ओकुतामातिर रेलमा सरर
रेल छुट्ला कि भनेर झिसमिसेमै हतार हतार कोठाबाट निस्किएँ ।
वर्षा ऋतु अन्त्यतिर आइसकेको थियो । माथि आकाशमा झुन्ड झुन्ड भएर बसेका बादलका थेग्लाहरू कलात्मक देखिन्थे । धर्तीले बिस्तारै चकमन्नता चिर्दै थियो ।
सडकहरूमा मानिसहरूको चहलपहल सुरू भइसकेको थियो । गाडीहरू बत्ती बालेर यताउता दगुरिरहेका थिए । ठुल्ठुला भवनहरूका बाहिरपट्टि बलिरहेका चम्किला बत्तीहरूको उज्यालो सडकसम्मै छरिएको थियो । सडक बत्तीको उज्यालोले भुईं स्पष्टसँग देखिन्थ्यो । बादल फोरेर धर्ती स्पर्श गर्न झरेका सूर्यका मधुरा किरणहरूले क्षितिजमा उज्यालोको आभा दिइरहेका देखिन्थे ।
पश्चिमोत्तरतिर दृढ भएर बसेका अग्ला डाँडाहरू टोकियो सहरको भव्यतालाई दिनभरि नियाल्न आँखा उघारी रहेका थिए ।
यात्रा मेरो जीवनको अनुभव आर्जन गर्ने अमूल्य स्रोत पनि हो । यात्राबिनाको जीवन खल्लो लाग्छ मलाई । कतिपय विश्वप्रसिद्ध मानिसहरूका लामालामा यात्राबाट म अत्यन्तै प्रभावित पनि छु । पैदल यात्रा होस् वा कुनै सवारी साधनको यात्रा । दुवै प्रिय छन् मेरा लागि ।
दुई दिनअघि २०७५ भाद्र २६ गते ओकुतामा जाने निधो गरेथें मैले ।
उसिहामा स्टेसनबाट पहेंलो रङको रेल चढ्दा अधिकांश सिटहरू खाली खाली थिए । प्रत्येक डब्बामा दुई तीनजनाभन्दा यात्रुहरू देखिएनन् । रित्तो रेल ओमेतिर दौडियो आफ्नै गतिमा ।
टोकियोका अधिकांश रेलहरूमा प्रायजसो भिडभाड हुन्छ । मिर्मिरे बिहानीले गर्दा रेल खाली भएको हुनुपर्छ -अनुमानको तीर चलाउँछु म ।
मैले ओमे स्टेसन पुगेर रेल बदल्नु पर्थ्यो । फुस्सा हुँदै हामुरा स्टेसन पुग्दा सूर्यका उज्याला किरणहरू धर्तीभरि फैलिए । शान्त बस्तीका साना साना रङ्गीचङ्गी घरहरू रेलको दुवैतिरका झ्यालबाट स्पष्ट र अटुट रूपमा आँखामा ठोक्किए ।
रेलको यात्रा म विगत चार वर्षदेखि दैनिकजसो गरिरहेकै छु । सहज र सुरक्षित यात्राका लागि रेल टोकियोको भरपर्दो विकल्प हो । सफा र समयको पूर्ण परिपालना गर्नमा जापानको रेल अब्बल मानिन्छ । यसर्थ पनि टेकियोबासीको पहिलो रोजाइमा रेल परेको छ । मैले त्यसकै परम्पराको अनुसरण गर्दै आएको छु ।
खाबे स्टेसनबाट रेल अगाडि बढ्यो । एउटी युवती सानो नानीलाई बेबी कारमा राखेर मेरो छेउमा उभिई। रेलले अचानक लिख परिवर्तन गर्यो । बेबी कारले सन्तुलन गुमायो र बच्चासहित पल्टियो । म जुरुक्क उठेर त्यो बेबीकार उठाइदिएँ । उसले उसकै भाषामा धन्यवाद दिई ।
अफ्ठ्यारोमा पर्दा मानिसलाई देश, भूगोल र संस्कृतिको घेराले नछेक्दो रहेछ । जब मानवता बलियो हुन्छ, अरू कुरा आफसेआफ गौण बन्दा रहेछन् ।
जापान सरकारले भौतिक संरचना बनाउँदा अपाङ्गमैत्री, बालमैत्री, महिलामैत्री र बृद्धबृद्धामैत्री बनाएको छ । त्यसैले महिलाहरूलाई आफ्नो बच्चा बोकेर एक्लै टाढाटाढा जान पनि कुनै समस्या हुँदैन । हाम्रा आमा हजुरआमाहरू त्यस्ता संरचना देख्न नपाई गए । अहिलेको पुस्ताले पनि देख्न पाउला कि नपाउला ? यसै भन्न सकिँदैन ।
ओमे पुगेर अर्को रेल चढें । यो रेलले पहाडी भूखण्ड छिचोलेर ओकुतामा पुर्याउँथ्यो । ओमे स्टेसनको वरिपरि देखिएको हरियाली वातावरणले मेरो मन कसेको छ टिमिक्क । ओमे स्टेसन यतातिर निकै चर्चित पनि छ ।
फुतामातो स्टेसन पुग्दा उज्यालो धर्तीभरि फैलिसकेको थियो । मास्तिर देखिएको हरियो पहाडी भूखण्डले नेपालकै झल्को दिन्थ्यो बारम्बार । तल्तिर तामा नदी बगेको छ सुसेली हाल्दै आफ्नै गतिमा । त्रिशूली किनारमा यात्रा गरेझैं महसुस गरिरहेछु म । पहाडका घुमाउरा डाँडाहरू पार गरेर लामो न लामो रेल दौडिएको छ बेफिक्रीसँग । रेल घरी खोलाकै नजिक त घरी निकै माथिबाट गुडिरहेछ । पारितिर गजधुम्म भएर ठडिएका हरिया डाँडाका टुप्पाटुप्पा सेतो बादलले ढाकिएका छन् ।
टोकियो स्टेसन र सिन्जुकु स्टेसनमा मानिस हरक्षण खचाखच हुन्छन् । त्यस्तो भिड यतातिर हत्तपत्त हुँदैन ।
रेल दौडिएको छ पहाड फोरेर ।
दुई वर्षअघि ताचिकावाबाट घर फर्किँदा राति बाह्र बजे रेल रोकियो । त्यति धेरै रेलका मानिसलाई निःशुल्क ट्याक्सी चढाएर घर पठाइदिएका थिए रेल विभागका कर्मचारीहरूले । यात्रुलाई दिने सेवामा अत्यन्तै नरम र जिम्मेवार छन् जापानीहरू । अतीतको एक झोक्का अनुभव हावासँगै आउँछ र जान्छ मनबाट ।
मिताके स्टेसन पुग्दा मेरो अगाडिको सिटमा बसेको मानिस सपना देख्दै थियो । त्यो मानिस पनि ओकुतामा हिंडेको हुनुपर्छ – अनुमान गर्छु म ।
एउटी खैरो रङको स्कट लगाएकी सुन्दरी युवती साना ठुला दुईवटा झोला बोकेर मेरो छेउमा आएर बसी । पर्फ्युमको वास्नाले मग्मगाएकी थिई त्यो । यो आफैंमा सुन्दरी छे । हाम्रा पुराणमा वर्णित अप्सराजस्तै । मेकअपका सामान पालैपालो झोलाबाट निकाली र मुखभरि दल्न थाली । अझै राम्री हुनुपर्ने । सुन्दरी बन्ने महत्त्वकांक्षाको खाडल प्राकृतिक रूपमा जति नै सुन्दरी भए पनि नभरिँदो रहेछ । नारी हृदय यसर्थ पनि गहिरो लाग्छ मलाई ।
लोकल ट्रेन भए पनि यसको बेग तीव्र थियो । जापानमा तीव्र गतिका रेलहरूमध्ये सिन्खान्सेन अर्थात् बुलेट ट्रेन अब्बल छ । जमिनमुनि दौडिने मेट्रो रेल र जमिनमाथि दौडिने मोनो रेल जापानको पहिचान पनि हो ।
जापानले रेल पानीमुनि पनि कुदाएको छ । होन्सु टापुबाट होक्काइडो जाने रेल लगभग अन्ठाउन्न किलोमिटर समुद्रको पिंधबाट कुद्छ भन्ने सुनेको छु बारम्बार । तर पुग्ने समय मिलेको छैन अझै पनि ।
एप्पल कम्पनीको आइप्याड चलाइरहेको एउटा टाइ सुटवाला जापानीज आफ्नै पुराना फोटाहरू हेरेर आनन्दमा निमग्न थियो । हुनसक्छ ती फोटाहरूमा ऊ आफ्नै इतिहास देख्दो हो । आफ्नो इतिहास सुख वा दु:ख जेसुकैले बने पनि प्रिय नै हुन्छ । अतीतको शिक्षा र वर्तमानको चुनौतीलाई मन्थन गरेर हरेक मानिसले आफ्नो भविष्यको सुन्दर बाटो तय गर्दछ । त्यो मानिस पनि त्यहिँ भावमा डुबेको हुनुपर्छ ।
भित्ताबाट लर्किएको हरियो घाँसमा रेल रगटिँदै जाँदा त्यसको आवाज बन्द झ्याल र ढोका छेडेर कानसम्म आइपुग्यो । देब्रेतिर नदीपारीका बस्तीहरूमा रातभरि बालेका बत्तीहरू अझै निभाएका थिएनन् ।
खाबाइ स्टेसनबाट पारितिर तामा नदीमाथि बनाइएको भव्य पुलमा आँखा ठोक्किए । नदीको वारिपारिका बस्ती जोड्न बनाइएको भव्य पुलले भौतिक सौन्दर्य थपेको छ पहाडी इलाकामा । दुवैतिरका बस्तीका बासिन्दाहरूलाई पक्का पुलले सुगम बनाएको अनुमान गर्छु म ।
सेतो सर्ट र कालो पाइन्ट लगाएको अग्लो मानिस ढिकीच्याँउजस्तै हिँडेर मेरो सामुन्नेको सिटमा आएर बस्यो । खैरो झोलाबाट सानो पुस्तक निकालेर पढ्न थाल्यो ढिकीच्याँउले । किताब पढ्नु उसको सौख पनि हुनसक्छ । अनुमान गर्न गाह्रो छैन मलाई ।
घरका छानाहरू राता, काला र पहेंला देखिए । बस्तीका छेउछाउ खेतीपातीको नामोनिशाना देखिएन । के खान्छन् होला यतातिरका मानिसहरू ? पहिरोको जोखिम पनि उत्तिकै होला ? सागसब्जी लगाएको वा गोलभेडाका लहराहरू झांगिएको केही देखिँदैन त ? अनेक प्रश्नहरूको भुँवरीमा रनभुल्लिएको छु म ।
कोरी स्टेसन पुग्दा म चढेको रेलले लामालामा तीनवटा सुरुङ पार गर्यो । पहाडका घुमाउरा डाँडा पार गर्ने अचुक उपाय रहेछ सुरुङमार्ग । सुरूमा लगानी महँगो भए पनि पहिरोको जोखिम नहुने । बाटोको दूरी पनि घट्ने । हामीले सुरुङबाट बस गुडाउन सकेका छैनौं । यिनीहरूले रेल चलाएको दशकौं भइसक्यो ।
पाँचजना तेह्र चौध वर्षका विद्यार्थीहरू पनि चढे । अधिकांश आइफोनमा डुबेका थिए । एउटा केटोचाहिँ कालो झोलाबाट किताब कपी निकाल्दै राख्दै गर्न थाल्यो । त्यसकै छेउमा बसेकी केटी मोबाइल चलाउँदै मुसुमुसु हाँस्दै थिई ।
मेरो देब्रेतिर बसेकी बिस बाइस वर्षकी सुन्दरी बुट्टे झोलाबाट आइ कल निकालेर कालो फ्रेम भएको ऐना हेर्दै दुवै आँखाका परेला मिलाउँदै थिई ।
धूपी सल्लाका रूखहरू सडकको दाँयाबाँया प्रशस्तै भेटिए ।
हातमा जुसको एउटा बट्टा बोकेको तालुखुइले मलिन अनुहार बोकेर नाडीघडी हेरिरहेको थियो । कतै पुग्न हतार भएको होला त्यसलाई ।
कालो जिन्सको पाइन्ट लगाएकी एउटी अधबैंसे जापानी हातको मोबाइलमा म्यासेज हेर्दै पिलपिल आँसु झारिरहेकी थिई ।
बाहिर सिमसिम पानी पर्न थाल्यो ।
रेलले माइकबाट निरन्तर सूचना दिइरहन्छ ।
चुगी वा हातोनोसु एकी देस । ओक्याकुसामा ओरिरुतोकी वासुरेमोनो सिनाइयोउनी योरोसिकु ओनेगाइसिमास ।
आइफोन खोलेर हेरें, आज दिनभर पानी पर्ने रहेछ । बाहिर शीतल छ मौसम ।
डुनटको आधा भाग मुखभित्र हुलेर लौरो टेकिरहेको मानिस मेरो नजिकै आएर बस्यो । हुनसक्छ ऊसँग खाने समय पनि छैन । जापानी व्यस्त जीवनको साक्षी हो ऊ ।
हातोनोसु स्टेसनबाट माथि अग्ला पहाडहरू लस्करै देखिए । डाँडाका टुप्पाटुप्पाबाट बिजुलीका भव्य खाँबाहरू गाडिएको देखियो । स्टेसन तल्तिर जिङ्ग्रिएको साकुराको रूखका पातबाट तप्पतप्प पानीका थोपाहरू निरन्तर भुईंमा झरिरहेका थिए । ढुङ्गामा उम्रिएर होला साकुराले शरीर फुलाउन नपाएको ।
सिरोमारु स्टेसन पुग्नुअघि रेल दुई पटक सुरुङमा पस्दै निस्कियो । स्टेसनमा रोकिराखेको रेलको झ्यालबाट मास्तिर दार्जिलिङकै डिजाइनको एक्लो घर देखियो । दार्जिलिङले चिया उत्पादन गरेर जापानमा पनि ख्याति कमाएको छ ।
बाहिर सिमसिम पानी अझ बाक्लिन थाल्यो । तल्तिरको सडकमा छाता ओढेका मानिसहरू देखापरे ।
ओकुतामा स्टेसन आइपुग्नै लागेको सूचना गर्यो रेलले । ओकुतामा स्टेसनको नाम ओकुतामा तालबाट राखिएको रहेछ ।
ओकुतामा ताल जापानकै सबैभन्दा ठुलो मानव निर्मित जलाशय पनि हो । टोकियोको बिस प्रतिशत खानेपानीको आपूर्ति यसले गरेको छ । माउन्ट मिताके, माउन्ट कुमोतोरी, माउन्ट मिता यसका वरिपरिका अग्ला पहाडी डाँडाहरू हुन । ओकुतामा तालको वरिपरि मृग र कालो भालु पाइने कुरा सुनेको थिएँ ।
हिनोके नामक छ सय वर्ष पुरानो रुख यही तालको नजिकै भए पनि मैले प्रत्यक्ष हेर्न पाएको छैन । चट्याङबाट जोगाउन लाइटिङ रड प्रयोग गरिएको पहिलो जापानी रूख हो हिनोके ।
निप्पारा सोउन्युउदोउ भन्ने पुरानो गुफा र मितो ओताकी झरना पनि ओकुतामाकै नजिकमा पर्ने कुरा पढेको थिएँ कुनैबेला ।
एउटा लामो सुरुङमा पसेको रेल फुत्त अर्कोपट्टि निस्कन्छ ।
टोकियोमा मात्रै एकसय असीभन्दा बढि रेल स्टेसनहरू छन् । प्रत्येक स्टेसनको बाहिर र भित्र सुक्सुकाउँदा शौचालयहरू छन् । सार्वजनिक स्थानमा फोहोर कुरा हत्तपत्त देख्न पाइँदैन । यो जापानी संस्कृतिको अभिन्न अंग बनिसकेको छ । दौडिएको रेलको सुरुङमा बसेर मन घुमेको छ फनफनी ।
ओकुतामा रेल स्टेसन पुग्दा बिहानको छ बजेको थियो । स्टेसनको बाहिर पातलो बस्ती देखियो । एकप्रकार चकमन्न लागे ती बस्तीहरू । मानिसहरू नै नभएजस्ता । पहेंला रङका घरहरू हरियो जङ्गलको पृष्ठभूमिले निकै आकर्षक लागे । अधिकांश घरका छानाहरूमा जापानी प्रविधिका टायलहरू देखिन्थे । एक दुई घरका छानामा हरियो घाँस पलाएको थियो ।
ओकुतामा झट्ट हेर्दा खोला किनारको रमणीय बजार हो । यसको परिचय यति मै सीमित पक्कै पनि छैन । यो त प्रकृतिको काखमा लुटुपुटु गराउने युगीन चेतना र सौन्दर्यले सुसज्जित जीवन दर्शन बोकेको धर्ती पनि हो । ओकुतामाका प्रत्येक मानव जीवनमा रुसोको प्रकृतितर्फ फर्कको व्यवहारिक प्रयोग देख्न पाइन्छ ।
मैले निप्पारा र तामा नदीको निर्मल पानीलाई साक्षी राखेर मनमनै भने अर्को पटक म तिमीलाई भेट्न एक्लै आउने छैन ।
लेखकको सम्वन्धमा