किसान

छपक्क उनको गाडियो खुट्टा असारे हिलोमा
निथ्रुक्क तन पानीमा भिज्यो असारे झरीमा 
चुम्दछ उनको हावाले गाला बग्दछ सुस्तरी
नियाल्छु जब अडिन्छ आँखा कञ्चन प्रकृति। 
 
बादल कालो, पर्दै छ पानी, गर्जँदै गगन  
कपाल कालो, मस्कँदै कृषक कर्ममा मगन 
हावाको झोक्का आएर सोध्छ- ‘सपना भनन’ 
‘लरक्क बाला झुलाऊँ कि म’ भन्दछ किसान । 
 
आलीमा रोटी खाएर भोक किसान मेट्दछ
कर्ममा डुब्छ, घरघर अन्न पुगेको देख्दछ  
पसिना झारी, ऊर्वर पारी खेतमा रमाउँछ
उब्जाई अन्न मानव सारा किसान पोस्तछ । 
 
आधुनिक युग, आधुनिक सिप किसान सिक्दै छ
गोरुको सट्टा, हलोको सट्ट ट्याक्टर जोत्दैछ
बिर्सन्न कैल्यै बहन हावा, झुल्कन त्यो घाम
सहन्छ पीडा, भुल्दैन तर किसान जो काम ।
 
सुकिला लुगा लाउने मान्छे एक पटक सोच न
शासन गर्ने ए नेता गण तिमी नि सोच न
तिमीले जस्तै किसानले काम चटक्क छाडेर
जालझेल गर्न लागेछ भने के होला भन न ?