February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

डाँडामाथिबाट कुहिराको परिदृष्य

 मेरा आँखामुनि क्षीर सागर असरल्ल पस्रिएको छ,
म एकोहोरो निहारिरहेको छु,
मानसपटलमा भकाभक शाब्दिक बम प्रहार हुन्छन्,
अप्रतिम, अद्वितीय, अलौकिक, अद्भूत, अनुपम,
अहँ, पुगेन, पटक्कै पुगेन,
यस दृष्यको शाब्दिक वर्णन कोट्टिएन एकछेउ पनि,
भयो शब्दकै कमी,
र भयो आफ्नो शब्दज्ञानसँग नै लज्जाबोध,
तर, मान्छे प्रकृतिको एउटा सानो फिलिङ्गो,
तथा शाब्दिक वैभवको जननी मान्छे,
प्रकृतिको व्याख्यानमा यसको पहुँचको सम्पूर्णताका लागि
हिम्मत पुगेन त के अचम्म ?
                   
अरुणिमा उष्माको कोमल स्पर्शलाई,
समीरको वेगले खण्डित गर्दा,
वा, दृश्यको गहिराइमा डुबुल्की मार्दा,
शरीर सबै काँडिल हुन पुगेछ।
 
प....र, सागरको मध्यतिर,
तीनचारवटा निक्खुर सेता छाउराहरू,
अर्ध निद्रामा पनि, एक अर्कालाई हराउन,
आँखा चिम्ली चिम्ली लाप्पा खेल्दै देखिन्छन्,
र एकैक्षणमा शान्त हुन्छन्,
विलिन हुन्छन्, अपार सिन्धुमा,
कहीँ केही हुँदै नभएझैँ।
 
कसले भन्छ, नेपाल भू-परिवेष्ठित भनेर !
ए मगजका अन्धाहरू, देखेनौ यत्रो अलौकिक क्षीर सागर,
तर, कता कता सशङ्कित हुन कर लाग्यो,
कि म स्वप्निल कल्पनामा विचरित त छुइनँ,
या मृत्युपश्चात् अन्यत्रकै दृश्यावलोकन हो ?
र सोचेँ बरु त्यसै होस्,
म वास्तविकतामा कहिल्यै नफर्कूँ,
निदाइरहेको भए मलाई नझस्काइदिनू,
मृत्युशैय्यामा भए डाक्टरका रसायनको प्रभाव पर्न नदिनू,
मेरो प्रकृतिसँगको साक्षात्कार चलोस् अनन्तकालसम्म,
अविचलित, अविरल।
(रचना २०७६, मङ्सिर १०)