नेपालको नयाँ नक्सा

आज धेरै पछि
मेरा मौन छोराले मुख खोल्यो।
तिमीलाई त लागिसकेथ्यो होला है !
बोल्दैन अब मेरो छोरो ।
 
तर, प्यारा छिमेकी !
मौन रहनुको अर्थ- जिब्रो काटिएको हुनु हैन
तिमीले सारिरह्यौ मेरो जमिनको साँध
ढालिरह्यौ,  मेरो पुर्खाको रगतमा उभिएका पिल्लरहरू
मेरा आँगनमा रसाएका मुहानको पानी
मैले चाख्न पाएको हैन
मेरा छोराले तिरो तिर्दै आएको
उसकै बाउ-बाजेको खेतमा
उसैले माटो पल्टाउन पाएको छैन
तिमीले रातारात अपहरण गरेको मेरा छोराछोरी,
तिम्रो घरमा सन्चै त छन् ?
 
दिनरात मेरो छोरो छट्पटाइरहन्थ्यो
सायद लाग्थ्यो उसलाई- रातमा निदाएको यो घर
बिहान उठ्दा तिम्रो करेसा हुने त हैन ?
के-के सोच्दै मेरो छोरो कता कता हराइरहन्थ्यो
रुँदारुँदै हाँस्थ्यो
कहिले हाँस्दाहाँस्दै रोइदिन्थ्यो ।
 
प्यारा छिमेकी ! हिजो त हदै गर्यौ।
मेरा बाले तिमीलाई बास बस्न दिएको लिपुलेक,
लिम्पियाधुरा मेरो हो, नितान्त मेरो
मेरी छोरी अझै खेल्छिन् त्यहाँ
मलाई नसोधी कसरी खन्न सक्यौ तिमीले मेरै छातीमाथि ?
राखेनौ मेरा ठाउँमा एकैछिन् आफूलाई ??
त्यसैले त मेरो छोरो आज उठेको छ।
सबेरै उठेर मुर्मुरिँदै नयाँ नक्सा ल्याएको छ
आहा ! मेरो जमिनको नयाँ नक्सा !
वाह ! मेरो नेपालको नयाँ नक्सा !
 
मेरा छोराका एक शब्दमा नै तिमी थरथर काम्दै छौ भने,
मेरा छोराका एक पाइलामा नै तिमी रिसले आगो हुँदैछौ भने,
के होला मेरा छोरा- आकाश सरी गर्जिए भने ?
तुफान सरी दौडिए भने ?
 
मेरा छोरा, नभए नातिनातिनाले कसो नखोज्लान्
आफ्ना पुर्खाको रगतको हिसाब !
हेर्दै जाऊ, एकदिन आँधी बनी आउने छन्
अनि मेटाउने छन् तिमीले कोरेको मेरो जमिनका झुटा सीमा,
गाड्नेछन् पुर्खा सरी पसिना बगाउँदै नयाँ पिल्लरहरू
हेर्दै जाऊ, मुस्कुराउने छ मेरो सुस्ता र कालापानी
मेरो अँगालो फैलिने छ सतलज र टिस्टासम्म
अनि आजजस्तै म खुब उफ्रनेछु खुसीले
मेरा सन्तान उत्सब मनाउने छन्
मेरा पुर्खाको रगतको सम्मान हुने छ
माथिबाट हेर्दै ढक्क छाती फुलाउनेछन् उनीहरू
आजजस्तै फेरि बन्ने छ नेपालको नयाँ नक्सा ।
 
एकैछिन् !‍
माथिल्लो घरकाले पनि सार्यो कि क्या हो!
मेरो जमिनको साँध  ।…