपतको सामना गर्न सक्षम हुने कुरामा विश्वास पनि लिन सकिन्छ।
kumarpyatha42@hotmail.com
लेखकको सम्वन्धमा